ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आरती स्ट्रीप विरुद्ध श्रम कार्यालयमा उजुरी

विनाकारण १८४ मजदूरलाई निष्कासन गरेको आरोप

२०७७ पौष, १३  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । वार्षिक ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको बहुराष्ट्रिय कम्पनी आरती स्ट्रीपविरुद्ध श्रम कार्यालयमा उजुरी परेको छ । विनासूचना १८४ जना मजदूर निष्कासन गरिएको भन्दै पुनर्बहालीको मागसहित मजदूरले श्रम कार्यालय विराटनगरमा आइतवार कम्पनीविरुद्ध उजुरी दिएका हुन् । कम्पनीले शुक्रवार नियमित काममा गएका १२६ जना मजदूरलाई गेटबाट भित्र पस्न नदिएको बताइएको छ । यस्तै शनिवार काम गर्न गएका थप ५८ जनालाई समेत प्रवेश नदिएपछि एक वर्षदेखि नियमित काम गर्दै आएका मजदूर कामविहीन भएका छन् । कम्पनी व्यवस्थापनले ठेकेदारका ज्यालादारीमा काम गर्ने मजदूर भएकाले काम दिनुपर्ने अनिवार्यता नरहेको बताएपछि मजदूरले श्रम कार्यालयमा उजुरी दिएका हुन् ।

नेपाल कारखाना श्रमिक संघ आरती स्ट्रीप इकाइ समितिका अध्यक्ष सुरेशकुमार साहको अगुवाइमा श्रम कार्यालय पुगेका मजदूरले कम्पनीले क्षतिपूर्ति सहित पुनर्बहाली गर्नुपर्ने माग गरेका छन् । तत्काल मजदूरलाई पुनर्बहाली गर्न श्रम कार्यालयले कम्पनीलाई आइतवार नै पत्र काटेको छ ।

निकालिएका सम्पूर्ण मजदूरलाई पुस १४ गते बेलुका ४ बजेभित्र पुनर्बहाली गरी पुस १५ गतेभित्र श्रम कार्यालयलाई लिखित जानकारी दिन वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले आरती स्ट्रीपलाई लिखित आदेश दिएका छन् । त्यसो नगरिए श्रम ऐनको दफा १६७ बमोजिम कारबाही समेत गरिने बेहोरा पत्रमा उल्लेख छ ।

कम्पनीमा काम गर्न शुक्रवार र शनिवार गएका मजदूरलाई प्रहरी लगाएर गालीगलौज गरेर गेटबाट खेदाइएको अध्यक्ष साहको भनाइ छ । कम्पनीमा करीब ४०० भारतीय मजदूर कार्यरत छन् । गोप्य रूपमा काम गर्ने भारतीय मजदूरलाई बढी तलब र सुविधा दिएर राखिएको, राम्रो काम दिइएको तर नेपाली मजदूरलाई भने तल्लो स्तरको, कम सुविधा भएको काम मात्र लगाइएको आरोप मजदूरले लगाएका छन् ।

आरती स्ट्रीपका प्रशासन प्रमुख दिवश नेपालले दैनिक ज्यालादारीमा काम गर्ने लोड–अनलोडका मजदूरलाई मात्र रोकिएको बताए । कर्कट पाता उत्पादन गर्ने एउटा प्लान्ट मर्मत भइरहेकाले लोड–अनलोड काम गर्ने मजदूर नचाहिएकाले कम्पनी प्रवेशमा रोक लगाइएको उनले जिकीर गरे । स्थायी रूपमा काम गर्ने मजदूरलाई भने नरोकिएको उनकोे दाबी छ । ‘ट्रेड युनियन इकाइ नवीकरण गर्न केही दैनिक ज्यालादारीका मजदूरलाई पनि सदस्यता दिइएको र उनीहरूलाई रोकेको बेला युनियनले बोलेको मात्र हो, स्थायी मजदूर निकालिएको होइन,’ उनले भने । प्रशासन प्रमुख नेपालको भनाइ खण्डन गर्दै अध्यक्ष शाहले निकालिएका मजदूर सीधै काम गरिरहेका र ठेकेदार मार्फत काम गरिरहेका कुनै ज्यालादारी मजदूर नभएको बताए । ‘ज्यालादारीमै काम गर्ने मजदूरलाई पनि २४० दिन लगातार काम लगाएपछि श्रम ऐन अनुसार स्वतः स्थायी गरिनुपर्छ,’ उनले भने, ‘तर उनीहरूलाई अहिलेसम्म स्थायी गरिएको छैन । बरु श्रम ऐनले तोकेको भन्दा कम ज्याला दिएर काममा लगाइएको छ ।’

कम्पनीभित्र काम गरेको भनिएका आरएस, विवेक कर्ण, सोनु, बिजेन्दर, कोशीगंगा र भोला गरी ६ ठेकेदारले मजदूर आपूर्ति गरेको कागजमा देखाइए पनि उनीहरू कोही पनि राज्यबाट अनुमति प्राप्त ठेकेदार नभएको अध्यक्ष साहले बताए । ‘उद्योगले श्रम ऐनअनुसारको सेवासुविधाबाट श्रमिकलाई वञ्चित गर्न ठेकेदारका श्रमिक भनेर देखाएको मात्र हो,’ उनले भने ।

भारतका विहार, पश्चिम बंगाल र भुटानको बजारलाई समेत लक्षित गरेर सन् २००२ मा स्थापना भएको आरती स्ट्रीपका उत्पादन फलामे डण्डी, पाइप र कर्कटपाता काकडभिट्टा नाका हुँदै हुने निकासी घटेको मेची भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ । वार्षिक ४० करोड राजस्व बुझाउँदै आएको कम्पनीको पछिल्लो समय बजार खस्कँदै गएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)