ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर विमानस्थल विस्तारका लागि सर्भे शुरू

२०७७ पौष, २६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि सर्भे शुरू भएको छ । क्षेत्रीय र पछि अन्तरराष्ट्रिय स्तरको बनाउने लक्ष्य राखिएको यो विमानस्थललाई आवश्यक पर्ने १२६ दशमलव ४६ बिगा जमीन अधिग्रहणका लागि सर्भेको काम थालिएको हो । विमानस्थल क्षेत्रीय स्तरको हुँदा मोरङको विराटनगर महानगरपालिका–४ र सुनसरीको बर्जु गाउँ पालिकासम्म विस्तार हुनेछ । क्षेत्रीय स्तरको निर्माण सम्पन्न हुँदा नेपालको दुई जिल्ला छुने यो एकमात्र विमानस्थल बन्नेछ । यसअघि कात्तिक २७ गते विमानस्थल विस्तारका लागि आवश्यक पर्ने १२६ दशमलव ४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त विमानस्थलको धावनमार्ग विस्तार गरेर २ हजार ५०० मिटर लामो बनाउने लक्ष्य राखेको छ ।  

विमानस्थल विस्तारका लागि जग्गाबाहेक १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । ५ वर्षभित्र टर्मिनल भवन निर्माण तथा रनवे स्ट्रिप विस्तारका लागि ४ अर्ब र सन् २०२४–२०२६ मा बस्ताखोलाको पानी तीन किलोमिटर डाइभर्शन, एप्रोच लाइट व्यवस्थापन लगायतका लागि २ अर्ब लाग्ने अनुमान छ । सन् २०२७–२०३० मा ७ अर्ब बराबरको थप संरचना निर्माण गरिने योजना छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले विमानस्थल विस्तारका लागि भए/गरिएका प्रारम्भिक कामको शुक्रवार जानकारी लिएका थिए । विराटनगर विमानस्थलका प्रमुख उत्सवप्रसाद खरेलले नापी कार्यालय मोरङले बिहीवार मात्रै जग्गाको कित्ता नम्बर उपलब्ध गराएको जानकारी दिए । जग्गा अधिग्रहणका लागि मोरङतर्फको ‘बाउन्ड्री सर्भे’ अन्तिम चरणमा पुगेको र सुनसरीतर्फको काम भइरहेको उनले बताए ।

विमानस्थल विस्तारका लागि पूर्वतर्फ ७ दशमलव ८३ बिघा, पश्चिमतर्फ ६९ दशमलव १४ बिघा, उत्तरतर्फ ३५ दशमलव ८१ बिघा र दक्षिणतर्फ ८ दशमलव ८७ बिघा तथा सडकका लागि ३ दशमलव ७० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने एकिन गरिएको प्रमुख खरेलले जानकारी दिए ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले तोकेको मापदण्ड पूरा गर्न विमानस्थलको रनवे स्ट्रिप १४० मिटर चौडाइ आवश्यक पर्नेछ । त्यसबाहेक १४ दशमलव ३ डिग्री स्लोपका लागि २५ मिटर खाली जग्गा हुनुपर्ने इन्जिनियर नलविक्रम थापाले जानकारी दिए । हालको विमानस्थलमा ९५ देखि १४० मिटर चौडाइसम्मको रनवे स्ट्रिप रहेकाले त्यसलाई तत्काल बढाउन विमानस्थलको पूर्वतर्फको भागबाट उत्तर–दक्षिणको जग्गा अधिग्रहण गरिनेछ । पश्चिम क्षेत्रमा विमानस्थलको एप्रोच लाइटका कारण तत्काल विस्तार गर्न नसकिने भएकाले यसलाई दोस्रो चरणका लागि राखिएको छ । क्षेत्रीय तथा अन्तरराष्ट्रिय विमानस्थल विस्तारका लागि केन्द्रीय सरकारको ५० प्रतिशत, प्रदेश सरकारको ४० प्रतिशत र स्थानीय सरकार (विराटनगर महानगरपालिका)को १० प्रतिशत लागत साझेदारी रहनेछ ।

तीन अर्ब लागतमा नयाँ टर्मिनल बन्ने
विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणको प्रक्रिया अगाडि बढेको छ । विस्तारलाई आवश्यक जग्गा अधिग्रहणसँगै सबैभन्दा पहिले टर्मिनल भवन निर्माण गर्न प्रक्रिया अगाडि बढाइएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरण, राष्ट्रिय गौरव आयोजनाका निर्देशक एवं एयरोनटिकल इन्जिनियर विभागका प्रमुख प्रदीप अधिकारीका अनुसार नयाँ टर्मिनल भवनको डिजाइन तयार भइसकेको छ । त्यसको पूर्वमूल्यांकनका लागि सूचना समेत प्रकाशित भइसकेको छ । ३ अर्ब लागतमा साविक विमानस्थलको कार्यालय उत्तरतर्फको जग्गामा निर्माण गरिने भवन आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरू हुँदा प्रयोगमा ल्याउन सकिनेगरी डिजाइन तयार पारिएको अधिकारीले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)