धनकुटा । नेपालमा कोरोना संक्रमण फैलिएको ८ महीनापछि धनकुटामा पीसीआर ल्याब स्थापना गरिएको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ करोड लागतमा धनकुटामा पीसीआर मेशिन जडान गरिएको हो । पीसीआर मेशिन जडान भएपछि धनकुटामा दैनिक ३०० स्वाब परीक्षण गर्न सकिने भएको छ ।
पीसीआर ल्याबको मंगलवार संघीय सांसद राजेन्द्र राईले उद्घाटन गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार १२ गते र कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिले गत भदौ २ गते धनकुटामा पीसीआर परीक्षण मेशिन राख्ने निर्णय गरेको थियो । पीसीआर परीक्षण मेशिनको उद्घाटन गर्दै सांसद राई धनकुटामा मेशिन जडान भएपछि आवश्यक जनशक्ति अभाव हुन नदिन खबरदारी गरिरहने बताए । उनले धेरै पहिले बजेट आएको भए पनि प्रक्रिया गत झन्झटले केही ढिलाइ भएको बताए । पीसीआर मेशिनले बढीमा ३ घण्टामा नतीजा दिने भएपछि धेरै सहज हुने जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माले जानकारी दिए ।
धनकुटामै कोरोना परीक्षण
हुने भएपछि धनकुटासहित छिमेकी जिल्ला भोजपुर, तेह्रथुम र संखुवासभाका स्थानीयलाई कोरोना परीक्षण गर्न सहज हुने भएको छ । यसअघि पूर्वी पहाडी जिल्लामा पीसीआर मेशिन नहुँदा धरान र विराटनगरका ल्याबमा स्वाब पुर्याएर कोरोना परीक्षण गरिँदै आएको थियो । प्रदेशभरको स्वाब परीक्षण गर्ने सीमित ल्याब भएकाले पीसीआर रिपोर्टका लागि धेरै दिनसम्म कुर्नुपर्ने बाध्यता थियो ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २ करोड रुपैयाँ लागतमा धनकुटामा चारओटा भेन्टिलेटर सहित १० शøयाको आईसीयू कक्ष निर्माण भइरहेको छ । आईसीयू कक्ष पनि चाँडै सञ्चालनमा आउने स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले जानकारी दिए ।