ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरानस्थित महेन्द्र क्याम्पसको जग्गामा भूमाफियाको चलखेल

२०७७ पौष, ७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर


पुस ७, धरान । दुई वर्षअघिदेखि भूमाफियाको चलखेलमा फसेको धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसको छात्रावास रहेको जग्गामा कर्मचारीको पनि मिलेमतो भएको आशंका गरिएको छ । मोही हक दाबी गरिएको जग्गाको जोतभोगबारे गरिएको सर्जमिन १ वर्षसम्म भूमिसुधार तथा मालपोत कार्यालयमा नपुगेको खुलासा भएपछि दुवैतर्फका कर्मचारीको मिलेमतोमा जग्गा हडप्ने प्रयास निरन्तर रहेको आशंका गरिएको हो । 

धरान ११ स्थित स्वस्तिक चौकबाट उत्तरतर्फ जाने बाटोमा पर्ने छात्रावास रहेको जग्गामा एक वर्षअघि भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाले मोहीहक दाबी गरेको जग्गाको जोतभोग कसले गरिरहेको छ भनेर सर्जमिन मुचुल्का गरेर पठाउन धरान उपमहानगरपालिकालाई आग्रह गरेको थियो । उपमहानगरका न्यायिक समितीका नायब सुब्बा मदन खनालको तामेलीमा सर्जमिन मुचुल्का तयार गरिएको थियो । २०७६ पुस १६ गते स्थानीय जनप्रतिनिधि सहित स्थानीयहरुको रोहवरमा उठाइएको सर्जमिन मुचुल्का चलानी नम्बर ३६३३ बाट पुस १७ गते भूमिसुधार तथा मालपोत कार्यालयको नाममा पठाएको नगरपालिकाले बताएको छ । 

तर १ वर्षसम्म पनि मालपोत कार्यालयमा पुगेको दर्ता शाखामा भेटिँदैन । यसले पनि सर्जमिन मुचुल्का सम्बन्धित निकायमा नपु¥याई दुवै तर्फका कर्मचारीहरुको मिलेमतोमा मुद्दालाई अल्झाएर हडप्न सघाउ पु¥याउन खोजेको क्याम्पसका विद्यार्थीहरूको आरोप छ । दुवै तर्फका कर्मचारीबीच छानबिन गरेर सत्य तथ्य सार्वजनिक गर्नुपर्ने अखिलका जिल्ला सदस्य सुजन खत्री बताउँछन् । उनले भने, ‘धरानबाट कहिले, कुन कुरियरबाट पठाएको हो, कुन कर्मचारीले पठाएको हो, त्यसको छानबिन हुनुप¥यो, मालपोतमा पनि कसले बुझेको हो, त्यसको छानबिन गरेर दोषि कर्मचारीलाई कारबाही गरिनुपर्छ ।’

लामो समय सम्म पनि जग्गाको मुद्दाबारे मालपोत कार्यालयबाट कुनै निर्णय नआए पछि क्याम्पस प्रशासन र विद्यार्थीहरुले मुद्दाबारे ताकेता गर्दा मिसिलमा महत्वपूर्ण प्रमाणको रूपमा रहेको सर्जमिन मुचुल्का नै नभएको पाएपछि मात्र यो रहस्य खुलेको हो । मुचुल्कामा मोहीहक दाबी गरेका व्यक्तिले लामो समयदेखि भोगचलन नगरिएको पाइएको सर्जमिन भएको थियो । सर्जमिनको आधारमा भूमाफियाको चलखेल हुन नपाउने भएपछि कर्मचारीहरुलाई प्रयोग गरिएको हुन सक्ने विद्यार्थीहरूको भनाइ छ । 

२०३४ सालमा क्याम्पसले किनेको साविक धरान ९ (क) हाल धरान ११ स्वस्तिक चोकमा पर्ने कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा श्यामगोविन्द श्रेष्ठबाट किनेको थियो । उक्त जग्गाको स्रेस्तामा मोही उल्लेख भएका डम्बरबहादुर घिमिरेको मृत्यु भइसकेको छ । मोही घिमिरेलाई त्यसबेला नै चित्त बुझाएर जग्गा किनबेच गरिएको भए पनि लगतकट्टा नगरिँदा अहिले भूमाफियाहरुले जग्गा हडप्न उनका छोरा यज्ञबहादुर क्षेत्रीलाई अघि सारेका हुन् । उक्त जग्गाको मूल्य अहिले करोडौं रुपैयाँ पर्छ ।

यज्ञबहादुरले बुबाको नाममा भएको मोही हक नामसारीको लागि २ वर्षअघि भुमिसुधार तथा मालपोत कार्यालय इनरुवामा निवेदन दर्ता गरेका थिए । उनको निवेदन परेपछि कार्यालयले २०७५ चैत २२ गते धरान उपमहानगरपालिकालाई पत्राचार गरेर जोतभोग कसले गरिरहेको छ भनेर सर्जमिन मुचुल्का गरी पठाइदिन आग्रह गरेको थियो । सोही आग्रह अनुसार २०७६ पुस १६ गते सरोकारवाला एवं स्थानीयको उपस्थितिमा जोतभोगको सर्जमिन मुचुल्काको सक्कल नै हराएको हो । 

मुचुल्का हराएको जानकारी पाएपछि क्याम्पसले धरान उपमहानगरपालिकालाई पत्र काटेर सर्जमिन मुचुल्काको प्रतिलिपि माग गरेपछि मालपोतमा पठाएको पत्रबारे पनि खोजी गर्न थालेको छ । क्याम्पसले निवेदन दिएपछि उपमहानगरपालिकाले उपलब्ध गराएको सर्जमिन मुचुल्काको प्रतिलिपि मालपोत कार्यालयमा पुस ३ गते बुझाइएको छ । प्रतिलिपि बुझाए पनि ढिलाइको विषयमा छानबिन हुनुपर्ने क्याम्पसका प्रमुख दामोदर भण्डारी बताउँछन् । 

धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले क्याम्पसको पत्र आएपछि सर्जमिन मुचुल्काको प्रतिलिपि उपलब्ध गराएको जानकारी दिए । साथै, उनले मुचुल्काको सक्कल प्रति कहाँ गयो भनेर आवश्यक छानबिन भइरहेको पनि बताए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)