ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विवाद सुल्झिएसँगै दुहबी–तरहरा सडक निर्माण अघि बढ्दै

२०७७ पौष, ११  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

पुस ११, सुनसरी । लामो समयदेखि बिवादमा परेको रानी विराटनगर धरान किमाथांका जोड्ने राजमार्ग निर्माणले तीव्रता पाउने भएको छ । सुनसरीको दुहबीदेखि तरहरासम्मको सडक मापदण्डमा पर्ने घरहरूको मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै ६ लेन सडक निर्माण अघि बढ्ने भएको हो ।

आउँदो माघ महीनाभित्र सकिने गरी सडक क्षेत्रभित्र पर्ने करीब ६ सय भौतिक संरचनाहरू भत्काउने गृहकार्य अन्तर्गत सुनसरीको दुहबीदेखि इटहरीको दक्षिणतर्फ सडक मापदण्डमा पर्ने संरचना हटाउने तयारी भइरहेको आयोजना प्रमुख बद्रीप्रसाद शर्माले बताए । पहिलो चरणमा लगत संकलनको कार्य शुरू गरिएको र केही ठाउँहरूमा सकिएको उनले जानकारी दिए । 

लामो समयदेखि विवादित बनेको सडक विस्तारको काम अघि बढाउन स्थानीय सरकार, राजनीतिक दलका प्रतिनिधि स्थानीयवासी र मालपोत कार्यालयको प्रमुखसँगै प्रहरी प्रशासनसँगको छलफल भएको थियो । छलफलमा जग्गाको मुआब्जा दिन नसक्ने तर घरहरूमा भएको क्षति संकलन गरी मुआब्जा दिने सहमति स्वरूप काम अघि बढेको आयोजनाका प्रमुख शर्माले बताए ।

स्थानीयहरूले जग्गाको पनि मुआब्जा मागेपछि सो क्षेत्रहरूमा सडक निर्माणको काम रोकिएको थियो । तर सहजीकरण भएपछि कामले तीव्रता पाउने भएको आयोजना प्रमुख शर्माको भनाइ छ । कामलाई शान्तिपूर्वक सम्पन्न गराउन र लगत संकलन गरी सम्बन्धित ठाउँमा बुझाउन नापी कार्यालय सुनसरी र दुहबी नगरपालिकालाई पत्राचार समेत गरिसकिएको बताइएको छ । दुहबी बजारमा ६ सय ३० मिटर लम्बाइ सडक मध्ये १६ दशमलव ४६ मिटर अतिक्रमण भएको आयोजनाको भनाइ छ ।

राजमार्ग निर्माणको प्रक्रिया अघि बढेसँगै सुनसरीको दुहबी बजारमा मात्रै २ सय ३३ भन्दा बढी घरहरू भत्किने भएका छन् । त्यस्तै टेंग्रा पुल छेउ ४७, इटहरी चोकदेखि दक्षिण विराटनगर लाइनमा ३५ घर भत्काउनुपर्ने छ । इटहरी चोक उत्तर तरहरासम्मको बाटोमा १ सय १९ ओटा घरहरू भत्काइसकिएको छ ।  

यता, चारकोशे झाडी क्षेत्रमा भने रूखहरू काट्ने काम सकिएको र गिट्टी बिछ्याउने काम शुरू हुने पनि आयोजनाले बताएको छ । १० अर्बको कुल लागतमा बन्दै गरेको रानी– विराटनगर–इटहरी–धरान व्यापारिक सडक आयोजना निर्माण शुरू भएको ७ वर्ष बितिसक्दा ४५ प्रतिशतमात्र सम्पन्न भएको छ । परियोजना सम्पन्न गराउन २०७७ असार ५ गते रौताहा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको छ । कम्पनीले आगामी २०८० असार ४ गतेसम्ममा काम सम्पन्न गरिसक्नु पर्नेछ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)