ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सीमा शिल भए पनि जोगवनीमा किनमेल

२०७७ असोज, २६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । कोरोना महामारीका कारण सरकारले प्रदेश १ का  अन्तर्राष्ट्रिय नाका काँकडभिट्टा र जोगवनी बन्द गरे पनि दसैंको किनमेल गर्न पारि (भारत) जानेहरूको संख्या ह्वात्तै बढेको छ ।

तर, विराटनगरको जोगवनी र काँकडभिट्टाको मेची नाकाको मुख्य बाटो नभई चोरबाटोबाटै पारि गएर सामान किन्न उपभोक्ताको लर्काे लाग्न थालेको हो ।

मुख्य नाका जोगवनी र आईसीपीबाट मानिसको आउजाउ नभए पनि छेउछाउको चोरबाटोबाट आवतजावत बाक्लो छ । मेचीपुलबाट आउजाउ बन्द भए पनि त्यसको दक्षिण र उत्तरबाट सुरक्षाकर्मीको आँखा छलेरै पारिबाट दसैंका लागि आवश्यक उपभोग्य वस्तु किनेर नेपाल आउनेको भीड थामिनसक्नु हुने गरेको छ ।

आईसीपी र रानीको बीचमा रहेको इस्लामपुर क्षेत्रबाट चोरबाटो हुँदै दैनिक ३ हजार बढी नेपाली जोगबनी बजार पुग्ने गरेका छन् । नाका सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । तर, प्रहरीकै सेटिङमा आउजाउ बढ्दै गएको हो ।

चोरबाटोबाट हुने खुला आउजाउले विराटनगरमा संक्रमणको जोखिम झन् उच्च बनाएको छ ।

काम विषेशले जानेभन्दा पनि जोगवनीमा सामान किन्न जानेहरूको लर्को लाग्ने गरेको छ । ठूलो संख्याका मानिस नेपालबाट इस्लामपुर नाका हुँदै जोगवनी सामान किन्न जाने गरेको स्थानीय एबुल हुसेनले बताए ।

‘दैनिक चार हजारसम्म मानिस नेपालबाट जोगवनीमा सामान किन्न जाने गरेका छन्’, उनले भने । महामारीको समय सीमापारि सामान किन्न जान दिनु सरकारको कमजोरी भएको उनले सुनाए  ।

तरकारीलागायत दैनिक उपभोग्य वस्तु खरिद गर्न जानेहरू बढ्दै गएको सिटी सफारी चालक राजेशले बताए । प्रहरी र जोगवनी जानेको सधैं भागाभाग हुने गरेको छ ।

इस्लामपुर नाकामा जोगवनी जाने मानिसलाई खेदाउँदाखेदाउँदै प्रहरी पनि आजित भएको उनको अनुभव छ ।

कोभिड– १९ को संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा विराटनगरको इस्लामपुरमा भारत जाने र आउनेको घुइँचो लाग्ने गरेको छ । उक्त नाका हुँदै जोगवनी जानेमा महिला र बालबालिकाको संख्या बढी छ ।

इस्लामपुरमा प्रहरीले रकम लिएर मानिसलाई आउजाउ गर्न दिने गरेको स्थानीयको आरोप छ । दिनमा कडाइ गर्ने प्रहरीले रातको समयमा भने रकम लिएर सामान ल्याउन दिने गरेको स्थानीय सलिम मियाँले बताए ।

एक व्यक्तिको सामान बराबर पाँच सयदेखि दुई हजारसम्म लिने गरेको उनको दाबी छ । नाका पूर्ण रूपमा बन्द नगराएर संक्रमण गाउँमा फैलाउन प्रशासन लागिपरेको उनले गुनासो गरे ।

विराटनगरकै दरैया नाकाबाट पनि नेपाली सामान किन्न जोगवनी जाने गरेका छन । दरैया नाकाको दसगजामा भएको पोखरीमा कम्मरैसम्म डुबेर नेपालीहरू सामान ओसार्न जोगवनी पुग्ने गरेका हुन् ।

पोखरी तर्नेबित्तिकै उनीहरू सिटी, अटोमा चढेर आफ्नो गन्तव्यतिर लाग्ने गरेका छन् ।

सीमा क्षेत्रमा तस्करी नियन्त्रण र आउजाउमा कडाइ गर्ने मुख्य जिम्मा सशस्त्र प्रहरीको हो । कोरोना महामारीसँगै सीमा क्षेत्रमा प्रहरीको जनशक्ति पनि थप भएको छ ।
तर, यसले पनि तस्करी र अवैध कारोबार नरोकिएको सीमा क्षेत्र पुगेर हेर्दा देख्न सकिन्छ । जहदा र धनपालथान क्षेत्रबाट दिनदहाडै ट्याक्टरमै तस्करी बढिरहेका बेला रानी भन्सार नजिकैको क्षेत्रबाट सामान ओसारपसार फस्टाएको हो ।

भारतीय बजारमा किनमेल गर्न जानेहरूले कसैले पनि मास्क प्रयोग गर्दैनन् । किनमेल गर्न जानेहरू धेरैजसो महिला छन् । नाका शिल भए पनि किनमेल गर्न जाउआउ गर्नेहरूलाई सुरक्षाकर्मीले अवरोध गर्दैन ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले लाठीले हिर्काएकै भरमा मात्र भारतीय बजारमा किनेमल गर्न जानेलाई नियन्त्रण गर्न सम्भव नभएको बताए । खुला सीमा भएका कारण सबैतिर निगरानी पुग्न नसकेको र त्यसको फाइदा उठाउदै मानिसहरू लुकीछिपी पारि गएर आउने गरेको उनले स्वीकारे ।

शिल भएको नाकाबाट आउजाउ गर्ने जोकोहीलाई ठेगाना पुष्टि गराई आवश्यक चेकजाँच गरेर मात्र आफ्नो देशतर्फ आउन दिनुपर्ने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

महामारीका बेला चोरबाटो हुँदै आएकाहरू जोकोहीलाई अनिवार्य क्वारेन्टाइनमा १४ दिन राख्नुपर्नेमा उनको जोड छ ।

प्रजिअ निरौला क्वारेन्टाइनमा राख्ने चेतावनी दिएपछि किनमेल गर्न जानेहरू केही दिन नियन्त्रण भए पनि पुनः जान थालेको सूचना आएपछि सुरक्षा निकायसँग सल्लाह थप कडाइ गरिने बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)