ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा घरेलु उद्योग दर्ता गर्ने बढे

२०७७ पौष, १७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा बन्दाबन्दीपछि घरेलु तथा साना उद्योग व्यवसाय दर्ता गर्नेको संख्या बढेको छ । कोरोना संक्रमणपछि गरिएको बन्दाबन्दी खुलेसँगै जिल्लामा उद्यम व्यवसाय दर्ता हुने क्रम बढेको हो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानमा पछिल्लो समय व्यवसाय दर्ता गर्ने सेवाग्रही बढेको कार्यालयले जनाएको छ ।

चालू आर्थिक बर्षको पहिलो चौमासिकमा २ सय २८ जनाले फर्म दर्ता गराएका छन् । दर्ता फर्ममध्ये कृषि तथा पशुपक्षी र वनतर्फ मात्रै १ सय ८४ वटा रहेका छन् । निजी फर्म २ सय २४ र साझेदारी फर्म ४ वटा रहेका छन् ।

यी फर्ममा कुल पुँजी ३८ करोड २४ लाख ६७ हजार रहेको कार्यालयका सूचना अधिकारी धु्रवबहादुर खत्रीले जानकारी दिए । ‘कोरोनापछि पछिल्लो समय जिल्लामा फर्म दर्ता गर्नेहरूको संख्या धेरै छ । पहिलो चौमासिक तथ्यांक हेर्दा अहिले नै झन्डै गत वर्षभरिकै फर्म दर्ता भइसकेका छन्, जसमा कृषि तथा पशु र वन क्षेत्रसँग सम्बन्धित उद्योग धेरै दर्ता भएका छन्,’ उनले भने, ‘वैदेशिक रोजगारीबाट घर फर्किएका युवाको आकर्षण धेरै देखिन्छ ।’

यस आर्थिक वर्षको पहिलो चौमासिकमा कार्यालयले झन्डै ६ लाख रुपैयाँ राजस्व संकलन गरेको उनले जानकारी दिए । ‘विगतको तुलनामा यो अवधिमा न्यून राजस्व संकलन भएको छ ।  यसको मुख्य कारण भनेकै दर्ता नवीकरणमा राजस्व कम लिने नीति बन्नु र जिल्लामा महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढ्नु हो,’ उनले भने ।

उनले फर्म दर्ता गर्दा पुरुषको भन्दा आधा राजस्व लाग्ने भएकाले पनि महिलाको नाममा दर्ता गर्नेको संख्या धेरै भएको जानकारी दिए ।

अहिले दर्ता भएका उद्योगले ७३ महिला र १ सय ११ पुरुष गरी १ सय ८४ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

सूचना अधिकारी खत्रीका अनुसार यस वर्ष जिल्लामा झन्डै ३ सय नागरिकलाई सीपमूलक तालिम दिने तयारी छ । ‘जिल्लाका दस वटै स्थानीय तहसँगको समन्वयमा मागको आधारमा सीपमूलक तालिम सञ्चालन गर्ने तयारी भइरहेको छ’, खत्रीले भने ।

संघीय, प्रदेश र स्थानीय सरकारले कृषिमा दिने अनुदान लिन अनिवार्य फर्म दर्ता गरेको हुनुपर्ने प्रावधानका कारण उद्योग दर्ता गर्नेहरूको संख्या बढेको हो । दर्ता गरेका अधिकाशंले कुनै न कुनै सरकारबाट अनुदान लिएका छन् भने केही प्रक्रियामा छन् । अनुदान लिनकै लागि उद्योग दर्ता गर्ने लहर चलेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)