ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानीयबाटै धरानमा अवैध रूपमा नदीजन्य वस्तु उत्खनन

२०७७ माघ, ३०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । स्थानीय तहको आयस्रोतको रूपमा रहेको नदीजन्य वस्तुको तस्करीमा स्थानीयबासी नै संलग्न हुने गरेका छन् ।

धरान उपमहानगरपालिका क्षेत्रको रहेको सेउती, पटनाली, सर्दु, सेहरालगायत खोलाबाट नदीजन्य वस्तुको उत्खनन र बिक्री हुने गरेको पाइएको हो ।

सुकुम्बासी बस्तीका निम्न आर्थिक अवस्थाका परिवारले खोलाबाट नदीजन्य पदार्थ संकलन गरी बिक्री गरेर परिवारको गर्जो टार्दै आएका छन् । तर, अधिकांश ट्रयाक्टरले भने स्थानीय सरकारबाट कडा अनुगमन र कारबाही नगरेको मौकामा जथाभावी उत्खनन गरेर तस्करी गरिरहेका हुन्छन् ।

खोलामा जथाभावी ढुंगा उत्खनन गरेकै कारण साना मजदुरदेखि लिएर नेता तथा ठूला क्रसर व्यापारी फस्टाउँदै गए पनि धरान उपमहानगर भने करोडौं घाटा बेहोर्न बाध्य छ ।
खोलाको जग्गा बस्ती बनाएर बेच्नेले झन् उपमहानगरको आयआर्जनको बाटो बन्द गरेका छन् । नगरपालिकाले चालू आर्थिक वर्षको ०७७/७८ असारमा टेन्डर खोलेर ठेक्का दिनुपर्नेमा ढिलासुस्ती र बेवास्ता गर्दा तस्करले जथाभावी उत्खनन गरेको वडा–५ का वडाध्यक्ष सन्तोष लिम्बूले बताए ।

धरान–१५ का स्थानीय राजेश मगर भन्छन्, ‘नगरपालिकाले ठेक्का लगाएपछि खोला गहिरिन्छ भनेर हामीलाई विरोध गर्न उचाल्छ, पछि आफंै दिनदहाडै ट्रयाक्टरमा झिकेर लैजान्छ ।’

उपमहानगरले प्रत्येक वर्ष नदीजन्य पदार्थको ठेक्का लगाउँदा स्थानीयबासीले जथाभावी उत्खननले खोला गहिरिने र बाढी आउँदा बस्तीलाई क्षति पु¥याउने भन्दै विरोध र अवरोधसमेत गरेका थिए ।

यस विषयमा ठेकेदार र युवाहरूबीच पटक–पटक झडप भएका घटना पनि छन् । तर, अहिले ठेक्का प्रक्रिया सुरु नै नभएको अवस्थामा पनि दिनदहाडै धरानका विभिन्न खोलाबाट दिउँसै नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन् गरी बिक्री–वितरण भइरहेको छ । ट्रयाक्टरहरूले खोलाबाट नदीजन्य पदार्थको तस्करी गरिरहेका छन् । यसबेला भने न स्थानीय विरोधमा उत्रन्छन्, न त युवाहरू नै अवरोध गर्न पुग्छन् ।

दिनदहाडै नदीजन्य पदार्थको दोहन भइरहँदा राजस्व गुमिरहेकोबारे उपमहानगरपालिका पनि जानकार छ । विपद् तथा वातावरण महाशाखाका प्रमुख भेषराज घिमिरे अनुगमनका क्रममा अवैध रूपमा उत्खनन भइरहेको भेटिए ट्रयाक्टर र व्यक्ति नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही गर्ने बताउँछन् ।

आईईई अध्ययन भइसकेको र चाडै सोही प्रतिवेदनअनुसार धरान क्षेत्रका खोलाको ठेक्का प्रक्रिया सुरु गरिने उनको भनाइ छ । उनले भने, ‘कति उत्खनन गर्न मिल्ने भनेर अध्ययन प्रतिवेदन आईईई प्राप्त भइसकेको छ, त्यहीअनुसार ठेक्का लगाएर आम्दानी बाँध्छौं ।’

सरकारले खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि धरानको सेउती खोलामा ढुंगा, गिटी, बालुवा उत्खनन तथा निकासी तीव्र बनेको छ । यस विषयमा सुनसरीका प्रहरी प्रमुख कमल थापाले खोला आसपासमा उच्च निगरानी बढाएर धरानका सेहरा, अँधेरी र सर्दु खोलाबाट हुने अवैध उत्खनन र तस्करी नियन्त्रणका लागि प्रहरीको छुट्टै विशेष टोली बनाएर २ देखि ३ जना परिचालन गरिने जानकारी दिए ।

खोलामा कडाइ गर्दै नदीजन्य पदार्थको अवैध तस्करी रोक्न प्रहरीले आफ्नो ध्यान केन्द्रित गरेको र उपमहानगरलाई सहयोग गरिने उनले बताए ।

जति पटक पक्राउ परे पनि तस्करीमा प्रयोग भएको साधनलाई जरिवाना भने एउटै तिराइन्छ । त्यसैले अवैध उत्खनन र तस्करी वस्तुको नियन्त्रण चुनौतीपूर्ण बन्ने देखिएकाले जरिबाना बढाउन थापाले सुझाए ।

तस्करी गरेर ढुंगा, गिटी र बालुवा ओसार्ने एउटा ट्रयाक्टरलाई १० हजार रुपैयाँ जरिबाना गरिरहँदा पनि खोलाबाट भइरहेको नदीजन्य पदार्थ तस्करी नियन्त्रणमा आउन नसकेकाले छलफल गरेर अब २० देखि २५ हजारसम्म जरिबाना लिइने नगरपालिकाले जनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)