ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषि पकेट क्षेत्रमा कुलो सिँचाइ योजना शुरू

२०७७ पौष, २०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । २ वर्षअघि सरकारले कृषि पकेट क्षेत्रको रूपमा घोषणा गरेको धरान–६ पानबारीमा कुलो सिँचाइ योजना शुरू भएको छ । सिँचाइ सुविधा नहुँदा कृषि उत्पादनमै ह्रास आउन थालेपछि हालै एक कार्यक्रम बीच पानबारीमा सेरा सेउती मूल कुलो सिँचाइ योजनाको शिलान्यास गरिएको छ ।

योजना सम्पन्न भएपछि कुलो हुँदै सिँचाइको पानी किसानको खेतमै आइपुग्ने स्थानीय हरि राईले बताए । ‘बीचमा चुहावट नहुने भएकाले धेरै लाभ लिन सकिन्छ,’ उनले भने, ‘कुलो भएको ठाउँमा बाटो पनि भएकाले ड्रेनको पनि काम गर्नेछ ।’

मूल कुलो सिँचाइ योजना प्रदेश १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय इनरुवाले निर्माण गर्न लागेको हो । कार्यालयका अनुसार डायनामिक कन्स्ट्रक्सन प्रालि भरतपुर चितवनले भ्याटबाहेक ३ करोड ६१ लाख ९४ हजार ४३६ रुपैयाँमा यसको ठेक्का पाएको छ । यो योजनाको इस्टिमेट भने ५ करोड ६२ लाख ८९ हजार ५२ रुपैयाँको थियो । कम्पनीसँग २०७६ माघ २४ गते भएको सम्झौता अनुसार योजना २०७८ वैशाख २९ भित्र काम सम्पन्न गर्नुपर्नेछ ।
कम्पनीले बजेटबाट लाइनिङ, ग्याबिन, रोड कल्भर्ट, फल स्ट्रक्चर, डिभिजन बक्स र मूल कुलो निर्माण गर्नेछ । मूल कुलो १५ सय मिटरको हुन्छ भने थप तीन शाखा कुलो गरी करीब २ किलोमिटर निर्माण गरिने डिभिजन कार्यालयले बताएको छ । शाखा कुलोमध्ये एउटा १ किलोमिटरको हुनेछ भने २ ओटा ५०० मिटरको निर्माण हुनेछ ।
उपभोक्ता मार्फत ५८ लाख ३४ हजार ३६ रुपैयाँ बराबरको काम हुनेछ । यसमध्ये २४ लाख २३ हजार १ सय रुपैयाँ बराबरको श्रमदान हुनेछ भने सिँचाइ कार्यालयबाट ३५ लाख ४० हजार ६२१ रुपैयाँ लगायत खर्च हुनेछ । यो कामका लागि उपभोक्ता समितिसँग मङ्सिर २२ गते सम्झौता भएको थियो ।

योजना अन्तर्गत नै उपभोक्ता समितिमार्फत पनि काम गर्न शालिकराम बजगाईंको अध्यक्षतामा सेरा सेउती मूल कुलो निर्माण उपभोक्ता समिति गठन गरिएको छ । शिलान्यास कार्यक्रममा १ नम्बर प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले जनताको आवश्यकता बमोजिम विकास निर्माणको काम निरन्तर भइरहेको बताए । उनले योजना समयमै निर्माण सम्पन्न हुने अपेक्षा पनि व्यक्त गरे ।

सिँचाइ योजनाको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले शिलान्यास गरेका हुन् । योजनाको काम एउटा ठेक्का मार्फत हुँदै छ भने अर्को उपभोक्ता समिति मार्फत हुँदै छ । कुलो सिँचाइ योजना पूरा भएपछि वडा नं ६ का किसान प्रत्यक्ष लाभान्वित हुनेछन् । वडा नं ६ मा मात्र ४०० बिगाहाभन्दा बढी जमीनमा खेती हुने गरेको अनुमान छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)