ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनशक्ति अभाव देखाउँदै बीपीले गर्‍यो डायलासिस सेवामा कटौती

२०७७ असोज, २८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । हप्तामा दुईपटक गर्नुपर्ने डायलासिस धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकपटक मात्रै गरिदिने भएपछि बिरामीहरूले आफूहरूको स्वास्थ्य अधिकार कुण्ठित भएको गुनासो गरेका छन् । डायलासिस युनिटमा खटिएका स्टाफ नर्सहरूलाई कोरोना संक्रमण भएकोले दक्ष जनशक्ति अभाव भएको भन्दै प्रतिष्ठानले एक बिरामीलाई हप्तामा एक पटक मात्र डायलासिस गर्न थालेको हो ।

मिर्गाैला रोग पीडित सरोकार समाजका अध्यक्ष मानबहादुर बजगाईंका अनुसार सोमवारदेखि प्रतिष्ठानको डायलासिस युनिटले एक जना बिरामीको हप्तामा एकपटक मात्र डायलासिस गर्न थालेको बताए । सोमवार ६ जना बिरामीको नियमित डायलासिस हुन पाएन । हप्तामा २ पटक डायलासिस गराइरहेकालाई एकपटक मात्र गराउँदा धेरै समस्या हुने उनले बताए । उनले भने, ‘हप्ता २ पटक डायलासिस गर्दा त गाह्रो छ, झन् एकपटक मात्र गर्दा के अवस्था के होला ?’

मिर्गौलाका बिरामी तथा आफन्तजनहरूले विगतमा जस्तै हप्तामा दुईपटक डायलासिस गराउन पाउनुपर्ने माग गरेका छन् । उनीहरूले सोमवार दिनभर नै अस्पताल प्रशासनमा यही माग राखेर बसेका थिए । तर, प्रशासनले भने चित्तबुझ्दो जवाफ दिन सकेन । निःशुल्क पाउनुपर्ने औषधि पनि बीपी प्रतिष्ठानको मेडिकल स्टोरमा सकिएर बिरामीले बाहिर खरीद गर्नुपरेको तर अहिलेसम्म प्रतिष्ठानबाट पैसा फिर्ता नपाएको गुनासो अध्यक्ष बजगाईंले गरे । बिरामीका अभिभावक धरानका उत्तम राईले अस्पताल प्रशासनले जनशक्ति (नर्स) कमी भएको भन्ने जवाफ दिएको बताए । यसअघि ५० जना नर्स नियुक्त गर्ने भनिए पनि समयमा नगर्दा यो समस्या आएको उनको भनाइ छ

अस्पताल प्रशासनले भने डायलासिस युनिटमा खटिएका नर्सहरूलाई कोरोना संक्रमण भएको बताएको छ । डायलासिसमा १९ जना नर्स खटिएकोमा ६ जनालाई संक्रमण भएको र ४ जना कोभिड अस्पतालमा खटिएकाले जनशक्ति पर्याप्त नभएको अस्पतालका सहायक निर्देशक डा. प्रमोद बरालले बताए । ‘आधा जनशक्ति कमी भएकोले हप्तामा एकपटक मात्र डायलासिस गर्ने भनेर डायलासिस युनिटबाट जानकारी आयो,’ उनले भने, ‘गाह्रो भएको बिरामी इमर्जेन्सीबाट आउँदा गर्ने व्यवस्था हुन्छ ।’ डायलासिसमा खटिने नर्सलाई विशेष तालीम दिइनुपर्ने भएकोले तत्काल अन्यलाई त्यहाँ खटाउन सकिने अवस्था नभएको पनि उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)