ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महसुुल भुक्तानी नहुँदा बढ्यो विद्युत् बक्यौता

२०७७ असोज, २२  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । कोरोना महामारीका कारण नेपाल विद्युत् प्राधिकरणको बक्यौता गत वर्षको तुलनामा दोब्बर पुुगेको छ । विद्युत् प्राधिकरणको प्रदेश १ कार्यालयले गत वर्ष यही समय २ करोड ३ लाख महसुल बक्यौता रहेको थियो भने यसपटक ४ करोड ९६ लाख पुुगेको छ ।

महामारीका कारण अघिल्लो आर्थिक वर्षको सुरुको दुई महिनामा रहेको बक्यौता यस आर्थिक वर्षको सोही अवधिमा दोब्बर बढी पुगेको हो । अघिल्लो वर्ष २ करोड ३ लाख महसुल बक्यौता रहेको कार्यालयमा यस आर्थिक वर्ष साउन र भदौमा ४ करोड ९६ लाख बक्यौता पुगेको हो ।

विद्युत् प्रतिकरणको प्रदेश १ मा २४ वटा वितरण केन्द्र रहेका छन् । ती वितरण केन्द्रबाट यस आर्थिक वर्षको दुई महिनामा ३ अर्ब ८५ करोड ७९ लाख मूल्य बराबरको विद्युत् खपत हुँदा ३ अर्ब ८० करोड ८२ लाख मात्र संकलन भएको विद्युत् प्राधिकरण प्रदेश १ कार्यालयले जनाएको छ ।

अघिल्लो वर्ष यसै अवधिमा ३ अर्ब ७३ करोड ५८ लाखको विद्युत् खपत हुँदा ३ अर्व ७१ करोड ५५ लाख महसुल संकलन भएको थियो । कार्यालयले आर्थिक वर्ष ०७६/७७ को फागुन महिनामा ९० प्रतिशत महसुल संकलन गरेको थियो । चैतमा कोभिड– १९ संक्रमणका कारण बन्दाबन्दी भएसँगै संकलन घटेर ३९ प्रतिशतमा पुगेको प्राधिकरण प्रदेश १ कार्यालयका लेखा प्रमुख साधव भण्डारीले जानकारी दिए ।

कार्यालयमा जेठमा ७७ प्रतिशत संकलन भएकामा  असारमा १२१ प्रतिशत महसुल संकलन भएको थियो । त्यसैगरी आर्थिक वर्ष ०७७/७८ को पहिलो पहिना साउनमा भने घटेर ९० प्रतिशतमा पुगेको थियो ।

बन्दाबन्दीअघि विद्युत् लाइन काटनेलगायतका काम भइरहेकाले महसुल संकलन राम्रो रहेको लेखा प्रमुख भण्डारीले बताए । ‘बन्दाबन्दीपछि भने यो सबै उलटपुलट हुन पुग्यो ।’

विद्युत् महसुल संकलन घटबढ हुनुमा कोरोनाको कारणले प्राधिकरणबाट केही राहत पाइन्छ कि भन्ने उपभोक्ताको मानसिकताले पनि काम गरेको उनको बुझाइ छ । उपभोक्ताको त्यस्तो मानसिक्तालाई विद्युत् प्राधिकरणले बेलाबेलामा सम्बोधन गरेको उनी बताउँछन् ।

अनलाइनबाट महसुल भुक्तानी गर्ने बढे
पछिल्लो समय खानेपानी, विद्युत्, बैंकको ब्याजलगायतको भुक्तानी गर्न ती कार्यालयहरूमा धाइरहनु नपर्ने भएपछि उपभोक्ताले अनलाइनबाटै महसुुल भुुक्तानी गर्न थालेका छन् । यो क्रम क्रमशः बढ्दै गएको नेपाल विद्युुत् प्राधिकरणले जनाएको छ ।

कोरोना महामारीको समयमा घरबाटै महसुल भुक्तानी गर्दा उपभोक्ताले सुरक्षित अनुभूति गरेका कारण पछिल्लो समय अनलाइनमार्फत भुक्तानी गर्ने क्रम बढेको हो ।

आर्थिक वर्ष ०७६/७७ को चैतदेखि देशव्यापी बन्दाबन्दी भएपछि उपभोक्ताहरूले अनलाइनमार्फत भुक्तानी गर्न रुचि देखाउन थालेका हुन् । त्यसअघि न्यून रुपमा बैंक तथा अनलाइनमार्फत महसुल भुक्तानी गर्ने गरेका थिए ।

साउनमा विराटनगर वितरण केन्द्रका २३ हजार ९ सय ८० जना उपभोक्ताले अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गरेका छन् ।  यो प्राधिकरणको विराटनगर वितरण केन्द्रको नियमित महसुल भुक्तानी गर्ने ग्राहकमध्ये ३३ दशमलव ६५ प्रतिशत हो ।

भदौमा अनलाइनमार्फत भुक्तानी गर्ने ग्राहकको संख्या अझ बढेको प्राधिकरणले जनाएको छ । भदौमा २६ हजार ९ सय  जनाले अनलाइनमार्फत महसुल भुक्तानी गरेका गरेका छन् । यो कुल ग्राहक संख्याको ३७ दशमलव ७४ प्रतिशत भएको बिलिङ शाखाका युवराज घिमिरेले जानकारी दिए ।

प्राधिकरणको विराटनगर वितरण केन्द्रअन्तर्गत रहेका १८ वटा एरियामा ७१ हजार २ सय ७० विद्युत प्रयोगकर्ता छन् । अनलाइनमार्फत महसुल भुक्तानी गर्दा उपभोक्ताका लागि सबैभन्दा धेरै समय बचत हुन्छ भने समयमै रकम बुुझाउँदा विलम्ब शुल्क पनि बचत हुन्छ ।

त्यसबाहेक बिल प्राप्त हुनासाथ महसुल भुक्तानी गर्दा छुटसमेत पाउने भएकाले पछिल्लो समय उपभोक्ताहरू अनलाइन भुक्तानीतर्फ आकर्षित भएका हुन् ।  

विराटगरका ७२ हजारभन्दा बढी ग्राहकमध्ये करिब २७ हजारले अनलाइनमार्फत सेवा लिँदा प्राधिकरणमा भीड घटेको छ र त्यसले जोखिम पनि कम गर्न सहज भएको घिमिरेले बताए । कर्मचारीहरूलाई पनि काममा सहयोग पुगेको उनको अनुभव छ । प्राधिकरणले प्रयोग गर्दै आइरहेको अनलाइन भुक्तानी प्रणाली पुरानो हो । यस प्रणालीमा बिलिङ गरेको दुई–तीन दिनपछि मात्र बिलिङ रकम अपडेट हुन्छ । तत्काल अपडेट नहुँदा विलम्ब शुल्क तिर्न नपरोस् भनेर धेरैले काउन्टरबाटै महसुल भुक्तानी गर्ने गरेका छन् । प्रणालीमा सुधार गर्न सके अनलाइन भुक्तानी गर्नेको संख्या बढ्ने देखिएको घिमिरेले बताए ।  बिजुलीलगायत विभिन्न महसुल भुक्तानीका लागि ई–सेवा, आईएमई पे, फोन पेलगायत विभिन्न सेवा सञ्चालनमा छन् । त्यसबाट उपभोक्ताले सहज सेवा लिन सक्नेछन् ।

यसले बैंकमार्फत कारोबार गर्ने पद्धतिको विकास गर्ने भएकाले सेवालाई अझ विश्वसनीय र पारदर्शीसमेत बनाउने प्रयोगकर्ताको अनुभव छ । विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले वार्षिक २ देखि ३ अर्बको हाराहारी विद्युत् महशुल संकलन गर्ने गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७६÷७७ मा २ अर्ब ६४ करोड १५ लाख ७२ हजार १ सय १९ रुपैयाँ महसुल संकलन गरेको प्राधिकरणले जनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)