ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतमा बर्डफ्लु भित्रियो : करीब ४०० कुखुरा तथा परेवा नष्ट 

२०७७ फागुन, ९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

फागुन ९, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक बर्डफ्लु रोग देखिएको छ । वीरेन्द्रनगर–१२, नौलोटोलका स्थानीयवासीले पालेका कुखुरा तथा परेवामा बर्डफ्लु रोग देखिएको हो । बर्डफ्लु भित्रिएको आशंकामा पशु सेवा विभागले नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो । 

बर्डफ्लु पुष्टि भएपछि सबैतिर नियन्त्रणको प्रयास थालिएको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । पन्छीहरुमा महामारी रोग फैलिने सम्भावनालाई मध्यनजर गरेर निर्देशनालयको समन्वयमा शुक्रवार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकले तत्काल बर्डफ्लु पुष्टि भएका स्थानीयका कुखुरा नष्ट गर्ने निर्णय गरेको हो । 

वीरेन्द्रनगरको नौलोटोलका दुई जना स्थानीयले पालेका २७९ कुखुरा, १०२ परेवा, २२ ओटा अण्डा र ३१ किलो दाना नष्ट गरिएको निर्देशनालयका निर्देशक मोहन गिरीले जानकारी दिए । 

उनले सुर्खेतमा बर्डफ्लु संक्रमण नियन्त्रणका लागि पशु सेवा विभाग काठमाडौंबाट वरिष्ठ पशु चिकित्सक डा.मुकुल उपाध्यायको नेतृत्वको चार सदस्यीय टोलीसँगै पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा.कृष्णराज पाण्डे, डा.जितेन्द्र श्रेष्ठ, पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेश, वीरेन्द्रनगर नगरपालिका, १२ नम्बर वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारी, सम्बन्धित निकाय रोग नियन्त्रण शाखा समेत जुटिरहेको जनाए । 

उनका अनुसार निर्देशनालयले कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा विक्री स्थलमा अस्वाभाविक रुपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशुसेवा निकायमा सूचना गर्न आग्रह गरिएको छ । भारतबाट आउने दानाबाट बर्डफ्लु भित्रिएको अनुमानसँगै लुकिछिपी ल्याएका दाना वा कुखुरा, हाँस, र टर्कीबाट बर्डफ्लु रोग सार्न सक्ने भएकाले सम्बद्धहरुले चेकजाँचमा कडाई गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । 

सरकारले भारतबाट भित्रिने पन्छी तथा पन्छीजन्य वस्तुमा ६ वर्ष अघि नै प्रतिबन्ध लगाएपनि खुला सिमानाको फाईदा उठाउँदै भारतीय कुखुरा बाँके हुँदै कर्णाली प्रदेश भित्रिरहेको पाइएको छ । कुखुराको आयातमा पूर्णरुपमा प्रतिबन्ध नलगाए भयानक स्थिति आउन सक्ने भएकाले सम्बन्धित निकायले स्थानीय उपभोक्तालाई सजग हुन सचेत गराएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)