सुर्खेत । दशैं, तिहार, छठ पर्वलाई लक्षित गर्दै सुर्खेतमा सञ्चालित सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालनसँगै होम डेलिभरी सेवा समेत दिन थालेपछि उपभोक्ता लाभान्वित भएका छन् । बजारमा महँगी बढ्दै जाँदा सुपथ मूल्य पसलबाट सस्तो मूल्यमा उपभोग्य वस्तु किन्न पाउँदा उपभोक्ता हर्षित छन् ।
यद्यपि सुर्खेतमा चिनीको आपूर्ति नहुँदा साल्ट ट्रेडिङ कर्पोरेशनले उपभोक्तालाई नून मात्र उपलब्ध गराइरहेको छ । यस्तै कम्पनीको सुपथ मूल्य पसलबाट हाललाई चामल र सिमी विक्री भइरहेको छ । सुपथ मूल्य पसलमा सोना मन्सुली चामल प्रतिकिलो ४५, सोना मन्सुली स्टिम चामल प्रतिकिलो ५७, जापानी चामल प्रतिकिलो ५१ रुपैयाँ ५० पैसा, मकवानपुर चामल प्रतिकिलो ४८ रुपैयाँ ५० पैसा, कर्णालीको तिते फापर प्रतिकिलो ५० रुपैयाँ र कर्णालीको सिमी प्रतिकिलो ११० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । बाहिरको दरभन्दा प्रतिकिलो ५ देखि १० रुपैयाँसम्म छूट दिइएको छ ।
सुपथ मूल्य पसलबाट उपभोक्ताले सामान किन्ने मात्रै नभई गुणस्तरीय सेवा समेत लिने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयका प्रमुख भीमबहादुर थापाले दाबी गरे । चाडपर्वको समयमा सुपथ मूल्य पसलमा सामानको अभाव हुन नदिन उचित व्यवस्थापन गरिएको उनले बताए । यो वर्ष कर्णालीका अन्य जिल्लामा भने सुपथ मूल्य पसल सञ्चालनमा आएको छैन । यो वर्ष कोरोना महामारीले अनलाइन होम डेलिभरी सेवा समेत प्रभावकारी बन्दै गएको उनको भनाइ छ । ‘बजार मूल्यभन्दा सस्तोमा चामल, तिते फापर, सिमी विक्री हुन थालेपछि ग्राहकको पहिलो रोजाइ बनेको हो,’ उनले भने, ‘खाद्यान्न किन्ने ग्राहक हामीकहाँ किन्नुहुन्छ । बजार मूल्यभन्दा सस्तोमा दिएकै कारण हाम्रोमा ग्राहकको दैनिक भीड लाग्ने गरेको छ ।’
दशैंका लागि लक्षित गर्दै चिनी, नून, दाल, पीठो, तेल, केराउ (दाना)लगायत सामग्री समेत उपलब्ध हुने जानकारी उनले दिए । उपभोक्ताले भने दशैं अगावै उक्त सामग्री उपलब्ध गराउन माग गरेका छन् ।
असोज १५ देखि शुरू भएको सुपथ मूल्य पसल मङ्सिर ६ गतेसम्म सञ्चालनमा रहने थापाले बताए । पसल सञ्चालनमा आएदेखि ग्रामीण भेगबाट समेत मानिसहरू चामल, तिते फापर र कर्णालीको सिमी किन्न पुग्ने गरेको उनको भनाइ छ ।
राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सदस्य भीमकुमारी भुसालले सुपथ मूल्य पसल शहर केन्द्रित रहेकाले ग्रामीण भेगसम्म पु¥याउन खाद्य व्यापार कम्पनीलाई आग्रह गरिन् ।
प्रभावकारी बन्दै अनलाइन कारोबार
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अनलाइनमार्फत अर्डर लिएर होम डेलिभरी सेवा सुर्खेतमा प्रभावकारी भएको बताइएको छ । कोरोना महामारीमा कम्पनीले गत वैशाखदेखि सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा अनलाइनबाट खाद्यान्न होम डेलिभरी सेवा सञ्चालनमा ल्याएपछि लोकप्रिय बनेको हो । कम्पनीका कर्णाली प्रदेश प्रमुख थापाले कोरोना महामारीका बीच अनलाइन अर्डर लिएर होम डेलिभरी सेवा मार्फत दैनिक ३/४ ओटा अर्डर आइरहेको बताए । उनका अनुसार कम्पनीसँग हाल सोना मनसुली, जापानी चामल, कर्णालीको सिमी र तीतेफापर उपलब्ध छ । ‘लकडाउनको समयमा उपभोक्ताको सुविधाका लागि घरमै खाद्यवस्तु डेलिभरी शुरू गरेका हौं,’ उनले भने । खाद्य कम्पनीबाट प्रतिव्यक्ति २ हजारदेखि ५ हजार रुपैयाँसम्मको खरीद गर्न सक्ने उनले जानकारी दिए । नेपाल बैंक लिमिटेड र सेञ्चुरी बैंक, खल्ती वा ई–सेवामार्फत ‘ई–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था छ । साथै सामान पुर्याउन आउने व्यक्तिलाई नगदै दिनेगरी पनि कारोबार गर्न सकिने व्यवस्था समेत रहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले चामल र कर्णालीको सिमी बजारको तुलनामा धेरै सस्तो मूल्यमा विक्री गरिरहेको थापाले बताए । हाल थोरै सामान विक्री गरिरहेको कम्पनीले ग्राहकको मागलाई ध्यानमा राखेर दालका परिकार पनि विक्री गर्ने योजना बनाएको छ । अहिलेसम्म निजीक्षेत्रका अनलाइन कम्पनीहरूले मात्रै होम डेलिभरीको व्यवस्था गर्दै आएकोमा सरकारी खाद्य कम्पनीले यो सेवा शुरू गरेपछि मूल्य र गुणस्तरका दृष्टिकोणले समेत उपभोक्ताको आकर्षण बढ्दै गएको बताइएको छ ।