ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीपी प्रतिष्ठानमा बेथिति बढ्दो

सुधारका लागि धरानवासीले बुझाए अवधारणापत्र

२०७७ कार्तिक, १८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिति बढ्दै गएको छ । पछिल्लो १० वर्षयता प्रतिष्ठानभित्रबाटै उपकुलपति बन्ने दौड चलेको छ । आर्थिक चलखेलमा हुने उपकुलपति नियुक्तिले प्रतिष्ठानमा भ्रष्टाचारले जरो गाडेको स्थानीयको आरोप छ ।

प्रतिष्ठानका पदाधिकारीको व्यवहारले भ्रष्टाचार भइरहेको पुष्टि गरेको बीपी प्रतिष्ठान सुधार दबाब समूहका सदस्य सचिव महेश श्रेष्ठ बताउँछन् । उनका अनुसार प्रतिष्ठानमा तीन किसिमका भ्रष्टाचार हुने गरेका छन् । ‘एउटा सामान खरीदमा हुने भ्रष्टाचार, अर्को परियोजना पूरा नगरीकन गरिने भ्रष्टाचार र प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई नियतवश अन्यत्र पठाएर गरिएको भ्रष्टाचार हुन्,’ उनले भने, ‘यसमा संलग्न पदाधिकारीको गतिविधिले भ्रष्टाचार भइरहेको देखाएको छ ।’

पछिल्लो समय स्वास्थ्य उपचारमा लापरबाही हुन थालेपछि धरानवासी बीपी प्रतिष्ठान सुधार दबाब समिति गठन गरेर आन्दोलित भएका छन् । कोरोना महामारीका बीच स्थापना भएको कोभिड अस्पतालले अहिले बिरामीलाई अन्यत्र रिफर गर्न थालेको छ । कमसल सामग्री खरीद गरिएका कारण अस्पतालका अन्य सेवा समेत प्रभावित भइरहेका छन् ।

विभिन्न किसिमका राजनीतिक हस्तक्षेपका कारण प्रतिष्ठानको कामकारबाही एवं सेवा प्रभावित हुने गरेको प्रतिष्ठानका कार्यकारिणी सदस्य तथा हाडजोर्नी विभागका प्रमुख प्राडा पशुपति चौधरीको भनाइ छ । ‘विभिन्न किसिमका हस्तक्षेप प्रतिष्ठानमा पनि देखियो,’ उनले भने, ‘विगतमा पदाधिकारी विहीनताको अवस्था, पदाधिकारी विभिन्न काण्डमा मुछिने गरेको कारण यसको नकारात्मक असर प्रतिष्ठानमा परेको छ ।’ प्रतिष्ठान करीब ९ महीनासम्म पूर्ण उपकुलपतिविना चल्दा पनि दीर्घकालीन योजनाहरू प्रभावित भएको उनले बताए । प्रतिष्ठानभित्रका चिकित्सकदेखि पदाधिकारी÷कर्मचारीमा राजनीतीककरण, गुटउपगुटका कारण पनि प्रतिष्ठान धराशयी बन्दै गएको उनको बुझाइ छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक ३ हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । तर व्यवस्थापन चुस्त नहुँदा प्रभावकारी रूपमा स्वास्थ्य सेवा प्रवाह हुन सकेको छैन ।

प्रतिष्ठानमा बेथिति बढ्दै गएको, स्वास्थ्य उपचार सेवा सहज नभएको भन्दै सुधार अभियानका लागि गठित बीपी प्रतिष्ठान सुधार दबाब समूहले प्रतिष्ठानको समस्या र समाधानसहितको अवधारणापत्र बुझाएको छ । समूहले प्रतिष्ठानको सुधारका लागि तत्कालीन र दीर्घकालिन नीतिसहितको अवधारणा बुझाएको हो । समूहका संयोजक तथा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित चार जना मुख्य पदाधिकारीको उपस्थितिमा हालै बुझाइएको अवधारणापत्रमा विशेष गरेर कोभिड–१९ उपचारको प्रत्याभूति दिनुपर्ने मागसहित १८ बुँदे सुझाव छन् ।

यसैगरी प्रतिष्ठानको सुधारका लागि योजनाबद्ध र नियन्त्रित ढाँचामा रणनीतिक ढंगले लक्ष्य यकिन गर्दै काम गर्ने मार्गनिर्देशन तयार गरेर अघि बढ्न सुझाइएको छ । प्रतिष्ठान निरन्तर सुधार, शून्य त्रुटि, सहभागितामूलक व्यवस्थापन, उच्च गुणस्तर, अनुशासित नियन्त्रण, समन्वयात्मकता जस्ता विषयमा प्रतिबद्ध हुन जरुरी रहेको अवधारणापत्रमा औंल्याइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)