पुस २३, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अत्याधुनिक शिक्षण अस्पताल सञ्चालन गर्ने विश्वविद्यालयले जानकारी दिएको छ ।
हाल सम्पन्न विश्वविद्यालयको दशौं सभा (सिनेट) ले विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल खोल्ने कानूनी बाटो खुलेको हो । नयाँ शैक्षिक शत्रदेखि नै पठनपाठन गर्नेगरी विश्वविद्यालयले थप चार ओटा संकाय पनि सञ्चालन गर्न लागेको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए ।
उपकुलपति सिंहका अनुसार स्वास्थ्य विज्ञान, कृषि तथा वन विज्ञान संकाय, अनुसन्धान र विकास केन्द्र र कर्णाली आदिवासी ज्ञान सीप तथा प्रविधि शिक्षालय थपिने भएका छन् । जसमध्ये स्वास्थ्य विज्ञान संकायतर्फ नयाँ शैक्षिक शत्रदेखि वीपीएच, बीएससी नर्सिङ र बीए नर्सिङ र कृषि तथा बन विज्ञान संकायतर्फ वीएससी एजीको पठनपाठन गरिनेछ ।
पहिलो वर्ष स्नातक तहमा चार वर्षे कार्यक्रम अन्तरगत बीएससी एजी, बीपीएच, बीएससी नर्सिङ र बीए नर्सिङको पढाइ हुनेछ । शिक्षण अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले आगामी दुई वर्षभित्र स्नातकोत्तर तहमा एमबीबीएससमेत शुरु गर्नेछ ।
हाल विश्वविद्यालयमा मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन र विज्ञान तथा प्रविधि र इन्जिनियरिङ संकायको पठनपाठन हुँदै आएको छ । यो सँगै अब विश्वविद्यालयमा ८ ओटा संकायको पठनपाठन हुनेछन् ।
अध्ययन, अनुसन्धान, अस्पताल र कृषि तथा वन विज्ञानलाई मध्यनजर गर्दै चालू आर्थिक वर्षमै अत्याधुनिक प्रयोगशालाहरु निर्माण गरिने उपकुलपति सिंहले जानकारी दिए । त्यस्तै अनुसन्धान विकास केन्द्र र कर्णाली आदिवासी ज्ञान सिप तथा प्रविधि शिक्षालयले पनि पठनपाठन गर्नेछन् । यी दुवै संकाय नेपालमा पहिलो पटक सञ्चालनमा आउन लागेका हुन् ।
आफ्नै ‘सुरक्षा इकाई’
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नै ‘सुरक्षा इकाई’ बनाउने भएको छ । सिनेटले सुरक्षा युनिट सम्बन्धी प्रस्ताव पास गरेपछि विश्वविद्यालयलाई ‘सुरक्षा इकाई’ राख्ने बाटो खुलेको हो । विश्वविद्यालयको आन्तरिक सुरक्षा रेखदेखका लागि आफ्नै ‘सुरक्षा इकाई’ बनाउन लागिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. सिंहले जानकारी दिए ।
‘विश्वविद्यालयको आन्तरिक सुरक्षा र भौतिक सम्पत्तिको रक्षा गर्न ‘सुरक्षा इकाई’ आवश्यक छ । सिनेटले ‘सुरक्षा इकाई’ गठनको प्रस्ताव पास गरेको छ,’ सिंहले भने । यो सँगै विश्वविद्यालयले अब १५ देखि २५ जनाको ‘सुरक्षा इकाई’ बनाउने छ । ‘सुरक्षा इकाई’ले विश्वविद्यालयको भौतिक सम्पत्तिको संरक्षण, क्याम्पस तथा प्रशासनिक निकायमा सुरक्षा प्रदान गर्नेछ । इकाईमा सैन्य तालिम प्राप्त र ५० वर्ष उमेरमुनिका जनशक्ति राखिने छ ।
पूर्व नेपाल आर्मी, नेपाल प्रहरी, भारतीय सेना वा जुनसुकै देशमा मान्यता प्राप्त सुरक्षा संगठनमा काम गरेका र युवा जनशक्तिलाई ‘सुरक्षा इकाई’मा भर्ना गरिने विश्वविद्यालयले जानकारी दिएको छ ।