ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘घुमौं सौराहा’ निम्तो दिँदै पूर्व भ्रमणमा निस्किए चितवनका पर्यटन व्यवसायी

२०७७ पौष, १३  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । कोरोना महामारीले बन्द रहेका पर्यटकीय गन्तव्य ब्युँझाउन चितवनको सौराहाका पर्यटन तथा होटल व्यवसायी निम्तो बाँड्दै धरान आई पुगेका छन् ।

चितवनको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काएर पर्यटक भित्र्याउने उद्देश्यले सौराहाका पर्यटन तथा होटल व्यवसायी  प्रचारका लागि पूर्व आएका हुन् ।

बन्दाबन्दीका कारण दैनिक ५० लाखको आर्थिक कारोबार ठप्प बनेको सौराहाको पर्यटनलाई पुनः जागृत गराउन व्यवसायी प्रचारमा जुटेका छन् । चितवनका पर्यटन तथा होटल व्यवसायीको टोलीले सुनसरीको धरानमा पत्रकार सम्मेलन गरी पर्यटन प्रचारका लागि छलफलसमेत गरेको छ । बन्दाबन्दीको समय हराएको सौराहाको रौनक पुनः फिर्ता ल्याउने पहल सुरु भएको क्षेत्रीय होटल संघ नेपालका अध्यक्ष दीपक भट्टराई बताउँछन् । चितवनमा बन्दाबन्दी खुकुलो भएपछि घुमफिर गर्ने आन्तकिर पर्यटक बढ्न थालेको उनले बताए ।

भट्टराईले भने, ‘हिजोआज विदेशीको तुलनामा नेपालीहरूले पनि नयाँ ठाउँ घुम्न जाने, रमाइलो गर्ने, पैसा खर्च गर्ने गरेको पाइन्छ । यसले गर्दा नेपालको पर्यटनमा आन्तरिक पर्यटकको हिस्सा क्रमशः बढिरहेको छ ।’

साहसिक, जल, वाइल्डलाइफ पर्यटन, ट्रेकिङ, माउन्टेन क्लाइम्बिङका लागि नेपाल विश्वमै प्रसिद्ध छ । त्यसमा पनि सौहाराको चितवनमा पर्यटनको छुट्टै विशेषता रहेको भट्टराई सुनाउँछन् ।

सौराहामा करिब ४० प्रतिशत वनजंगलले ढाकेको हुँदा वाइल्डलाइफ पर्यटनका लागि विश्वकै उत्कृष्ट मानिन्छ । वाइल्डलाइफमा रमाउनकै लागि बर्सेनि  लाखौं पर्यटक नेपाल भित्रिने गर्छन् । बन्दाबन्दी खुला भएपछि अहिले सौराहा पुग्ने आन्तरिक पर्यटक बढेको भट्टराईले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेश द्वार सौराहा हो, जहाँ सुरु विदेशी मात्र देखिन्थे । पछिल्लो समय आन्तरिक पर्यटकको पनि गन्तव्य बन्दै छ ।

भट्टराईले भने, ‘सौराहा जानुको मुख्य उद्देश्य निकुञ्ज भ्रमण गर्नु र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नु नै हो । त्यसमाथि गैंडा हेर्ने धोको सबैको हुन्छ । निकुञ्ज भ्रमण विभिन्न माध्यमबाट गर्न सकिन्छ । सबैभन्दा लोकप्रिय माध्यम हात्ती सफारी हो । यस्तै, जीप सफारीमा सयर गरी सौराहाको राप्ती किनारबाट निकुञ्ज मुख्यालय कसरासम्म पुग्न सकिन्छ ।’

पूर्वी सहर विराटनगर, धरान, इटहरीबाट ३ सय ८५ किलोमिटरको दूरीमा रहेको छ, सौराहा । सौराहा पुगेपछि त्यहाँको निकुञ्जमा ५ सय ३ गैंडा, लगभग १ सय ५० बाघ अवलोकन गर्न पाइनुका साथै जंगल सफारीमा जरायो, बँदेल, चितुवा, बाँदर, मयूर अनगन्ती देख्न सकिन्छ ।

सौराहामा अर्को छुटाउन नहुने डुंगा यात्रा पनि हो । राप्ती नदीमा ४५ मिनेट डुँगा चढ्न पाइन्छ भने डुँगामा बसेर नदी किनारमा सुस्ताइरहेका गोही हेर्दै आनन्द लिन सकिन्छ । जाडो याममा साइबेरियादेखिका चरा नदीमा आउने र रमाउने गरेका छन् । सौराहामा जलयात्रा सकिनेबित्तिकै १० मिनेटको हिँडाइमा हात्ती प्रजनन केन्द्र पुगिन्छ, जहाँ विभिन्न उमेरका हात्तीका छावा देख्न सकिने भट्टराईले बताए । यस्तै, बीसहजारी ताल भ्रमण, थारु सांस्कृतिक कार्यक्रम, थारु गाउँलगायतका पर्यटकीय क्षेत्र अवलोकन गर्न सकिन्छ । त्यसैगरी सौराहा नजिकैका धार्मिक पर्यटकीय गन्तव्य देवघाट, श्वाशतधाम, माडी, अम्ब्रेला स्ट्रिट, मौलाकालिका मन्दिर र परेवाकोटजस्ता स्थानको भ्रमण गर्न पनि सकिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)