ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोटरबोट सञ्चालन नहुँदा नदी तर्न जोखिम

२०७७ फागुन, १०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । बजार तथा प्रशासनिक कामका लागि वराहक्षेत्र आउनुपर्दा वराहक्षेत्र नगरपालिकाको कोशीटप्पुका शम्भु चन्द्रवंशी सप्तकोशीमा काठे डुंगा प्रयोग गर्छन् । प्रदेश सरकारले अनुदानमा दिएको स्वचालित डुंगा (मोटरबोट) कोशी बगरमै अलपत्र बन्दा स्थानीयवासी जोखिमपूर्ण रूपमा नदी तर्न बाध्य छन् ।

कोशी तर्न काठे डुंगाको विकल्प नभएको राजवंशीले सुनाए । नगरपालिकाको केन्द्र आइपुग्ने अर्को विकल्प उदयपुरबाट घुमेर कोशीको नयाँ पुलको बाटो पनि छ । तर यो बाटो लामो र खर्चिलो रहेको उनले बताए । वराहक्षेत्र नगरपालिका–६ र ९ का दर्जनौं बस्तीका सयौं बासिन्दा नदी तर्न अझै पनि काठे डुंगा नै प्रयोग गरिरहेका छन् ।

प्रदेश सरकारले एक वर्षअघि नै दिएको मोटरबोट अझै पनि सञ्चालनमा आउन सकेको छैन । उक्त बोट कोशीमै अलपत्र परेको छ । २०७६ भदौ २१ गते प्रदेश सरकारका वन, वातावरण, पर्यटन तथा उद्योगमन्त्री जगदीशप्रसाद कुसियतले बोट सञ्चालनका लागि नगरपालिकाको ९ नं वडा कार्यालयलाई हस्तान्तरण गरेका थिए । नगरपालिकासँग समन्वय गरी कार्यविधि बनाएर बोट सञ्चालन गर्न भनिएको थियो । तर अहिलेसम्म कार्यविधि बन्न सकेको छैन ।

कार्यविधि नबनेकाले बोट सञ्चालन हुन नसकेको वडा नं ९ का अध्यक्ष दीपक लिम्बूले बताए । उनका अनुसार बोट सञ्चालन मोडल, सेवा शुल्क, चालकको नियुक्ति आदि विषय नटुंगिँदा बोट सञ्चालन हुन नसकेको हो । यसका लागि पटक–पटक नगरपालिकाको ध्यानाकर्षण गरिँदै आएको उनले बताए । चाँडै कार्यविधि बनाएर समितिको मातहतमा ल्याई बोट सञ्चालन गरिने उनको भनाइ छ । सरकारबाट प्राप्त सेवा उपभोग गर्न नपाउँदा कोशीटप्पुका बासिन्दा आक्रोशित छन् । वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख कमला मगरले कार्ययोजना बन्न नसक्दा बोट सञ्चालन हुन नसकेको स्वीकार गरिन् । केही प्राविधिक समस्या रहेकाले कार्यविधि बन्न नसकेको उनको भनाइ छ । राजावास क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै चाँडै बोट सञ्चालन गरिने उनले बताइन् ।

प्रदेश सरकारले १३ लाख रुपैयाँमा खरीद गरेको मोटरबोट नेपालमै बनेको हो । माउन्ट मकालु नाम दिइएको बोटमा आठजनाको सीट क्षमता छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)