ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा यस वर्ष सुन्तला उत्पादनमा ह्रास

२०७७ माघ, १  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सुन्तलाखेतीबाट राम्रो आम्दानी गर्दै आएका सल्यानका किसान यस वर्ष निराश बनेका छन् । सुन्तलाको उत्पादनमा ह्रास आएपछि आम्दानी घट्ने चिन्ताले उनीहरू निराश भएका हुन् । केही वर्ष अघिदेखि यहाँका किसान परम्परागत कृषिबाली छाडेर व्यावसायिक सुन्तलाखेतीमा लागेका थिए । यस वर्ष सुन्तलाको पात पहेँलो हुँदै जाने र पछि रूख नै सुक्ने समस्याले उत्पादन घटेको किसानहरू बताउँछन् ।

यस वर्ष गतवर्षको तुलनामा निकै कम सुन्तला फलेको बागचौर नगरपालिका–८ कोटमौलाका किसान यज्ञबहादुर चन्दले गुनासो गरे । गतवर्ष करीब ८ लाख रुपैयाँ बराबरको सुन्तला विक्री गरेका उनले यस वर्ष भने मुश्किलले ३ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरे ।

‘राम्रो आम्दानी हुन थालेपछि झन्डै २ दशक अघिदेखि व्यवसायिक सुन्तलाखेती गर्दै आएको छु । यस वर्ष उत्पादन निकै घट्यो,’ उनले भने । साथै सुन्तलाको मूल्य पनि यकिन नभएको र व्यापारी समेत नआएको उनले बताए ।

अर्का किसान भरतनाथ योगीले गतवर्ष ५२७ क्वीन्टल सुन्तला विक्रीबाट ३४ लाख २५ हजार रुपैयाँ आम्दानी गरेका थिए । तर यस वर्ष भने सबै सुन्तला विक्री गरे करीब ८ लाख रुपैयाँ आम्दानी हुने उनको अनुमान छ । सुन्तलाका झन्डै एक हजार बोटका धनी उनले यसको खेती प्रवद्र्धनमा लाखौं लगानी गरेका छन् ।

सुन्तलाखेतीलाई व्यावसायिक बनाउन यहाँका किसानले ‘एक घर, एक नर्सरी’ अभियान समेत सञ्चालन गरेका छन् । जिल्लाका कोटमौला, कोटबारा, दमाचौर, लेखपोखरा, चाँदे, फलावाङ, सेजवालटाकुरा लगायतका स्थानमा सुन्तलाखेती गरिन्छ ।

कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लाभर १ हजार ५२० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुन्छ । फल दिने १ सयभन्दा बढी सुन्तलाका बोट भएका किसानको संख्या ७५० रहेको छ । गतवर्ष जिल्लाको बागचौर नगरपालिकाका–८ र ९ मा सुन्तला पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले ग्रिनिङ भाइरसका कारण जिल्लामा सुन्तला उत्पादनमा कमी आएको जानकारी दिए । ग्रिनिङ भाइरसले सुन्तलाको जरा मर्ने, पात पहेँलो हुँदै झर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्ने जस्ता समस्या आउने देखिएको भनाइ छ । यससँगै सुन्तलाको गोडमेल, जलवायु परिवर्तन लगायत कारणले पनि उत्पादनमा कमी भएको उनले बताए ।

गतवर्ष जिल्लामा १० हजार ६९० मेट्रिक टन सुन्तला उत्पादन भएको र त्यसबाट ५ करोड ४० लाख रुपैयाँ भित्रिएको उनले जानकारी दिए । ‘यस वर्ष सबै क्षेत्रबाट उत्पादन घटेको जानकारी पाएका छौं,’ उनले भने, ‘वास्तविक तथ्यांक आउन केही समय लाग्छ ।’ जिल्लामा उत्पादित सुन्तला दाङ, नेपालगञ्ज, बुटवल लगायत शहर बजारमा निकासी हुने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)