ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरानको सालबोटे डाँडामा पहिरोको जोखिम

नियन्त्रण गर्न डीपीआर तयार गरिँदै

२०७७ मंसिर, ७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । वर्षा लागेपछि धरान–१३ का सर्दु खोलातर्फ बसेका स्थानीय त्रसित हुने गर्छन् । सर्दु खोला पारिपट्टिको भीरमा पहिरो गएर सर्दु खोला थुन्ने चिन्ता उनीहरूको हुन्छ । केही वर्षअघि सालबोटे डाँडाको सिरान हुँदै तामाखाम जाने सडक डोजर लगाएर खन्न थालेपछि पहिरोको जोखिम झनै बढेको छ ।

सालबोटे डाँडामा वर्षाको समयमा वर्षेनि पहिरो जाने गरेको छ । धरान–१३ को मानव बस्तीतर्फ स्परहरू राखेर सर्दुखोलाको बाढी नियन्त्रणको प्रयास गरिएको छ । तर पनि खोला थुनिने डर सधैं रहन्छ ।

पहिरो गइरहने क्षेत्रदेखि केही तल वडा नं १३ तर्फ देवी मार्ग बस्ती छ भने पहिरोको अगाडिपट्टि वडा १३ तर्फ भारतीय पेन्सन पेइङ कार्यालय, संघीय प्रहरी इकाई कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय लगायत छन् ।

वर्षेनि सालबोटेमा पहिरो जान थालेपछि राष्ट्रपति चुरे संरक्षण विकास समितिले संरक्षणको काम थालनी गरेको छ । धरान उपमहानगरपालिकाको आग्रहमा समितिले पहिलो चरणमा संरक्षणका लागि डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) बनाउने भएको छ । समितिको केन्द्रीय कार्यालयबाट आएका पहिरो विज्ञ, भूगर्भविद् लगायतको टोलीले गत आइतवारदेखि अध्ययनको काम शुरू गरेको छ ।

धरान उपमहानगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठका अनुसार उपमहानगरको आग्रहमा राष्ट्रपति चुरे संरक्षण विकास समितिको टोलीले अध्ययन थालेको हो । टोलीले प्रतिवेदन दिएपछि पहिरो नियन्त्रणका काम शुरू हुने उनले बताए । ‘हाम्रो क्षमताले नभ्याएपछि अनुरोध गरेका थियौं,’ उनले भने, ‘पहिरो विज्ञ, भूगर्भविद् र जीआईएस विज्ञ लगायत आएर अध्ययन गर्नुभएको छ ।’ यस वर्ष मोरङको सलकपुरस्थित राष्ट्रपति चुरे संरक्षण कार्यालयले सालबोटे पहिरो नियन्त्रणका लागि १ करोड बजेट विनियोजन गरेको छ । डीपीआरका लागि केन्द्रीय कार्यालयले अलग्गै खर्च गर्ने पनि श्रेष्ठले जानकारी दिए ।

वर्षेनि पहिरो गएकाले सर्दु खोलाले मानव बस्तीतर्फ निर्माण गरिएका स्परहरूमा क्षति पु¥याउँदै आएको छ । भत्किएका चेक ड्यामहरू पनि मर्मत गर्नुपर्ने हुन्छ । डीपीआर बनेपछि कहाँ के गर्ने, कसरी संरक्षण गर्ने प्रष्ट हुने श्रेष्ठले बताए । पहिरो नियन्त्रणका लागि भारतीय पेन्सन पेइङ कार्यालयले पनि सहयोग गर्ने बताएको छ । पहिरोले बस्ती नै जोखिममा पारेकोले समयमै नियन्त्रण गर्नुपर्ने धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले बताए । पहिरो नियन्त्रणको पहल शुरू भएकाले स्थानीयवासीले चिन्ता लिनु नपर्ने उनको भनाइ छ ।

करीब १० वर्षअघि आईयूसीएन र सेड नेपाल संस्थाले स्वीट्जरल्याण्डका भूगोलविद् ल्याएर चुरेको सर्भे गराएका थिए । त्यसबेला ९५ प्रतिशत जोखिम भएकाले विष्णुपादुकाको सालबोटेमाथिको बस्ती सार्न र खनजोत गर्न रोक लगाउन लिखित सुझाव दिइएको थियो । साथै त्यस क्षेत्रमा घना वृक्षरोपण गर्न पनि उनीहरूको आग्रह थियो । तर त्यसबमोजिम न बस्ती सारियो, न वृक्षरोपणमै ध्यान दिइयो । थप जोखिम बढाउने गरी जथाभावी घर र बाटो निर्माण बढेकै कारण पहिरोको जोखिम बढ्दै गएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)