सुर्खेत । सुर्खेतका बजारमा वितरण हुने खाद्य तथा पेय पदार्थमा अत्यधिक मिसावट हुने गरेको फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले गरेको अनुगमनका क्रममा बजारमा वितरण हुने प्रशोधित पानी, दुग्ध पदार्थ र खाद्य पदार्थमा मिसावटको मात्रा बढी रहेको देखिएको हो ।
कमजोर बजार अनुगमन र फितलो कारबाहीको फाइदा उठाउँदै व्यवसायीले गुणस्तरहीन उत्पादन तथा बिक्री वितरण गरिरहेका छन् । गुणस्तरहीन उत्पादनले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गरेको छ । पछिल्लो ८ महिनामा डिभिजनले गुणस्तरहीन खाद्य तथा पेयपदार्थ उत्पादन गर्ने ३ उद्योगविरुद्ध कारबाहीका लागि सिफारिस गरेको छ । न्यून गुणस्तरका वस्तु उत्पादन पाउरोटीलगायत डेरी, पानी उद्योगलाई सुधार्न सुझाव दिइएको छ । यस्तै, करिब ५० बढी किराना पसल तथा होटललाई चेतावनी दिइएको डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले बताए । कुखुरा तथा गाईभैंसी दाना, दुग्धजन्यसँगै अन्य खाद्य उद्योगलाई समेत सुझाव दिइएको उनले जानकारी दिए । ‘दूषित उत्पादन गर्ने उद्योगलाई खाद्य ऐनअनुसार कारबाहीका लागि सिफारिस गरिएको छ । पाउरोटी, पानी, तेल, घ्यूजन्य वस्तुमा अत्यधिक मिसावट देखिएपछि नमुना परीक्षणका लागि ल्यावमा पठाएका छौं,’ उनले भने, ‘अहिले बजारमा महँगो तेलमा सस्तो तथा कम गुणस्तरको तेल मिसाएर, तोरीको तेलमा पामोलिन र भटमासको तेल मिसाएर बिक्री गर्ने गरेकोसमेत भेटियो ।’