सुर्खेत । सरकारले ०७५ जेठमा चुरे क्षेत्र हुँदै पूर्व–पश्चिम जोड्ने राजमार्गलाई मदन भण्डारी राजमार्गका रूपमा विकास गर्ने लक्ष्य लिएसँगै सुर्खेतबासी समृद्धि भित्रिने प्रतीक्षामा छन् । मदन भण्डारी राजमार्गले चुरे क्षेत्रका विकट भेगलाई जोड्छ ।
समयमै राजमार्ग निर्माण भए आधारभूत सुविधाका लागि भौतारिएका जनतालाई सहज हुने पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका समाजसेवी काशीराम देवकोटा बताउँछन् ।
‘बर्खामा हामी बिजु र गुटु खोलाले थुनिएका हुन्छौं । कोही बिरामी प¥यो भने पनि अस्पताल लैजान सक्ने अवस्था छैन । आफ्नै सदरमुकाम पुग्न पनि बर्खाको भेलले छेक्छ । वीरेन्द्रनगर हाम्रो दैनिक गुजारा चलाउने ठाउँ हो । केटाकेटीले शिक्षादिक्षा पनि वीरेन्द्रनगरमै लिन्छन्,’ उनले भने, ‘राजमार्गसँगै पश्चिम सुर्खेतका सबै खोलामा पुलसँगै राजमार्ग बन्ने अपेक्षामा छौं ।’ सुर्खेतमा मदन भण्डारी राजमार्गअन्तर्गत मालारानीको काल्चेदेखि चौकुने गाउँपालिकाको बेनीघाटसम्मको सडक पर्दछ । त्यसमध्ये पहिलो चरणमा बड्डीचौरदेखि पश्चिम बेनीघाटसम्मको ९४ किलोमिटर सडकको डीपीआर बनाउने काम पूरा भइसकेको छ ।
यही राजमार्गको पूर्वी क्षेत्रमा पर्ने धुलियाबिट–भेडाबारी खण्डको ३७ किलोमिटर सडकमा पनि डीपीआर पुनरावलोकनको गर्ने काम सम्पन्न भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत कर्णाली प्रदेशमा सुर्खेत मात्र पर्छ । सुर्खेत खण्डमा १ सय ३२ किलोमिटर सडकको स्तरोन्नति गर्नुपर्ने देखिन्छ । राजमार्ग निर्माणका लागि सुर्खेतका ६ वटा स्थानीय तहमा हाल कुनै विवाद नरहे पनि काम अघि बढ्न सकेको छैन ।
जबकि अन्य प्रदेशमा मदन भण्डारी राजमार्ग आयोजना कार्यालय नै स्थापना भइसकेका छन् । सुर्खेत खण्डमा सर्भेको साइड क्लियर गर्ने कामसमेत सम्पन्न भइसकेको छ ।
पञ्चपुरी नगरपालिकामा केही समस्या देखिए पनि अहिले समाधान भइसकेको छ । पश्चिम बड्डीचौरदेखि बेनीघाटसम्मको कुल ९४ किलोमिटर क्षेत्रको साइडमा कहीं पनि समस्या छैन ।
निर्माण सुरु भएको तीन वर्षभित्र राजमार्ग सक्ने सरकारको योजना छ । तर, ठेक्का प्रक्रियासमेत सुरु भई भएको छैन । बहुवर्षे आयोजनाको रूपमा हेरिएको राजमार्गको पश्चिम सुर्खेत खण्डको बड्डीचौरदेखि बेनीघाटसम्मको सडक दुरावस्थाले सर्वसाधारण वर्षौंदेखि सास्ती भोग्दै आएका छन् ।
सुर्खेतका स्थानीय तहले पश्चिम सुर्खेतमा मदन भण्डारी राजमार्ग बन्ने भएकाले उक्त सडकका लागि मर्मतसम्भारबाहेक अरू कुनै बजेट नछुट्याएको बताउँछन् । चौकुने गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले केन्द्रीय योजनामै समावेश भएको राजमार्ग आयोजनामा पालिकाले हरेक वर्ष मर्मतसम्भारबाहेक अन्य कुनै रकम विनियोजन नगरेको जानकारी दिए ।
संघीय सरकारबाटै देशको पूर्व– पश्चिम जोड्न राजमार्गको काम अघि बढाएकाले गाउँपालिकाको सानो बजेटले कुनै अर्थ नरहने उनको भनाइ छ । शाहीका अनुसार संघीय सरकारले नै पश्चिम सुर्खेतको पक्की सडक अभावलाई पूरा गर्न छिट्टै मदन भण्डारी राजमार्गको काम सुरु गराउनुपर्छ ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले राजमार्ग निर्माणका लागि प्राविधिक सर्भे, सडक डिजाइन र माटो परीक्षणको काम सकिएसँगै अब वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सक्ने र चालू आर्थिक वर्षमै टेन्डर आह्वान गर्ने प्रयासमा रहेको बताए ।
मदन भण्डारी राजमार्गले पश्चिम सुर्खेतको दिशा नै बदल्ने भएकाले तोकिएकै समयभित्र काम सम्पन्न गराउन लागिपरेको उनको तर्क छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अधिकारीका अनुसार यो छुट्टै राजमार्ग नभएको र पहिल्यै बनिसकेका सडकका विभिन्न खण्डलाई जोडेर राजमार्गको रूपमा विस्तार गर्न लागिएको हो । यो राजमार्गको दाङदेखि सुर्खेतको बोटेचौरसम्म कालोपत्रे भइरहेको छ भने बोटेचौरदेखि डडेलधुरासम्मको खण्ड केही चुनौतीपूर्ण छ ।
यो राजमार्गले करिब १ हजार २ सय किलोमिटरमा पूर्व–पश्चिम जोड्नेछ । विभिन्न १० वटा टुक्रे सडकलाई एकीकृत गरी पूर्वदेखि पश्चिमसम्म पु¥याउने गरी मदन भण्डारी राजमार्ग निर्माण गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
यो सडकलाई पूर्व र पश्चिम खण्डमा विभाजन गरिएको छ । मदन भण्डारी राजमार्गलाई पूर्वबाट पश्चिम जोड्दा करिब ५० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।