सुर्खेत । कर्णाली प्रदेशको समृद्धिसँग जोडिएको नलसिंहगाड जलविद्युत् आयोजनाको बाँधस्थल पहुँच मार्ग निर्माण पूरा भएको छ । जाजरकोटको नलगाडमा बन्ने ४१७ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको पहिलो चरणमा बाँधस्थल पहुँच मार्ग निर्माण अघिल्लो साता सम्पन्न भएको हो ।
आयोजनाले पहिलो चरणमा बाँधस्थल जोड्ने ११ किलोमिटर बाँधस्थल पहुँच मार्गको निर्माण सम्पन्न गरेसँगै सार्वजनिक यातायातका साधन सञ्चालनमा आएका छन् । आयोजनाले नलगाड नगरपालिका–६, कालिमाटीदेखि बारेकोट गाउँपालिका–८, सक्ला लैखम अँधेरी खोलासम्म सडक निर्माण गरेको हो । ‘कडा चट्टानलाई ब्लास्टिङ माध्यमले तोडेर ११ किलोमिटर लामो बाँधस्थल पहुँच मार्ग निर्माण गरिएको छ,’ सडक निर्माण कम्पनीका प्रतिनिधि रत्न खड्काले भने, ‘बाँधस्थल पहुँच मार्गको काम सकिए पनि खारा खोलामा पक्की पुल निर्माण कार्य बाँकी छ ।’ उनले केही दिनमै पुल निर्माणलाई समेत तीव्रता दिइने बताए । बाँधस्थल पहुँच मार्ग निर्माणको जिम्मा लामा÷खड्का कृष्ण÷गाल्भा जेभीले पाएको थियो । करीब ४४ करोड रुपैयाँ लागतको उक्त बाँधस्थल पहुँच मार्ग निर्माण ३ वर्षमा पूरा भएको हो । पहँच मार्ग निर्माण भएसँगै बारेकोट गाउँपालिकाका करीब २५ हजार बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । सडक बनेसँगै सक्ला, नायकबाडा, रोकायगाउँ, रामीडाँडा र लहँका स्थानीयलाई सदरमुकाम खलंगा, दल्ली, कालीमाटीलगायत बजारतर्फ आवतजावत गर्न सहज भएको छ ।
आयोजनाले सडक बनाएपछि गाउँमा दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न सहज भएको बारेकोट गाउँपालिका–८ का वडासदस्य मानबहादुर सिंहले बताए । बाँधस्थल पहँुच मार्ग निर्माणले अब आयोजना तोकिएकै समयमा बन्ने सम्भावना बढेको उनको भनाइ छ । ‘सडक सञ्जाल नजोडिएको बारेकोट गाउँपालिकालाई आयोजनाले सडक सञ्जालसँग जोडिदिएको छ,’ उनले भने, ‘दुई÷तीन दिन पैदल हिँडेर सदरमुकाम खलंगा पुग्नुपर्ने बाध्यता हट्यो ।’ बारेकोटका दुर्गम गाउँहरू सडक सञ्जालसँग जोडिएसँगै ढुवानी गर्न सहज हुँदा दैनिक उपभोग्य वस्तुको मूल्य समेत सस्तिएको उनले बताए ।
भौगोलिक विकटता, गरीबी र सधैं खाद्य संकट बेहोरिरहेको बारेकोट गाउँपालिकामा सडक पहुँच पुगेपछि खाद्यान्न ढुवानी धेरै सहज भएको छ । ‘पहिले मान्छे हिँड्न साँघुरो बाटो थियो । सामान ओसार पसार गर्न धेरै अठ्यारो हुन्थ्यो,’ बारेकोट–८ लैखमका हरिबहादुर खत्रीले भने, ‘यति छिट्टै गाडी पुग्ला भन्ने सोचेका थिएनौं । यातायातको पहुँच पुग्यो, निकै खुशी छौं ।’ आफ्नै घरआँगनमा गाडी गुडेको देख्ने वर्षौंदेखिको सपना आयोजनाले पूरा गरिदिएको उनले बताए । हाल जिल्ला सदरमुकाम खलंगाबाट कालिमाटी, सिर्के, सक्ला, लिम्साहुँदै घाट बजारसम्म यातायातका साधन नियमित सञ्चालनमा आएका छन् ।