ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश उद्योग वाणिज्य महासंघको चुनाव स्थगित

उच्च अदालतले निर्वाचन नगराउन गर्‍यो अल्पकालिन आदेश

२०७७ पौष, १०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

पुस १०, विराटनगर । विराटनगर-नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को शनिवार हुने भनिएको निर्वाचन स्थगित भएको छ । 

विधानले व्यवस्था गरेअनुरुपको समयसीमा उम्मेदवारहरुलाई उपलब्ध नगराएको भन्दै उच्च अदालत विराटनगरमा रिट परेपछि अदालतले कारण देखाउ आदेश जारी गर्दै निर्वाचन रोकेको हो ।  

उच्च अदालत विराटनगरका न्यायाधिस राजनप्रसाद भट्टराईको एकल इजालसले परमादेश जारी गर्दै निर्वाचनको कार्यक्रम रोक्न आदेश दिएको हो । 

शनिवार हुने साधारणसभाले कार्यकारिणी समितिमा अध्यक्षसहित १३ जना सदस्य चयन गर्ने कार्यक्रम थियो । उम्मेदवार बिच सहमति हुन नसकेको र चुनाव प्रचारप्रसारलाई समय सीमा कम तोकिएको जनाउँदै गर्ग प्रिन्टर्सका अन्ताज हुसैनले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । 

शुक्रवार निवेदकको पक्षमा अन्तरिम आदेश जारी गर्दै पौष १४ गतेको तारेख तोकी विपक्षीलाई छलफलका लागि बोलाएको छ । ‘अन्तरिम आदेशको छलफलका लागि निवेदकलाई मिति २०७७/०९/१४ को तारेख तोकी सो को सूचना विपक्षीहरुलाई समेत दिई उक्त अवधिसम्मका लागि प्रकाशित सूचना अनुसारको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को निर्वाचन नगर्नु नगराउनु भनि विपक्षीहरुका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ,’ उच्च अदालतका न्यायाधीश राजन प्रसाद भट्टराईको एकल इजलासले दिएको निषेधाज्ञायुक्त परमादेशमा भनिएको छ ।

उक्त मुद्दामा निवेदकको तर्फबाट अधिवक्ताहरु शान्तिराम भण्डारी, सिताराम राई, रामप्रसाद भण्डारी, पुनमप्रसाद गुप्ता र विनोदकुमार तिमिल्सेनाले बहस गरेका थिए । 

प्रदेश नम्बर १ को उद्योग वाणिज्य महासंघमा ३६ ओटा जिल्ला नगर उद्योग वाणिज्य संघ, १३ ओटा बस्तुगत संस्था र १८१ ओटा एशोसिएट सदस्य छन् । जसले निर्वाचनको माध्यमबाट कार्यकारणी समिति चयन गर्ने कार्यक्रम तय गरिएको थियो । 

आगामी कार्यकालका लागि ६ जना आकांक्षी देखिएका छन् । प्रदेश १ का वर्तमान अध्यक्ष नरेन्द्र खड्का फेरि पनि दोहोरिने इच्छा गरिरहेका छन् । केन्द्रीय सदस्य भइसकेर पनि उनले प्रदेश अध्यक्षमा दोहोरिने इच्छा राखेका हुन् ।

त्यसैगरी, झापाबाटै मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष केशव पाण्डे, झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र घिमिरेले पनि इच्छा देखाइरहेका छन् । अर्का आकांक्षी इटहरी उद्योग वाणिज्य एवम् पूर्वाञ्चल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष टंक दुलालको पनि उम्मेदवारको रुपमा चर्चामा छन् ।

यता मोरङबाट उद्योग संगठन मोरङका वर्तमान अध्यक्ष भीम घिमिरेले १ नम्बर प्रदेशको अध्यक्षका लागि धेरै पहिलेदेखि तयारी गरिरहेका छन् । 

त्यसैगरी, प्रदेश १ का वर्तमान उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा हालै मात्र निर्विरोध निर्वाचित राजेन्द्र राउत अध्यक्ष हुनु पर्ने अधिकांश जिल्ला नगर उद्योग वाणिज्य संघहरूको माग छ । राउत दुई कार्यकाल पूर्वाञ्चल उद्योग वाणिज्य संघको र एक कार्यकाल प्रदेश महासंघको उपाध्यक्ष भइसकेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)