ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटकको पखाईमा हलहले पटेक डाँडा

२०७७ पौष, १७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

धनकुटा । सरकारको १०० गन्तव्य सूचीमा पर्न सफल धनकुटाको पटेक डाँडा पछिल्लो समय सुनसान बनेको छ । पर्यटकीय पूर्वाधार भएर पनि प्रचारप्रसारको कमीले पटेक डाँडा पर्यटक नआएपछि स्थानीयले प्रचारप्रसार गरिदिन माग गरेका छन् ।

कोशी राजमार्गमा पर्ने सिधुवा बजार नजिकै रहेको यो डाँडामा करीब २० मिनेटको पैदल यात्रा तथा १० मिनेट साना सवारीसाधनमा पुग्न सकिन्छ । प्रचारप्रसारकै कमीले पटेक डाँडामा पर्यटक कम भएको स्थानीय प्रकाश तामाङको भनाइ छ । यहाँ दैनिक १० देखि २० जना मात्र पर्यटक आउने गरेको उनले बताए ।

‘सरकारको १०० गन्तव्यमा परेको ठाउँमा यति मात्र पर्यटक आउँछन् भने अन्यत्र कस्तो होला ?’ उनले प्रश्न गरे । गन्तव्य सूचीमा पर्नु मात्र महत्त्वपूर्ण नभएको भन्दै उनले प्रचारप्रसार हुनुपर्नेमा जोड दिए ।

पटके डाँडा धनकुटाको सबैभन्दा बढी उचाइ भएको स्थान हो, जसको उचाइ करीब २६ सय ५० मिटर छ । यो डाँडाबाट मकालु र कुम्भकर्ण हिमश्रृंखलासहित धनकुटाका विभिन्न स्थान देख्न सकिन्छ । यो डाँडा खासगरी सूर्योदय र सूर्यास्त अवलोकनका लागि प्रख्यात छ । पर्यटकीय गन्तव्यको प्रचार सम्भावना रहेकोले यस स्थानमा थप भौतिक पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा सरकारले ध्यान दिनुपर्ने स्थानीय होमबहादुर विष्टले बताए । डाँडामा पुग्न ४२० मिटर रेलिङ सहितको पक्की सिँढी निर्माण गरिएको छ । संघीय सरकार र प्रदेश सरकारको १ करोड ३४ लाख लगानीमा भौतिक पूर्वाधारका काम भएको हलहले पटेक डाँडा निर्माण समितिका अध्यक्ष गोमा कार्कीले बताइन् । अब १८० मिटर रेलिङ सहितको पक्की सिँढी निर्माण गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

पटेक डाँडामा भ्यूटावर, ठाउँठाउँमा पिकनिक स्थल र बहुसांस्कृतिक मठमन्दिर निर्माण गर्ने तयारी भइरहेको र पर्यटक भित्र्याउन स्थानीय सरकारले काम गरिरहेको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए । अध्यक्ष लिम्बूका अनुसार सिँढी निर्माण शुरू भएको स्थानसम्म गाउँपालिकाले सडक स्तरोन्नतिको योजना बनाएको छ । कोशी राजमार्गदेखि सिँढी निर्माण भएको ठाउँसम्म सडक अप्ठ्यारो भएकाले पनि पर्यटक पुग्न समस्या भएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)