सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सुविधासम्पन्न आयुर्वेद चिकित्सालय बन्ने भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई प्रवर्द्धन एवं विस्तार गर्न संघीय सरकारले वीरेन्द्रनगरमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल बनाउन लागेको हो । पहिलो चरणमा २२ करोड ६० लाख रुपैयाँको लागतमा प्रदेश आयुर्वेद औषधालयको हाताभित्र उक्त अस्पताल बनाउन प्रारम्भिक प्रक्रिया शुरू भएको छ । अस्पताको नाप, नक्सा, इस्टिमेट पूरा भएर टेण्डरको अन्तिम प्रक्रियामा रहेको संघीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतका इन्जिनियर टीकाराम पोखरेलले जानकारी दिए । उनका अनुसार कुनै अवरोध नआए पुस दोस्रो साताभित्र चिकित्सालय भवनको टेण्डर आह्वान गर्ने तयारी भइरहेको छ ।
प्रदेश आयुर्वेद औषधालय सुर्खेतका प्रमुख डा. शंकरप्रसाद रिजालले सातओटै प्रादेशिक आयुर्वेद अस्पताल बनाउने केन्द्र सरकारको नीति अन्तर्गत सुर्खेतमा पनि सुविधासम्पन्न आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनाउन लागिएको बताए । आयुर्वेदिक सर्जरी, उपचारसहित वैकल्पिक चिकित्साका विभिन्न विधासमेत समेटी प्रदेश सरकार मातहत रहने गरी अस्पताल बनाउन लागिएको उनको भनाइ छ । साविकको ‘प्रदेश आयुर्वेद औषधालयलाई नयाँ संरचनामा ‘वैकल्पिक चिकित्सा’ थपेर ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सालय’ बनाइएको उनले बताए । उनका अनुसार होमियोप्याथी तथा आम्ची चिकित्सा शाखा, प्राकृतिक तथा अकुपञ्चर चिकित्सा शाखासमेत थप्ने योजना छ ।
आयुर्वेदका विद्यमान स्वास्थ्य संस्थाहरूबाट ९० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भनिए पनि हाल २३ प्रकारका औाषधि मात्रै १२ महीनै उपलब्ध गराउन सकिएको डा. रिजालले बताए । ‘बजेट कम हुँदा सबै औषधि सधैं पु¥याउन सकिएको छैन,’ उनले भने । आयुर्वेदलाई मौलिक, भरपर्दो र साइड इफेक्टरहित चिकित्सा पद्धति भनिए पनि यो सरकारको प्राथमिकतामा पर्न नसकेको उनले बताए । आयुर्वेद विभाग नै खडा गरिए पनि स्वास्थ्य सेवाको कुल बजेटको करीब ४ प्रतिशत मात्रै आयुर्वेदले पाउने गरेको उनको भनाइ छ ।
प्रत्येक प्रदेशमा आयुर्वेद चिकित्सालय निर्माण गर्ने सरकारी योजनानुसार सुर्खेतमा सुविधासम्पन्न चिकित्सालय बन्न लागेको र यसलाई आफूहरूले प्रदेशको गौरवको योजनाका रूपमा लिएको प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले बताए । उनले प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा दैनिक आकस्मिकसहित बहिरंग सेवा, शल्यचिकित्सा कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशाला सेवाजस्ता पूर्वाधार निर्माण हुने बताए ।