ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विवाद सुल्झिएसँगै दुहबी–तरहरा सडक निर्माण अघि बढ्दै

२०७७ पौष, १६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । लामो समयदेखि विवादमा परेको रानी–विराटनगर–इटहरी–धरान सडक निर्माणले गति लिने भएको छ । सुनसरीको दुहबीदेखि तरहरासम्मको सडक मापदण्डमा पर्ने घरहरूको मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै ६ लेन उक्त सडक निर्माण अघि बढ्ने भएको हो ।

आउँदो माघ महीनाभित्र सकिने गरी सडक क्षेत्रभित्र पर्ने करीब ६०० भौतिक संरचना हटाउने तयारी भइरहेको आयोजना प्रमुख बद्रीप्रसाद शर्माले बताए । पहिलो चरणमा लगत संकलनको कार्य शुरू गरिएको र केही ठाउँहरूमा सकिएको उनले जानकारी दिए ।

लामो समयदेखि विवादित बनेको सडक विस्तारको काम अघि बढाउन स्थानीय सरकार, राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासी र मालपोत कार्यालयको प्रमुख र प्रहरी प्रशासनबीच छलफल भएको थियो । छलफलमा जग्गाको मुआब्जा दिन नसकिने तर घरहरूमा भएको क्षति संकलन गरी मुआब्जा दिने सहमति भएपछि काम अघि बढेको आयोजनाका प्रमुख शर्माले बताए ।

स्थानीयवासीले जग्गाको पनि मुआब्जा मागेपछि सो क्षेत्रमा सडक निर्माण रोकिएको थियो । तर सहजीकरण भएसँगै अब कामले तीव्रता पाउने आयोजना प्रमुख शर्माको भनाइ छ । कामलाई शान्तिपूर्वक सम्पन्न गराउन र लगत संकलन गरी सम्बन्धित ठाउँमा बुझाउन नापी कार्यालय सुनसरी र दुहबी नगरपालिकालाई पत्राचार समेत गरिसकिएको बताइएको छ ।
राजमार्ग निर्माण प्रक्रिया अघि बढेसँगै सुनसरीको दुहबी बजारमा मात्रै २३३ भन्दा बढी घर भत्किने भएका छन् । त्यस्तै टेंग्रा पुल छेउ ४७, इटहरी चोकदेखि दक्षिण विराटनगर लाइनमा ३५ घर भत्काउनुपर्ने छ । इटहरी चोक उत्तर तरहरासम्मको बाटोमा ११९ ओटा घर भत्काइसकिएको छ ।  

यता, चारकोसे झाडी क्षेत्रमा भने रूखहरू काट्ने काम सकिएको र गिट्टी बिछ्याउने काम शुरू हुने आयोजनाले बताएको छ । १० अर्ब रुपैयाँ लागतमा बन्दै गरेको रानी– विराटनगर–इटहरी–धरान व्यापारिक सडक आयोजना निर्माण शुरू भएको ७ वर्ष बितिसक्दा ४५ प्रतिशतमात्र सम्पन्न भएको छ । परियोजना सम्पन्न गराउन २०७७ असार ५ गते रौताहा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको छ । कम्पनीले आगामी २०८० असार ४ गतेसम्ममा काम सम्पन्न गरिसक्नु पर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)