ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बन्दाबन्दीमा रोकिएका नयाँ उद्योग सञ्चालनमा आउन थाले

२०७७ कार्तिक, १६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । बन्दाबन्दीका कारण सञ्चालनमा आउन नसकेका युवा उद्यमीहरूले अर्बौं लगानी रहेका नयाँ उद्योगहरू सञ्चालनमा आउन थालेका छन् । पछिल्लो समय मुलुकभरि बन्दाबन्दी हटाइएपछि ती उद्योग सञ्चालनमा आएका हुन् ।

विराटनगरका युवा व्यवसायीहरूको समूहले अमेरिकी कम्पनी आरसी कोलाका ६ प्रकारका पेय पदार्थलाई नेपाली बजारमा ल्याएका छन् । उनीहरूले यस वर्षको शुरूमा नै ती उत्पादन बजारमा ल्याउने तयारी गरेका थिए । तर, चैतबाटै बन्दाबन्दी भएपछि उत्पादन रोकिएको थियो । करीब ८० करोडको लागतमा मकवानपुरको मनहरी गाउपालिका ६ सुनाचुरीमा भेन्चुरा बोटलर्स उद्योग स्थापना भएको ७ महीनापछि यसले ६ प्रकारका पेय पदार्थको व्यावसायिक उत्पादन शुरू गरेको छ ।

विराटनगरका उद्धवप्रसाद आचार्य नेतृत्वको दुर्गालक्ष्मी समूहले पे्रmन्चाइज लिएर आरसी कोला ब्रान्डका पेय पदार्थ नेपाली बजारमा ल्याएको हो । आचार्य भन्छन्, ‘परीक्षण उत्पादन गरेको झन्डै ६ महीनापछि बजारमा उत्पादन लिएर आएका छौं, सबैतिरबाट राम्रो प्रतिक्रिया पाएका छौं ।’

समूहका सञ्चालक आचार्यका अनुसार भेन्चुरामा प्रभु बैंकको ८० करोडको लगानी छ । भेन्चुराले कोला, ओरेन्ज, लेमन, माउन्टेरियन, इनर्जी र जिराको स्वादमा पेय पदार्थ र माउन्ट भिटा ब्रान्डमा पानीको उत्पादन र बजारीकरण शुरू गरिसकेको छ । २० जना स्थायी कर्मचारी रहे पनि १ सय ५० ले रोजगारी पाएको उद्योगको भनाइ छ ।

त्यसैगरी, प्रदेश १ को पहिलो पाँचतारे होटेल पनि सञ्चालनमा आएको छ । बन्दाबन्दीका कारण तयार भएर पनि सञ्चालन हुन नसकेको होटेल मेची क्राउन प्लाजा असोज १५ गतेबाट सञ्चालनमा आएको हो । विधिवत् उद्घाटन भने जनवरी १ तारीखमा गरिनेछ ।

१५० करोडको लागतमा झापाको मेचीनगरमा खुलेको होटेल मेची क्राउन भारतीय पाहुनालाई लक्षित गरेर खोलिएको हो । भेगास इन्टरटेनमेन्ट प्रालिको लगानी रहेको यो होटेल जनवरी १ मा विधिवत् उद्घाटन गरिने भेगासका अध्यक्ष पवित्रकुमार कार्कीले जानकारी दिए । होटेलमा अहिले पनि १ सयले रोजगारी पाइरहेका छन् । पूर्ण सञ्चालनमा आएपछि ९ सय जनाले रोजगारी पाउने होटेलको भनाइ छ ।

नेपालमा चप्पलको उत्पादन गर्ने विराटनगरको म्याजिक समूहले काठ र प्लाइउडको विकल्पमा प्रयोग गर्ने गरी ‘प्लास्टिक बेस’ वस्तुको उत्पादन र मार्केटिङ शुरू गर्दागर्दै बन्दाबन्दीमा ठप्प भएको उद्योग पनि सञ्चालनमा आएको छ । इटहरी उपमहानगरपालिकाको खनारमा रहेको वन्डर म्याटेरियलले ‘अल्टवुड’ ब्रान्डमा पीभीसी र डब्ल्यूपीसीको उत्पादन गरिरहेको उद्योग बन्दाबन्दीका कारण उत्पादन नै ठप्प भएको थियो । बन्दाबन्दी हटेपछि उद्योग सञ्चालनमा आएको प्रबन्धक महेश वाहेतीले बताए ।

उद्योग पुनः सञ्चालनमा आए पनि उत्पादनको बजारमा खपत भने घटेको वाहेतीले बताए । उद्योग करीब २५ करोडको लागतमा स्थापना गरिएको हो ।

कोरोना महामारी शुरू भएपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरमा एक दर्जन स्यानिटाइजर र मास्क उद्योग खुलेका छन् । साबुन र सर्पm मात्रै उत्पादन गर्दै आएको हिमगिरि हाइजिन प्रालिले आउरा ब्रान्डको स्यानिटाइजर उत्पादन गर्ने नयाँ उद्योग स्थापना गरेर उत्पादन बजारमा ल्याइरहेको छ । मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजु र अध्यक्ष प्रकाश मुन्दडाको संयुक्त लगानीमा स्यानिटाइजर उद्योग खुलेको हो ।

यसैगरी उद्योगी महेश सोनीले आफ्नो साबुन तथा सर्फ उद्योगमा स्यानिटाइजर उत्पादन गर्ने युनिट औषधि व्यवस्था विभागमा दर्ता गराएर उत्पादन थालेका छन् । इटहरी उपमहानगरपालिकाको खनारमा पुराना काम नलाग्ने कागज प्रशोधन गरेर नयाँ कागज बनाउने उद्योगसमेत यस अवधिमा सञ्चालनमा आएको छ । दैनिक सवा सय मेट्रिक टन पुरानो कागज प्रशोधन गरेर सो उद्योगले १ सय टन नयाँ कागज उत्पादन गर्दै आएको छ । अरिहन्त कोरुगेशनले झुत्रा कागज प्रशोधन गर्न थालेको हो । उद्योगका सञ्चालक पारस लुनियाका अनुसार गतवर्षदेखि नै लगानी गरिएको उद्योग बन्दाबन्दीकै बीचमा सञ्चालनमा ल्याइएको हो । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेलले युवाहरूले स्थापना गरेका नयाँ उद्योगहरू औद्योगिक क्षेत्रमा बन्दाबन्दी हटेपछि क्रमशः सञ्चालनमा आउन थालेको बताए । धेरै नयाँ उद्योग र केही पुरानै उद्योगको पनि क्षमता विस्तार भई उत्पादन शुरू भएको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)