ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५ वर्षदेखि अलपत्र पक्की पुल निर्माण अघि बढ्यो

२०७७ मंसिर, १८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । दिगो बजेटको सुनिश्चित नहुँदा ५ वर्षदेखि अलपत्र बनेको धरान उपमहानगरपालिका–१५ र ४ जोड्ने सेउती पुलको काम अघि बढेको छ । ३ वर्षमा सम्पन्न गर्नेगरी २०७३ सालमा निर्माण शुरू भएको सेउती पुलमा तीनओटा पिलर बनेपछि बजेट अभावले ठप्प रहेको थियो ।

गतवर्ष संघीय सरकारबाट बजेट सुनिश्चित भएपछि पुल निर्माणको ठेक्का लागेको थियो । यद्यपि कोभिड महामारीका कारण रोकिएको पुल निर्माण पुनः सुचारु भएको छ ।

कोरोनाको त्रास कम हुँदै गएकाले ७ महीनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित काम अघि बढाइएको छ । खामपचे निर्माण कम्पनीले ३ करोड ५६ लाख रुपैयाँमा पुल निर्माणको ठेक्का पाएको छ ।

आयोजना शुरू हुँदा पुलको लागत इस्टिमेट ४ करोड ५० लाख रुपैयाँ थियो । निर्माण शुरू भएको पहिलो वर्ष तत्कालीन सुनसरी जिल्ला विकास समितिमार्फत ४७ लाख र जनसहभागिताको करीब ९ लाख रुपैयाँ लागतमा दुईओटा पिलर मात्र तयार भएको थियो । त्यसपछि संविधानसभा सदस्य कृष्णकुमार राईले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट उपलब्ध गराएको ३० लाख रुपैयाँ र जनसहभागिताबाट ६ लाख रुपैयाँ लागतमा तेस्रो पिलर बनाइएको थियो । अहिले तीनओटा पिलरको लगानीबाहेक ३ करोड ५६ लाख रुपैयाँको इस्टिमेट गरिएकोमा २ करोड ३६ लाखमा टेण्डर स्वीकृत भएको वडा नं ४ का सदस्य धनबहादुर कुलुङले बताए । पुल ५० मिटर लम्बाइ र ७ मिटर चौडाइको रहनेछ ।

कोरोनाले गर्दा गतवर्ष काम हुन नसकेकोमा अहिले दशैं, तिहारपछि निर्माण अघि बढाइएको कम्पनीका प्रतिनिधि विश्व लिम्बूले बताए । ‘काम शुरू भएको छ । केही बाधा व्यवधान नआए चालू आवको अन्तिमसम्ममा पुल तयार हुन्छ ।’ आउँदो वर्षायाममा पक्की पुलबाट ओहोरदोहोर गर्न पाउने आशा स्थानीयवासीको समेत छ ।

राष्ट्रिय योजनामा पार्ने उद्देश्यसहित पुलको शिलान्यास २०७३ जेठ १४ गते सुनसरी क्षेत्र नं १ का सांसद मीन विश्वकर्माले गरेका थिए । त्यसपछिका निर्वाचनमा पनि पुल निर्माण राजनितिक दलहरूको नारा बनेको थियो । तर बजेटको सुनिश्चित हुन सकेको थिएन । अघिल्लो वर्ष संघीय सांसद जयकुमार राईको पहलमा राष्ट्रिय योजनामा परेपछि पुल निर्माण अघि बढेको हो । फागुनमै ठेक्का लागि काम शुरू भएको थियो । तर कोरोनाको महामारी नियन्त्रणका लागि चैत ११ देखि लागू गरिएको बँन्दाबन्दीपछि काम रोकिएको थियो ।

स्थानीयले २०६३ सालमा विकल्पको रूपमा काठे पुल निर्माण गरेका थिए । तर २०६९ सालमा आएको बाढीले क्षति पु¥याएपछि जोखिमपूर्ण रूपमा आवतजावत गर्न बाध्य छन् । समयमै पक्की पुल निर्माण हुन सके वडा नम्बर ४ र ५ का खैरेनी टार, बसन्तटार, पत्रङबारी, देवी गाउँ, निशान डाँडा, हरिया लगायत २० गाउँका बासिन्दा लाभान्वित हुनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)