सुर्खेत । सुर्खेतको तातापानी–घाटगाउँ जोड्ने कोसेनीघाट पुलको निर्माण तीव्र पारिएको छ । कुइने–बिजौरा–गुटु–बेनीघाट हुँदै डोटी जोड्ने उद्देश्यले चारअघि शुरू गरिएको उक्त पुल निर्माण अन्तिम चरणमा पुगेको छ । हालसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको ठेकेदार कम्पनी अनक–लुम्बिनी जेभीले बताएको छ ।
कम्पनीका प्रतिनिधि इन्जिनियर दिनेशकुमार श्रेष्ठले कुनै तीन महीनाभित्र पुल निर्माण सम्पन्न हुने बताए । ‘तोकिएको समय भन्दा ६ महीनापहिले नै निर्माण सकेर सरकारलाई जिम्मा दिने लक्ष्य थियो,’ उनले भने, ‘तर कोरोना कहरले निर्माण सामग्री र मजदूर अभावलगायत कारण काममा ढिलाइ भयो ।’ अहिले स्थिति सामान्य बन्दै गएपछि पुल निर्माणले गति लिएको उनको भनाइ छ । पुल निर्माण अवधि २०७८ जेठ मसान्तसम्म रहेको उनले बताए ।
कम्पनीले ४ वर्षभित्र पुल निर्माण गर्नेगरी २०७४ मङ्सिरमा सडक विभाग, पुल महाशाखासँग भ्याटबाहेक ३४ करोड ४३ लाख रुपैयाँमा सम्झौता गरेको थियो । पुलको लम्बाइ ३०० मिटर र चौडाइ ११ मिटर छ । रेलिङ, फुटफाथ र दुईतिर सडक पेटी बनाइएका छन् । पुल निर्माणले पञ्चपुरी नगरपालिका–११ को कौसेनी घाट र चौकुने गाउँपालिका–९, बेलगौडाको आर्थिक समृद्धिमा महŒवपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । पञ्चपुरी नगरपालिका–१० का अध्यक्ष हरि ढकालले पुल निर्माणबाट भेरी र कर्णाली नदी किनारका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने बताए । उनका अनुसार यो पुल निर्माणसँगै साविक तातापानी, घाटगाउँ, गुटु र बिजौरा गाविसका बासिन्दाका लागि वैकल्पिक सडक बनाइनेछ ।
स्थानीय प्रेम बडुवालले अब प्रस्तावित औद्योगिक नगरी गुटुसँगको आर्थिक तथा सामाजिक सम्बन्ध प्रगाढ बढाउन रागमा पक्की पुल बनाउन आवश्यक रहेको बताए । चिसापानी–गुटु–मंगलसेन फास्ट ट्र्याकका लागि राग र जंगलाघाटमा पक्की पुल निर्माण अपरिहार्य रहेको बताए । उनका अनुसार चिसापानी–गुटु–मंगलसेन फास्ट ट्र्याक निर्माणले पहाडी जिल्लाका बासिन्दालाई निकै राहत पुग्नेछ । ‘पश्चिम सुर्खेतका बासिन्दा किनमेल गर्न कैलालीको चिसापानी लगायत बजार पुग्नुपर्ने बाध्यता छ,’ तातापानीका स्थानीय धनबहादुर माझीले भने, ‘भेरी नदीमा पुल नभएकाले उनीहरूलाई ओहोरदोहोरमा निकै समस्या हुने गरेको छ । पुल बनेपछि उनीहरू सहजै कैलालीको चिसापानी लगायत ठाउँमा पुग्न सक्नेछन् ।