ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बन्दाबन्दीमा थन्किएका म्याद नाघेका खाद्यवस्तु बजारमा

२०७७ असोज, २६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । कोरोना संक्रमणका कारण चैत ११ गतेदेखि घोषणा भएको बन्दाबन्दीले खाद्यान्नलगायत उपभोग्य वस्तु बिक्री हुन नसक्दा गोदाममै थन्किन पुगे । बन्दाबन्दी खुलेपछि गोदाममा थन्किएका त्यस्ता उपभोग्य वस्तुको उपभोग्य म्याद सकिइसकेको फेला परेको छ ।

लामो समयदेखि स्टक भएर बसेका उपभोग्य वस्तुलाई पुनः लेबलिङ गरी बजारमा ल्याउन थालिएको पाइएको छ । विशेषगरी भारतीय बजारबाट आयात हुने बिस्कुट, चक्लेटहरू म्याद थप गरी नयाँ लेबलिङमा बजारमा पठाउन थालेको अनुगमनका क्रममा फेला परेको हो ।

चाडवाड नजिकिँदै गर्दा महँगो मुल्यमा पाइने उपभोग्य वस्तुको अनुगमनमा स्थानीय तह चुकिरहेको छ । सरकारी निकायको पनि चासो पुग्न सकेको छैन ।

अनुगमन नहुँदा सर्वसाधारण म्याद गुज्रिएका अखाद्य वस्तु बढी मुल्य तिरेर खरिद गर्न बाध्य बनिरहेका छन् ।

चाडपर्व नजिकिँदै गर्दा खाद्य वस्तुहरूमा मिसावट, मूल्यवृद्धि तथा सामानको कालोबजारी हुने गरेको छ । कोरोना संक्रमणको त्रासमा रहेका नागरिकमा म्याद गुज्रेका खाद्यान्न उपभोगले थप समस्या निम्तने सक्ने सम्भावना पनि बढ्दै गएको छ ।

संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीले व्यवसायीलाई घाटा भएको स्वीकारिए पनि उपभोग्य वस्तुमा हुने कालोबजारीलाई स्वीकार्न नसकिने धरान उप–महानगरकी उपमेयर तथा अनुगमन समितिका संयोजक मञ्जु भण्डारी सुवेदीले बताइन् ।

उनले भनिन्, ‘बन्दाबन्दीले घाटा भयो भन्दैमा म्याद सकिएका अखाद्य वस्तु बिक्री गर्न तथा आफूुखुसी मुल्य वृद्धि गर्ने अधिकार र छुट कसैलाई छैन ।’

चक्लेट, बिस्कुटलगायत विलासिताका उपभोग्य वस्तु बन्दाबन्दीको समय खरिद नहुँदा म्याद गुज्रिएको हुन सक्ने उनको भनाइ छ । म्याद गुज्रिएका ती वस्तु बिक्री वितरण नगर्ने जिम्मेवारी व्यापारीहरूको पनि रहेको उनले बताइन् । उनले भनिन्,   ‘मानिसलाई एक छाक दालभात खान समस्या परेका बेला त्यस्ता वस्तु प्रायः मानिसले खरिद गरेनन् । त्यी वस्तु पसलमै लामो समयसम्म रहँदा म्याद गुज्रिन्छ । म्याद गुज्रिएको वस्तु व्यापारीले बिक्री वितरण नगर्ने जिम्मेवारी उनीहरूको पनि हो ।’

कोरोना संक्रमण अझै कायम भएको हुँदा बजार अनुगमन गर्न जोखिम रहेकाले उद्योग वाणिज्य संघसँग समन्वय गरेर व्यापारीलाई जिम्मेवार बनाउन  लागिरहेको उनले बताइन् । उनले भनिन्, ‘बजार अनुगमन गर्ने अनुगमन अधिकृतदेखि नगरपालिका, वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिमा संक्रमण पुष्टि भइरहेकाले अहिले नै बजारमा निस्किएर अनुगमन गरिहाल्ने वातावरण छैन । उद्योग वणिज्य संघको पहलमा व्यापारीलाई जिम्मेवार बनाएर म्याद सकिएका वस्तुको बिक्री वितरणमा रोक लगाउने प्रयासमा हामी छौं ।’ उद्योग वाणिज्य संघ सुनसरीले स्थानीय व्यापारीले म्याद गुज्रिएका सामानको रि–लेबलिङ गरी बिक्री वितरण नगरेको दाबी गरेको छ । संघ अध्यक्ष गिरधारी सापकोटाले संघका वरिष्ठ उपाध्यक्षको संयोजकत्वमा गठित बजार अनुगमन तथा आपूर्ति समितिले बजार अनुगमन गरिरहेकाले अहिलेसम्म त्यस्ता वस्तु फेला नपरेको जानकारी दिए ।

उनले भने, ‘बाहिरका डिलरबाट रि–लेबलिङ भएर सामान आए यहाँका व्यवसायी र हामीलाई पनि थाहा हुँदैन ।  तर, स्थानीय व्यवसायीबाट त्यस्तो काम भएकै छैन ।’
बन्दाबन्दी सुरु भएपछि ठूलो परिमाणमा सामान नआएकाले धेरै स्टक नरहेको उनको दाबी छ । ठूलो परिमाणमा स्टक राखेर व्यापार गर्ने व्यवसायी धरानमा नरहेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)