पुस ४, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सुविधा सम्पन्न आयुर्वेद चिकित्सालय बन्ने भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई प्रवद्र्धन एवम् विस्तार गर्न संघीय सरकारले वीरेन्द्रनगरमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल बनाउन लागेको हो ।
पहिलो चरणमा २२ करोड ६० लाख रुपैयाँको लागतमा प्रदेश आयुर्वेद औषधालयको हाता भित्र उक्त अस्पताल बनाउन प्रारम्भिक प्रक्रिया शुरु भएको छ । अस्पताको नाप, नक्सा, स्टमेटको कार्य पुरा भएर टेण्डरको अन्तिम प्रक्रियामा रहेको संघीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतका इन्जिनियर टिकाराम पोखरेलले जानकारी दिए । उनका अनुसार कुनै अवरोध नआए पुस दोस्रो साताभित्र चिकित्सालय भवनको टेण्डर आह्वान गर्ने तयारी भईरहेको छ ।
प्रदेश आयुर्वेद औषधालय सुर्खेतका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले सात वटै प्रादेशिक आयुर्वेद अस्पताल बनाउने केन्द्र सरकारको नीति अन्तर्गत सुर्खेतमा पनि सुविधा सम्पन्न आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनाउन लागिएको बताए । आयुर्वेदिक सर्जरी, उपचारसहित वैकल्पिक चिकित्साका विभिन्न विधासमेत समेटी प्रदेश सरकारमातहत रहने गरी अस्पताल बनाउन लागिएको उनको भनाइ छ ।
साविकको ‘प्रदेश आयुर्वेद औषधालयलाई नयाँ संरचनामा ‘वैकल्पिक चिकित्सा’ थपेर ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सालय’ बनाइएको उनले बताए । उनका अनुसार होमियोप्याथी तथा आम्ची चिकित्सा शाखा, प्राकृतिक तथा अकुपन्चर चिकित्सा शाखासमेत थप्ने योजना रहेको छ ।
आयुर्वेदका विद्यमान स्वास्थ्य संस्थाहरुबाट ९० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भनिए पनि हाल २३ प्रकारका औाषधि मात्रै १२ महिनै उपलब्ध गराउन सकिएको डा. रिजालले बताए । ‘बजेट कम हुँदा सबै औषधि सधैं पु¥याउन सकिएको छैन,’ उनले भने । आयुर्वेदलाई मौलिक, भरपर्दो र साइडइफेक्टरहित चिकित्सा पद्धति भनिए पनि यो सरकारको प्राथमिकतामा पर्न नसकेको उनले बताए । आयुर्वेद विभाग नै खडा गरिए पनि स्वास्थ्य सेवाको कुल बजेटको करिब ४ प्रतिशत मात्रै आयुर्वेदले पाउने गरेको उनको भनाइ छ ।
प्रत्येक प्रदेशमा आयुर्वेद चिकित्सालय निर्माण गर्ने सरकारी योजनानुसार सुर्खेतमा सुविधासम्पन्न चिकित्सालय बन्न लागेको र यसलाई आफूहरुले प्रदेशको गौरवको योजनाका रुपमा लिएको प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले बताए । उनले प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा दैनिक आकस्मिकसहित बहिरङ्ग सेवा, शल्यचिकित्सा कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशाला सेवाजस्ता पूर्वाधार निर्माण हुने जनाए । उनले भने, ‘नेपालका ८० प्रतिशत जनताको आयको स्रोत जडीबुटी भए पनि यसबारे ज्ञानको अभावमा अमूल्य जडीबुटी समय नहुँदै दोहन हुँदा ह्रास हुँदै गएकाले जनचेतना सहित उच्चस्तरको प्रविधियुक्त स्रोत संकलन र डिजिटलयुक्त पुस्ततकालय स्थापना गर्दैछौँ ।’
उनका अनुसार कर्णाली प्रदेशभित्र मात्र वार्षिक ५० करोडसम्मको जडीबुटी उत्पादन हुँदै आएको छ । यहाँको जडीबुटीलाई तयारी औषधिको रुपमा निर्यात गर्ने बेला भएको उनले उनले बताए ।
हाल प्रदेश आयुर्वेद औषधालययबाट स्त्री, प्रसूति सेवा, अर्बुद्ध रोग उपचार, अकुपञ्चर, रेडियोलोजी, प्याथोलोजीलगायतका सेवा प्रदान हुँदै आएको छ । उनका अनुसार अब बन्ने चिकित्सालयमा अन्तरंग सेवा अन्तर्गत शल्य चिकित्सा, पञ्चकर्म, क्षारसुत्र सेवा, स्वस्थ्यत सेवा, कौमारभृत्य, योग तथा फिजियोथेरापी, एक्सरे, सिटी स्क्यान र टेलीमेडिसिनलगायत सेवा शुरु गरिने छन् ।
आयुर्वेद उपचार केन्द्र बन्दै ‘सुर्खेत’
कुनै समय बिरामीको अभावमा सुनसान रहने गरेको प्रदेश आयुर्वेद औषधालयमा पछिल्लो समय चहलपहल बढ्न थालेको छ । अहिले दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । औषधालयमा नयाँ सेवा थपेसँगै अहिले बिरामीको चाप बढेको औषधालयका डाक्टर यादव उपाध्यायले बताए । ‘डेढ वर्षअघि यो आयुर्वेद औषधालय सुनसान थियो’ उनले भने, ‘तर नयाँ सेवा शुरु गरेपछि बिरामीको संख्या ह्वात्तै बढेको छ ।’ अहिले क्षारसूत्र, पञ्चकर्म, अग्निकर्म लगायतका सेवा थप गर्नुका साथै विगतका सेवालाई पनि प्रभावकारी बनाएपछि सेवाग्राही बढेको उनको भनाइ छ ।
अहिले हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम, सुर्खेत, अछामलगायतबाट पनि उपचारका लागि विरामी आउने गरेका छन् । औषधालयमा बिरामीको चाप बढ्न थालेपछि अग्रिमरुपमा नाम दर्ता गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा दुई जनाले बिरामी जाँच गर्दै आएका छन् । औषधालयले क्षारसूत्रबाट पायल्स, फिस्टुला, फिसर, सिस्टलगायत रोग निदान गर्दै आएको छ । चिकित्सालयमा क्षारसूत्र सेवा शुरु भएपछि आफु पायल्स, फिस्टुला, फिसररोगजस्ता सेवा लिन बुटवल, नेपालगञ्ज, काठमाडौं जानुपर्ने बाध्यता हटेको सेवाग्राही देवबहादुर थापाले बताए ।
औषधालयले विभिन्न पाँचकर्म गरेर बाथ, पित्त तथा कफलाई निदान गर्न यो सेवा प्रदान गरिन्छ । लामो समयदेखि पूर्वाधार निर्माण भए पनि सञ्चालन हुन नसकेको उक्त सेवालाई गत वर्षदेखि सञ्चालनमा ल्याइएको हो । नयाँ सेवा विस्तार भएपछि औषधालमा बिरामीको संख्या बढेको छ । चिकित्सकको अभाव औषधालय व्यवस्थित हुँदै गए पनि विशेषज्ञ डाक्टरको अभाव भने कायमै छ ।