ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाई स्रोत केन्द्र स्थापना

२०७७ असोज, ३०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिधुवामा गाई स्रोत केन्द्र स्थापना गरिएको छ । प्रदेश सरकारको ६६ प्रतिशत र स्थानीय सगरमाथा दुग्ध चिस्यान तथा वितरण सहकारीको ३३ प्रतिशत लगानीमा गाई स्रोत केन्द्र स्थापना गरिएको हो । प्रधानमन्त्री कृषि परियोजना जोन अन्तर्गत तरकारीको पकेट क्षेत्र समेत रहेको सो क्षेत्रमा प्रदेश सरकारले पशुपालनलाई प्राथमिकता दिँदै गाई स्रोत केन्द्र स्थापना गरेको हो । पशुपक्षी तथा मस्य विकास निर्देशनालयको ४९ लाख ९९ हजार ५०० र सगरमाथा दुग्ध चिस्यान केन्द्रको २६ लाख २५ हजार रुपैयाँ बजेटबाट स्रोत केन्द्र स्थापना गरिएको निर्देशनालयका निर्देशक लेखराज दाहालले जानकारी दिए ।

निर्देशनालयले ३ किस्तामा रकम उपलब्ध गराउने भन्दै दाहालले हरेक किस्तामा खर्च भएको रकम अनुसार ६६ प्रतिशत रकम उपलब्ध गराइने जानकारी दिए । उनका अनुसार यो कार्यक्रम प्रदेश भरमा एक ठाउँ मात्रै सञ्चालन हुने भएको छ । गाई स्रोत केन्द्र स्थापना भएपछि पहिलो चरणमा १४० ओटा उन्नत जातका कोरली बाच्छी वितरण गरिनेछ । यस्तै किसानलाई घाँसको बीउ र बिरुवा वितरण, स्थलगत तालीम, घुम्ती औषधि कोष स्थापना लगायत १२ ओटा शीर्षकमा कार्यक्रम सञ्चालन गरिने सगरमाथा दुग्ध चिस्यान केन्द्रका व्यवस्थापक भीमबहादुर महतराले जानकारी दिए ।

उनका अनुसार किसानलाई ७० ओटा च्यापकटर र ७० ओटा काउम्याट वितरण गरिनेछ । गाई स्रोत केन्द्रबाट केही वर्षपछि प्रदेशभरमा सहुलियत मूल्यमा गाई विक्रीको प्रबन्ध मिलाउने महतराले बताए । यसबाट किसानहरूको आम्दानी बढ्ने उनको भनाइ छ ।

गत जेठदेखि गर्न लागिएको स्रोत केन्द्रको कार्यक्रम सञ्चालनमा कोरोना महामारीको कारण ढिलाइ भएको बताइएको छ । सहकारीमार्फत स्रोत केन्द्र स्थापनाको निवेदन आह्वान गरेकोमा यो सहकारी छनोट भएको प्रदेश सांसद इन्द्रमणि पराजुलीले जानकारी दिए । प्रदेश सरकारले पशुपालनको विकासमा योगदानसहित स्थानीयको आर्थिक समृद्धिमा सघाउन यो कार्यक्रम ल्याएको प्रदेश सभाको न्याय प्रशासन तथा विधायन समितिका सभापति समेत रहेका पराजुलीले बताए । अहिले प्रदेश तथा संघीय सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ । यस्ता कार्यक्रम सहकारी मार्फत गएमा फलदायी हुने प्रदेश सरकारको निष्कर्ष रहेको भन्दै उनले निजीक्षेत्रलाई यस्ता कार्यक्रममा निरुत्साहित गरिने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)