ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा उत्पादित टिमुरलाई बजार अभाव

२०७७ पौष, ५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । व्यावसायिक टिमुरखेतीका लागि प्रख्यात जिल्ला सल्यानमा उत्पादित टिमुरले बजार पाउन सकेको छैन । विगतका वर्षमा कात्तिक–मङ्सिरमै टिमुर विक्री गरिसक्ने जिल्लामा यस वर्ष उत्पादित टिमुर अझै विक्री हुन सकेको छैन । यसअघिका वर्षमा टिमुर खरीद गर्न व्यापारीहरू गाउँमै आउने गरेकोमा यसपालि नआएकाले विक्रीमा समस्या भएको स्थानीयले बताएका छन् ।

जिल्लाका विभिन्न ठाउँमा उत्पादित मसलेदार जंगली फल टिमुरको विक्री नभएपछि किसान चिन्तित बनेका छन् । जिल्लाको लेखपोखरा, दमाचौरमा उत्पादित टिमुर विक्री भएको छैन भने निगालचुँला, कुपिण्डे दह लगायत क्षेत्रमा उत्पादित टिमुरले पनि राम्रो बजार मूल्य पाउन सकेको छैन । टिमुर खरीदका लागि व्यापारी नआएपछि टिमुर घरमै थन्किएको गुनासो किसानहरूको छ ।

छत्रेश्वरी गाउँपालिका–५ महानेटाका किसान मोहन केसीले आफूले गतवर्ष टिमुर विक्रीबाटै ३ लाख रुपैयाँ आम्दानी गरेकोमा यस वर्ष उत्पादित ३ क्वीन्टल टिमुर विक्री नभएको बताए । विगतमा प्रतिकेजी ७०० रुपैयाँका दरले विक्री गरेको टिमुर यस वर्ष ४०० रुपैयाँमा समेत विक्री नभएको उनको भनाइ छ । ‘मैले गहुँ मकै रोप्ने बारीमा टिमुरखेती गरेको छु । टिमुरका ५०० बोटले उत्पादन दिइरहेका छन्,’ उनले भने, ‘टिमुर विक्रीबाटै गुजारा चलाउँदै आएको थिएँ । यस वर्ष टिमुर नबिक्दा समस्या भएको छ ।’ गतवर्ष टिमुर विक्रीबाट २ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गरेका अर्का किसान लोकबहादुर डाँगीले पनि उत्पादित टिमुर यस वर्ष विक्री नभएको बताए । ‘विगतका वर्षमा टिमुर टिप्नेबित्तिकै विक्री हुन्थ्यो । मंसिर अन्तिम हुन लाग्दा समेत व्यापारी आएका छैनन्,’ उनले भने ।

टिमुरखेतीबाटै जीवन निर्वाह गर्दै आएका किसान उत्पादन विक्री नहुँदा मारमा परेका छन् । विगतमा जिल्लामा उत्पादित टिमुर भारत हुँदै फ्रान्स निर्यात भएको थियो । परम्परागत रूपमा अन्नबाली लगाउँदै आएका किसान जडीबुटीबाट मनग्गे आम्दानी हुने भएपछि टिमुरखेतीमा लागेका थिए ।

डिभिजन वन कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्ष २०७६÷७७ मा जिल्लाबाट १७ करोड रुपैयाँभन्दा बढीको जडीबुटी निर्यात भएको छ । टिमुर, रिठ्ठा, तेजपात, दालचिनीको बोक्रा, घोडाताप्रे लगायत ३ लाख ६४ हजार ४०० किलो बहुमूल्य जडीबुटी जिल्लाबाट अन्यत्र पठाइएको थियो, जसमा टिमुर मात्रै राष्ट्रिय वनमा ९५ हजार किलो र निजी आवादमा २ लाख ६७ हजार ४०० किलो उत्पादन भएको थियो ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)