ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करोडौंको सप्तरंगी पार्क झाडीमा परिणत, नयाँ डीपीआर बनाउने तयारीमा उपमहानगर

२०७७ माघ, २८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

माघ २८, धरान । धरानको पर्यटनको चर्चा हुँदा नछुट्ने ठाउँ हो, सप्तरंगी पार्क । यो पार्क निर्माण शुरु भएको करीब २२ वर्ष बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । धरानको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखेर निर्माण शुरु भएको यो पार्क अहिले झाडीमा परिणत भएको छ । 

करीब ९ बिघा क्षेत्रफलमा फैलिएको पार्कमा खर्च भने ३ करोडभन्दा बढी भइसकेको छ । यो खर्चले केही संरचनाहरु बनाइएको छ, तर उचित स्याहार सम्भारको अभावले ती संरचनाहरु जीर्ण बन्दै गएको छ ।

उपमहानगरपालिकाका अनुसार सन् १९९८ (२०५५ साल) मा बिडिए कन्सल्टेन्टले पार्कको डिजाइन नक्सा बनाएको थियो । डिजाइन अनुसार त्यसबेला ५ करोड लागत अनुमान गरिएको थियो ।

तत्कालिन नगरपालिकाले विभिन्न स्रोत खोजेर पहिलो चरणमा क्रमशः कम्पाउण्ड वाल, ड्रेन एज निर्माण, टिकट घर बनाउने, मुर्ति बनाउने कामहरु गरेको थियो । पछि, शहरी विकास तथा भवन निर्माण विभागले पनि केही पिकनिक सेडहरु बनाइदिएको योजना महाशाखाले जानकारी दिएको छ ।

करोडौ लगानी भइसके पनि पार्कले पूर्णता भने पाउन सकेन । निर्माण शुरु भएको करीब २२ वर्षसम्म लथालिङ अवस्थामा पुगेको सप्तरंगी पार्कको डीपीआर भने अब बन्न लागेको उपमहानगरले जानकारी दिएको छ । ‘२२ वर्ष अगाडी काठमाडौंको कन्सल्टेन्ट बिडिए नेपालले गरेको डिजाइनमा ५ करोडको लागत स्टिमेट तयार गरेको थियो । 

पार्कमा ३ करोड खर्च भइसकेको छ,’ बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले भने, ‘नगरपालिकाले विभिन्न स्रोत जुटाएर विभिन्न चरणमा स्मारक पार्क, वाल उद्यान, कम्पाउण्ड वाल, पिकनिक स्पोर्टलगायत केही संचरनाहरु चै बनेको छ । तर, विविध कारणले बीचैमा रोकियो । अब कसरी बनाउने ? भनेर पुनः नयाँ डीपीआर निर्माणको प्रक्रियामा रहेको छ ।’

धरान–१७ रेल्वेचोकदेखी करिब एक किलोमिटर दूरीमा सप्तरंगी पार्क रहेको छ । पूर्वमेयर स्वर्गीय ध्यान बहादुर राईको पालामा खोलाको बगर रहेको जग्गालाई संरक्षण गरेर पार्कको रुपमा विकास गर्ने उद्देश्यले काम सुरु गरिएको थियो । डिपिआर विना महत्वकांक्षी योजना अगाडी बढाउँदा निर्माण कार्यमा अन्योल सिर्जना भएको वडा कार्यालयको भनाइ छ ।

‘पर्यटनका हिसावले के–के बनाउने? भनेर डीपीआर नै नबनाई काम थालियो, त्यसले गर्दा के बनाउने, के नबनाउने भन्ने बीचमा अन्योल सृजना भयो,’ वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले भने, ‘अब डीपीआर तयार हुँदैछ । विगतमा जस्तो अन्योलता हुँदैन ।’

निर्माणाधिन पार्कको वरीपरी घेराबारा लगाइए पनि संरक्षणको अभावमा पार्कस्थल झाडी, जंगल बनेको छ । पार्क परिसरमा निर्माण गरिएका संरचना लथालिङ अवस्थामा छ । महत्वपूर्ण योजनामा रहेको पार्क निर्माणमा सम्बन्धित पक्षले गम्भीरता नदेखाएको प्रा.डा. राजेन्द्र शर्माको भनाइ छ । 

‘२७ वर्ष अघि ध्यान जी मेयर हुँदा संरक्षण विहीन अवस्थामा रहेको ऐलानी जग्गा नगरपालिकाको अधिनमा ल्याइएको हो । तत्कालिन १० नम्बर वडाध्यक्ष योगेन्द्र लिम्बुले केही मुर्ती बनाउने र केही रुख विरुवा रोप्ने काम भएको थियो । केही संरचना बन्ने क्रममा रोकिएर लथालिङ अवस्थामा छ,’ शर्माले भने ‘अब फेरी थुप्रै कुराहरु समेटेर डीपीआर बनाउन लागेको भन्ने सुन्नमा आएको छ । पीपीपी मोडलमा लगेर निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ त्यो पूरा भयो भने पक्कै पनि एउटा हेर्न लायकको पार्क बन्छ ।’

डीपीआर बनेपछि लामो समयदेखी थातिरहेको पार्कको निर्माण कार्यले अब भने गति पाउने धरान उपमहानगरले जानकारी दिएको छ । पार्कको डीपीआर बन्ने अन्तिम चरणमा पुगेको र कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा समेत छलफल जारी रहेको उपमहानगरको भनाइ छ । ‘उपमहानगरले १५/ २० ओटा डीपीआर तयार गदैछ, त्यसमा सप्तरङगी पार्कको दीर्घकालिन योजनासहितको डीपीआर तयारको लागि टेन्डर आब्हन गरेका छौं । 

कन्सलटेन्टले डीपीआर तयार गरेपछि निजी क्षेत्रको लागि खोल्छौं,’ नगर प्रमुख तिलक राईले भने,‘जो इच्छुक निजी क्षेत्र छ, उसले सम्भाव्यता, विश्वासनीयता हेरेर सम्झौता गरेर लिज प्रक्रियाबाट अगाडी बढाउँछौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)