ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालतर्फको रानी नाका नखुल्दा व्यवसायीलाई समस्या 

भारतीय नाका खुलेपनि नेपाली नाका बन्द हुँदा थन्किए ६५ यात्रुबाहक बस 

२०७७ मंसिर, १९  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

मंसिर १९, विराटनगर । नेपाल - भारत नाका खुलाहुँदा जहिले पनि भिड हुने विराटनगरदेखि भारतीय सीमा क्षेत्र रानीसम्म सञ्चालन हुने यातायात आठ महीनादेखि ठप्प छ । जबकी लकडाउन खुलेसँगै अन्य क्षेत्रका सवारी भने सञ्चालनमा रहेका छन् । भारतीय नाका खुलेपनि विराटनगरको नेपालतर्फको रानी नाका नखुल्दा ६५ ओटा यात्रु बाहक बस थन्कीएका हुन् ।  

डेढ महीना अघिदेखि भारतीय नाका जोगवनी खुलेपनि नेपाल सरकारले अन्तरराष्ट्रिय सीमा नाका मंसिर मसान्तसम्म बन्द रहने निर्णय गरेपछि रानी -जोगवनी आउजाउ पूर्णरुपमा बन्द छ । भारत र अन्य मुलुकबाट आउने सामान र नेपालबाट अन्य मुलुक जाने सामग्री भने आइसीपीबाट निकासी र पैठारी हुँदै आएको छ । 

नाका बन्द भएपछि किनमेल गर्न जाने यात्रुको अभावमा अहिले ६५ ओटा यात्रुवहाक बस थन्किदा २०० जनाले रोजगारी गुमाएका छन् । आठ महीनादेखि बस थन्किदा लाखौंको नोक्सारी व्यहोर्नु परेको बस सञ्चालकहरुले बताएका छन् । विराटनगरको ढाटबाट सीमा बजार जोगवनी वारी रानीसम्म ती बसले यात्रु ओसार्दै आएका थिए । 

रानी–विराटनगर रुटमा बस सञ्चालन गर्दै आएका व्यवसायी सुदर्शन रायले लामो समयदेखि गाडी थन्किएका कारण अब गाडीनै कबाडीलाई विक्री गर्नु पर्ने अवस्था आएको बताए । उनले भने, ‘अब गाडी बनाएर चलाउन सक्ने अवस्था छैन, बनाउँदा खर्च धान्न सकिदैन ।’ 

बैंकले मासिक तिर्नु पर्ने किस्ता तिर्न नसक्दा ताकेता गरिरहेको तर गाडी सञ्चालन गर्न सक्ने अवस्था नभएको कारण बैंकको ऋण तिर्न नसकिएको उनले बताए । भारतमा नेपालकोभन्दा बढी संक्रमण भएपनि उसले सबै अन्तरराष्ट्रिय नाका खोलेको तर नेपालले नखोलेकोमा आश्चर्य प्रकट गर्दै उनले भने ‘सरकारले रोजी रोटीका लागि पनि नाका खुलाउनु पर्छ, नाका नखुलेपनि वारीपारीको आवत जावत रोकीएको छैन, मानिसहरु चोरबाटोबाट आवतजावत गरिरहेका छन् ।’

रानीदेखि विराटनगरको ढाटसम्मको भाडा ३० रुपैयाँ हो । पछिल्लो समय बस नचलेपछि सीटी सफारी र टेम्पोले मनोमानी भाडा लिएर यात्रु बोकीरहेको गुनासो बस व्यवसायीले गरेका छन् । सीटी र टेम्पोले एक यात्रु बराबर १०० रुपैयाँसम्म भाडा लिने गरेका छन् । बसले मुख्य नाकामा यात्रुलाई ओराल्ने चढाउने गरेपनि टेम्पो र सीटी सफारीले चोरीको बाटोमा यात्रुलाई पुर्‍याइदिने गरेका छन् । 

रानी विराटनगर यातायात प्राली अध्यक्ष दिलिप श्रेष्ठले सरकारले जे उद्देश्यका लागि नाका बन्द गरेको हो त्यसको खासै प्रभावकारी नभएकाले नाका खुला गर्नुको विकल्प नरहेको बताए । उनले भने, ‘मुख्य नाका बन्द भएपनि प्रहरीको पहुँचभन्दा बाहिर रहेका स्थानबाट मानिसहरु आवत जावत गरिरहेका छन् जसको कारण नाका बन्द गर्नुको अर्थ छैन ।’

लामो समय गाडी थन्किएकाले प्रत्येक गाडीको मर्मत खर्च नै दुई लाखभन्दा माथि पुग्ने भएकाले सरकारले मर्मत खर्चमा अनुदानको व्यावस्था गर्नपर्ने उनले बताए । खुला सीमा भएका कारण नाका बन्द हुँदासमेत यात्रुहरु नरोकीएकाले नाका खोल्नु पर्ने भन्दै व्यवसायीले मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रसमेत बुझाएका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)