ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२२ वर्षसम्म अधुरो सप्तरंगी पार्क झाडीमा परिणत

२०७७ फागुन, ६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । धरानको पर्यटनको चर्चा हुँदा नछुट्ने ठाउँ हो, सप्तरंगी पार्क । यो पार्क निर्माण सुरु भएको करिब २२ वर्ष बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन ।

धरानको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखेर निर्माण सुरु भएको यो पार्क अहिले झाडीमा परिणत भएको छ । करिब ९ बिघा क्षेत्रफलमा फैलिएको पार्कमा खर्च भने ३ करोडभन्दा बढी भइसकेको छ ।

यो खर्चले केही संरचनाहरू बनाइएको छ, तर उचित स्याहारसम्भार अभावले ती संरचना जीर्ण बन्दै गएका छन् ।

उपमहानगरका अनुसार सन् १९९८ (२०५५ साल) मा बीडीए कन्सल्टेन्टले पार्कको डिजाइन नक्सा बनाएको थियो । डिजाइनअनुसार त्यसबेला ५ करोड लागत अनुमान गरिएको थियो ।

तत्कालीन नगरपालिकाले विभिन्न स्रोत खोजेर पहिलो चरणमा क्रमशः कम्पाउन्ड वाल, ड्रेन एज निर्माण, टिकट घर बनाउने, मूर्ति बनाउने काम गरेको थियो । पछि, सहरी विकास तथा भवन निर्माण विभागले पनि केही पिकनिक सेट बनाइदिएको योजना महाशाखाले जनाएको छ ।

करोडौं लगानी भइसके पनि पार्कले पूर्णता भने पाउन सकेन । निर्माण सुरु भएको करिब २२ वर्षसम्म लथालिंग अवस्थामा पुगेको सप्तरंगी पार्कको डीपीआर भने अब बन्न लागेको उपमहानगरले जनाएको छ ।

‘२२ वर्षअगाडि काठमाडौंको कन्सल्टेन्ट बीडीए नेपालले गरेको डिजाइनमा ५ करोडको लागत स्टिमेट तयार गरेको थियो । पार्कमा ३ करोड खर्च भइसकेको छ,’ वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले भने, ‘नगरपालिकाले स्रोत जुटाएर विभिन्न चरणमा स्मारक पार्क, बाल उद्यान, कम्पाउन्ड वाल, पिकनिक स्पटलगायत केही संरचना बनेका छन् । तर, विविध कारणले बीचैमा रोकियो । अब पुनः नयाँ डीपीआर निर्माणको प्रक्रियामा छ ।’

धरान–१७ रेल्वेचोकदेखि करिब एक किलोमिटर दूरीमा सप्तरंगी पार्क रहेको छ । पूर्वमेयर स्वर्गीय ध्यानबहादुर राईको पालामा खोलाको बगर भएको जग्गालाई संरक्षण गरेर पार्कको रूपमा विकास गर्ने उद्देश्यले काम सुरु गरिएको थियो ।

डीपीआरबिना महत्वाकांक्षी योजना अगाडि बढाउँदा निर्माणाा अन्योल सिर्जना भएको वडा कार्यालयको भनाइ छ ।

‘पर्यटनका हिसाबले के–के बनाउने भनेर डीपीआरबिनै काम थालियो । त्यसले गर्दा बीचमा अन्योल सिर्जना भयो,’ वडा–१७ का अध्यक्ष मनोज भट्टराईले भने, ‘अब डीपीआर तयार हुँदै छ । विगतमा जस्तो अन्योल हुँदैन ।’

निर्माणाधीन पार्कको वरिपरि घेराबार लगाइए पनि संरक्षण अभावमा पार्क स्थल झाडी, जंगल बनेको छ । पार्क परिसरमा निर्माण गरिएका संरचना लथालिंग अवस्थामा छन् ।
महत्वपूर्ण योजनामा रहेको पार्क निर्माणमा सम्बन्धित पक्षले गम्भीरता नदेखाएको प्रा.डा. राजेन्द्र शर्माको भनाइ छ । ‘२७ वर्षअघि ध्यानजी मेयर हुँदा संरक्षणविहीन अवस्थामा रहेको ऐलानी जग्गा नगरपालिकाको अधीनमा ल्याइएको हो । तत्कालीन १० नम्बर वडाध्यक्ष योगेन्द्र लिम्बूले केही मूर्ति बनाउने र केही रुखबिरुवा रोप्ने काम भएको थियो । केही संरचना बन्ने क्रममा रोकिएर लथालिंग अवस्थामा छ,’ शर्माले भने, ‘अब फेरि थुप्रै संरचना समेटेर डीपीआर बनाउन लागेको भन्ने सुन्नमा आएको छ । पीपीपी मोडलमा लगेर निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ । पूरा यो भने पक्कै पनि एउटा हेर्न लायकको पार्क बन्छ ।’

डीपीआर बनेपछि लामो समयदेखि थातिरहेको पार्क निर्माणले अब गति लिने  धरान उपमहानगरले जनाएको छ । पार्कको डीपीआर बन्ने अन्तिम चरणमा पुगेको र कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा समेत छलफल जारी रहेको उपमहानगरको भनाइ छ ।

‘उपमहानगरले १५–२० वटा डीपीआर तयार गर्दै छ । त्यसमा सप्तरंगी पार्कको दीर्घकालीन योजनासहितको डीपीआर तयार पार्न टेन्डर आह्वान गरेका छौं । कन्सलटेन्टले डीपीआर तयार गरेपछि निजी क्षेत्रका लागि खोल्छौं,’ नगरप्रमुख तिलक राईले भने, ‘जो इच्छुक निजी क्षेत्र छ, उसले सम्भाव्यता, विश्वसनीयता हेरेर सम्झौता गरी लिज प्रक्रियाबाट अगाडि बढाउँछौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)