ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण हुँदै

२०७७ पौष, ८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा जनता आवास कार्यक्रममार्फत ५० वटा घर निर्माण हुने भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्यअनुसार ५० वटा घर निर्माण हुने भएका हुन् ।

तीन नगरपालिका र सात गाउँपालिकासहित दस स्थानीय तह रहेको  सल्यानमा प्रत्येक स्थानीय तहमा ५÷५ वटाका दरले घर निर्माण हुनेछन् ।

अहिले जिल्लामा लाभग्राही छनोट तथा सम्झौताको काम भइरहेको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ । कार्यालय प्रमुख विनोद पुनले जिल्लामा घर निर्माण हुने स्थान र लाभग्राही छनोटसँगै सम्झौताको काम भइरहेको बताए ।

जनता आवास कार्यविधिअनुसार लाभग्राहीको घर निर्माणका लागि स्थानीय तहले गरेको सिफारिसअनुसार आवश्यक प्रक्रियागत काम भइरहेको उनले जानकारी दिए ।

‘घर निर्माणका लागि प्रत्येक परिवारले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उक्त रकमबाट लाभग्राहीले दुई कोठासहितको जस्तापाताले छाएको घर र शौचालयसमेत निर्माण गर्नुपर्नेछ’, पुनले भने । कुल रकमको १० प्रतिशत खर्च लाभग्राहीले बेहोर्नुपर्ने कार्यविधिमा उल्लेख छ । यही आर्थिक वर्षमा सम्पन्न गर्ने गरी जनता आवास निर्माण सुरु गर्न लागिएको कार्यालयले बताएको छ । लाभग्राही आफैंले जोतभोग गरेको जग्गामा सरकारले जनता आवास कार्यक्रमअन्तर्गतका घर निर्माण गर्न लागेको हो । ‘जनता अवास कार्यक्रम’ दलित, विपन्न परिवार, सीमान्तकृत समुदायलाई लक्षित गरी आर्थिक वर्ष ०६६/६७ बाट लागू भएको हो ।

घरबारविहीन परिवारका लागि संघीय सरकारले जिल्लामा ५० वटा आवास निर्माणका लागि १ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

अहिले स्थानीय तहको सिफारिसको आधारमा लाभग्राहीसँग आवास निर्माणका लागि सम्झौता गर्ने काम भइरहेको कार्यालयका असिस्टेन्ट सबइन्जिनियर महेशकुमार वलीले बताए ।  खासगरी दलित, विपन्न समुदायका लागि घर निर्माण गरेर उनीहरूलाई आवासको सुविधा दिनु नै यसको उद्देश्य हो’, उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)