सुर्खेत । कोभिड–१९ ले मानिसको जनजीवन अप्ठ्यारो अवस्थामा पु¥याए पनि प्रविधि प्रयोगमा भने धेरैलाई अभ्यस्त गराइदिएको छ । ई–कमर्श, अनलाइन शपिङ, डिजिटल बैंकिङ, ई–लर्निङलगायत गतिविधि शहरी क्षेत्रमा मात्र होइन, ग्रामीण क्षेत्रका धेरै स्थानमा आमजीवनको अंग बन्दै गएको छ । कोरोना संक्रमणको जोखिमसँगै भौतिक सम्पर्क विच्छेद भएको अवस्थामा व्यावसायिक तथा दैनिक जीवन सहज पार्न डिजिटल प्रविधिले महŒवपूर्ण भूमिका निर्वाह गरेको छ ।
यसैको उदाहरण हो, पछिल्लो समय मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित अनलाइन परीक्षा प्रणाली । पश्चिम सुर्खेतको ग्रामीण क्षेत्रमा रहेको मप विश्वविद्यालयको आंगिक विद्यापुर जनता बहुमुखी क्याम्पसका ९६ प्रतिशत विद्यार्थीले अनलाइन प्रणालीबाट परीक्षा दिइरहेका छन् । विश्वविद्यालयको बीबीएसतर्फ ९१ प्रतिशत र बीएडतर्फ ९६ प्रतिशत विद्यार्थीले अनलाइन मार्फत परीक्षा दिइरहेको क्याम्पस प्रमुख डिल्लीराम भण्डारीले जानकारी दिए । विद्युत् तथा इन्टरनेटमा केही प्राविधिक समस्या आएको अवस्थामा बाहेक अनलाइन परीक्षा सफल रूपमा सञ्चालन भएको सहायक क्याम्पस प्रमुख पुस्कर सापकोटाले बताए । विश्वविद्यालयद्वारा सञ्चालित अनलाइन परीक्षामार्फत कर्णालीका ग्रामीण भेगका विद्यार्थी समेत डिजिटल प्रविधिमैत्री बन्दै गएको उनको भनाइ छ ।
कोरोना महामारीले विद्यार्थी भौतिक रूपमा उपस्थित हुन नसकिरहेको बेला मप विश्वविद्यालयले १८ ओटा परीक्षा केन्द्रबाट आइतवारदेखि शुरू गरेको अनलाइन परीक्षामा शहरी क्षेत्रका मात्र होइन, दुर्गम गाउँका विद्यार्थी समेत सामेल भएका छन् । परीक्षामा ७ हजार ५५५ जना विद्यार्थी सहभागी भएको विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख डा. आनन्द सुवेदीले जानकारी दिए । उनका अनुसार परीक्षामा देखा पर्न सक्ने कठिनाइ र त्यसको समाधानका लागि परीक्षा शुरू हुनुअघि नै विश्वविद्यालयले विद्यार्थी र प्राध्यापकहरूको उपस्थितिमा भर्चुअल अभिमुखीकरण कार्यक्रम गराएको थियो । परीक्षा एक महीनासम्म सञ्चालन हुनेछ ।
विश्वविद्यालयका अनुसार परीक्षामा मानविकीतर्फ १ हजार ४४१, शिक्षाशास्त्रतर्फ २ हजार ४९९, व्यवस्थापनतर्फ १ हजार ८८८, विज्ञान प्रविधितर्फ ३९४, इन्जिनियरिङतर्फ ९५५ र कानून संकायतर्फ ७८ जना विद्यार्थी सहभागी छन् । काठमाडौं, बाँके, बर्दिया, मुगु, दैलेखलगायत जिल्लाका १८ ओटा केन्द्रबाट परीक्षा सञ्चालन भएको विश्वविद्यालयले बताएको छ ।
कोभिड–१९ को जोखिमका कारण देशका अन्य विश्वविद्यालयले परीक्षा सञ्चालन गर्न नसकिरहेको अवस्थामा मध्यपश्चिम विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालन गरेर सरकारले लिएको डिजिटल कर्णालीको अवधारणामा टेवा पु¥याएको मानविकी संकाय केन्द्रीय क्याम्पसका प्रमुख तेजविक्रम बस्नेतले बताए । कर्णालीको भौगोलिक विकटतालाई सहज बनाउन डिजिटल प्रविधिलाई प्रभावकारी ढंगले अघि बढाउन आवश्यक रहेको उनले औंल्याए ।
पछिल्लो समय कर्णाली प्रदेश सरकारका कार्यालयको ७० प्रतिशत काम डिजिटल प्रविधिबाट भइरहेको छ । सरकारले डिजिटल कर्णालीको खाका तयार गरेर ई–गभर्नेन्सको नीतिगत आधार कार्यान्वयनमा ल्याउँदै कृषि, स्वास्थ्य, शिक्षा, शहरी पूर्वाधार, ऊर्जा, पर्यटन, वित्त र डिजिटल फाउन्डेसन गरी आठ प्रमुख क्षेत्रको पहिचान र प्राथमिकीकरण गरी कार्यान्वयनको प्रस्ताव अघि बढाइएको बताएको छ ।