पुस ८, धनकुटा । सरकारको एक सय गन्तव्य सूचीमा पर्न सफल धनकुटाको पटेक डाँडामा सुनसान छ । उक्त गन्तव्य सूचीमा परेपछि प्रदेश तथा संघीय सरकारले पूर्वाधार निर्माण गरेको भए पनि पर्यटक आवागमन न्यून रहेको छ ।
पर्यटकीय पूर्वाधार भएर पनि प्रचारप्रसारको कमीले पटेक डाँडा पर्यटक नआएपछि स्थानीयले प्रचारप्रसार गरिदिन माग गरेका छन् । कोशी राजमार्गमा पर्ने सिधुवा बजार नजिकै रहेको यो डाँडामा करिब २० मिनेटको पैदल यात्रा तथा १० मिनेट साना सवारीसाधनमा पुग्न सकिन्छ । प्रचारप्रसारकै कमीले पटेक डाँडामा पर्यटक कम भएको स्थानीय प्रकाश तामाङको भनाइ छ । दैनिक १० देखि २० जना मात्र पर्यटक आउने गरेको उनले बताए ।
‘सरकारको एक सय गन्तव्यमा परेको ठाउँमा यति मात्र पर्यटक आउँछन् भने अन्यत्र कस्तो होला ?’ उनले प्रश्न गरे । गन्तव्य सूचीमा पर्नु ठूलो कुरा नभएको बताउँदै उनले प्रचारप्रसार हुनुपर्ने बताए ।
पटके डाँडा धनकुटाको सबैभन्दा बढी उचाइ भएको स्थान हो। पटके डाँडाको उचाइ करिब २६ सय ५० मिटर छ । यो डाँडाबाट मकालु र कुम्भकर्ण हिमश्रृंखला सहित धनकुटाका विभिन्न स्थान देख्न सकिन्छ । यहाँको शीतल हावापानी र शान्त वातावरणले पर्यटक मोहित हुन्छन् । तर, सुन्दर र हराभरा भएर पनि पटेक डाँडा सुनसान छ ।
यो डाँडा खासगरी सूर्योदय र सूर्यास्तका लागि प्रख्यात रहेको छ । पर्यटकीय गन्तव्यको प्रचार सम्भावना रहेकोले यस स्थानमा थप भौतिक पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा सरकारले ध्यान दिनुपर्ने स्थानीय होमबहादुर विष्टले बताए ।
डाँडामा पुग्नका करिब ४ सय २० मिटरमा रेलिङ सहितको पक्की सिँढी निर्माण गरिएको छ । संघीय सरकार र प्रदेश सरकारको १ करोड ३४ लाख लगानीमा भौतिक पूर्वाधारका काम भएको हलहले पटेक डाँडा निर्माण समितिका अध्यक्ष गोमा कार्कीले बताइन् । अब १ सय ८० मिटरमा रेलिङ सहितको पक्की सिँढी निर्माण गर्ने तयारी भइरहेको कार्कीको भनाइ छ ।
पटेक डाँडामा भ्यूटावर, ठाउँठाउँमा पिकनिक स्पट र बहुसांस्कृतिक मठमन्दिर निर्माण गर्ने तयारी भइरहेको र पर्यटक भित्र्याउन स्थानीय सरकारले काम गरिरहेको छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए । अध्यक्ष लिम्बूका अनुसार सिँढी निर्माण शुरु भएको स्थानसम्म गाउँपालिकाले सडक स्तोरन्नति काम गर्ने योजना बनाएको छ । कोशी राजमार्गदेखि सिँढी निर्माण भएको ठाउँसम्म सडक अफ्ठ्यारो भएकाले पनि पर्यटक पुग्न समस्या भएको उनको भनाइ छ ।