ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२४ करोडको लगानीमा भेडेटारमा स्काईवाक निर्माण हुँदै

२०७७ पौष, १३  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

पुस १३, धनकुटा । प्रदेश नम्बर १ कै प्रमुख पर्यटकीय क्षेत्र भेडेटारमा स्काईवाक निर्माण हुने भएको छ । 

प्रदेश सरकारको अगुवाइमा तथा निजी क्षेत्रको लगानीमा भेडेटारमा स्काईवाक निर्माण हुने भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा साँगुरीगढी गाउँपालिका, धरान उपमहानगरपालिका र प्रदेश लगानी प्राधिकरणबीच भेडेटार स्काईवाक परियोजना निर्माण तथा सञ्चालनबारे समझदारीपत्रमा हस्ताक्षर भएपछि भेडेटारमा स्काईवाक निर्माण हुने भएको हो । 

भेडेटारको पुर्वाधार विकासको लागि वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालि बुढीगंगा मोरङले स्काईवाक निर्माण गर्ने भएको छ । प्रदेश सरकारले भेडेटारमा स्काईवाक निर्माणका लागि प्रस्ताव आव्हान गरेकोमा आफ्नो कम्पनी छनौट भएको प्रालिका प्रोजेक्टर डाइरेक्टर सञ्जीव रोक्काले बताए । 

धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको सीमानामा रहेको चार्ल्स प्वाइन्ट नजिकै सीसाको ४० मिटर बाटो बनाएर मान्छे हिडाइने रोक्काले बताए । 

स्काईवाक निर्माणका लागि साँगुरीगढी गाउँपालिका र धरान उपमहानगरपालिकाबाट कानूनी प्रक्रिया सम्पन्न भएर प्रदेशको लगानी प्राधिकरणबाट छनौट भई २४ करोडको लगानीमा स्काईवाक बन्ने उनले बताए । स्काईवाकका लागि वातावरणीय प्रभाव मूल्यांकन र विस्तृत अध्ययन प्रतिवेदनको काम भइसकेको छ ।

भेडेटारको चार्ल्स भ्यूटावरमा निर्माण हुने स्काईवाक दक्षिण एशियाकै पहिलो साहसिक पर्यटकीय परियोजना हुने र स्काईवाक निर्माण भएपछि पर्यटकीय गतिविधि बढ्ने होटल एसोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । 

स्काईवाक निर्माणका लागि साँगुरीगढी गाउँपालिकाले चार्ल्स भ्यूटावरले उत्तरतर्फ चर्चेको र धरान उपमहानगरपालिकाले दक्षिणतर्फ चर्चेको आवश्यक जग्गा प्रालिलाई लिजमा उपलब्ध गराउने भएका छन् । परियोजनालाई आवश्यक नक्सा, वातावरणीय प्रभाव मूल्यांकनसहित अन्य विषयमा प्रदेश लगानी प्राधिकरणको अगुवाइ हुने भएको छ । 

लिजको समय अवधि, निर्माण तथा सञ्चालनको ढाँचा लगायत विषयमा परियोजना सञ्चालन पछि परियोजनाको रोहबरमा टुंग्याउने समझदारी पत्रमा उल्लेख छ । स्काईवाक प्रदेश सरकारको अगुवाईमा निजी क्षेत्रको लागतमा निर्माण हुने साँगरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याख्खाले जानकारी दिए । स्काईवाक निर्माणका लागि गाउँपालिकाले जस्तोसुकै सहयोग गर्ने याख्खाले बताए ।

वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालिले काठमाडौंको कमलादीमा दुईसय करोडको लगानीमा गतवर्ष देखि स्काइवाक निर्माणको काम गरिरहेको प्रालिका प्रोजेक्टर डाइरेक्टर रोक्काले बताए । प्रालिले सातओटै प्रदेशमा पर्यटनसँग सम्बन्धित क्षेत्रमा काम गरिरहेको प्रोजेक्टर डाइरेक्टर रोक्काले बताए । 

चीनमा प्रख्यात रहेको स्काइ वाक नेपालको लागि भने नयाँ हो । भेडेटारमा स्काईवाक निर्माण हुने भएपछि पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)