ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भेडेटारमा पर्यटकीय चहलपहल बढ्यो

२०७७ कार्तिक, २४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । कोरोना महामारीका कारण थलिएको प्रदेश १ को पर्यटन व्यवसाय विस्तारै चलायमान हुन थालेको छ । प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य भेडेटारमा अहिले पर्यटकको चहलपहल शुरू भएको छ । भेडेटारमा बन्दाबन्दी शुरू भएसँगै पर्यटकीय गतिविधि ठप्प रहँदै आएकोमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढ्न थालेपछि सम्बद्ध व्यवसायी उत्साहित बनेका छन् ।

असोजदेखि नै भेडेटारमा आन्तरिक पर्यटक आउन थालेका हुन् । वरपरका क्षेत्रको सुन्दर दृश्य अवलोकन गर्न सकिने भेडेटारमा पर्यटक आउने मुख्य सिजन चैतदेखि मङ्सिरसम्म हो । तर चैतदेखि नै बन्दाबन्दी भएपछि व्यवसाय नै ठप्प भएको थियो । हाल लकडाउन हटेर पर्यटक आउन शुरू गरेपछि व्यवसायीमा आशा जागेको छ । पहिलेकै जस्तो व्यापार व्यवसाय नभए पनि केही राहत मिलेको व्यवसायीको भनाइ छ ।

सरकारले बन्दाबन्दी खुलाएसँगै आन्तरिक पर्यटक आउने क्रम बढेको होटल एशोसिएशन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । गतवर्षको तुलनामा व्यवसाय कम भए पनि उत्साह भने थपेको उनको भनाइ छ । ‘अहिले मौसम खुल्ने बेला हो । भारतीय पर्यटकहरू आउने समय पनि हो,’ उनले भने, ‘तर कोरोनाको त्रासले भारतीय पर्यटक आएका छैनन् । आन्तरिक पर्यटक भने आउन थालेका छन् ।’ ७ महीनादेखि सुस्ताएको व्यवसायमा यसबाट केही राहत मिलेको उनले बताए ।

पर्यटकको चहलपहल शुरू भए पनि व्यवसाय पूर्णरूपमा सञ्चालन नभएकाले सञ्चालन खर्च, कर्मचारीको तलब लगायत जुटाउन भने समस्या नै रहेको उनको भनाइ छ । ‘अहिलेकै अवस्थामा बैंकको ऋण तिर्न, घरभाडा तिर्न, कर्मचारीलाई तलब खुवाउन मुश्किल छ,’ उनले भने, ‘तर विस्तारै अवस्था सुधारिँदै जाने अपेक्षामा सेवा प्रवाह गरेका छौं ।’ लामो समयसम्म जारी बन्दाबन्दीले अर्बौं रुपैयाँ बराबरको नोक्सानी भएको यस क्षेत्रका पर्यटन व्यवसायी बताउँछन् । कतिपयले भर्खरै होटल÷रेष्टुराँ सञ्चालनमा ल्याएका थिए भने केहीले नेपाल भ्रमण वर्षलाई लक्षित गरी बैंकबाट ऋण लिएर स्तर सुधार गरेका थिए । व्यवसाय चल्ने सिजनदेखि नै बन्दाबन्दी लागू भएकाले आफूहरू मर्कामा परेको गुनासो सम्बद्ध व्यवसायीको छ ।

कोभिडको समस्या समाधान भए चाँडै नै व्यवसाय उकासिन सक्ने स्थानीय होटल व्यवसायी राम ढकालले बताए । यद्यपि पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहलले भने आफूजस्ता धेरै व्यवसायीलाई उत्साहित तुल्याएको उनको भनाइ छ । बन्द रहँदादेखिको बैंक किस्तासमेत तिर्न नसकेका व्यवसायीलाई असोज महीनाको व्यवसायले किस्ता तिर्न भए पनि सहज भएको उनले बताए ।

प्रदेश नम्बर १ मा पर्यटनको राम्रो सम्भावना छ । तर कोभिड महामारीले प्रदेशका थुप्रै गन्तव्यमा पर्यटकीय गतिविधि ठप्प रहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)