ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खानेपानी परियोजना विवादले धरान नगरसभा प्रभावित

२०७७ फागुन, १४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । सुक्खायाम शुरू भएसँगै धरानमा खानेपानीको अभाव बढ्न थाल्छ । खानेपानीको अभाव हुने समयमै पर्ने धरानको नगरसभा खानेपानी समस्याकै कारण प्रभावित हुने गरेको छ ।

अघिल्लो वर्षको धरान उपमहानगरपालिकाको छैटौं नगरसभा पनि खानेपानी समस्याकै कारण केही दिनका लागि स्थगित भएको थियो । यस्तै आठौं नगरसभा सोमवार हुने तय भएकोमा सोही समस्या उठेपछि स्थगित हुन पुगेको छ ।

गत मङ्सिर १४ गते भएको उपनिर्वाचनबाट निर्वाचित भएका मेयर तिलक राईले कार्यभार सम्हाल्दै पहिलो निर्णय नै खानेपानी समस्या समाधानको विषयमा हुने बताएका थिए । तर अहिलेसम्म पनि न खानेपानी संस्थान बोर्डमा आयो, न खानेपानी समस्या समाधान नै भएको छ । खानेपानीको समस्या समाधान गर्न मेयरले नै आनाकानी गरिरहेकाले कार्यपालिका बैठक, नगरसभा प्रभावित हुने गरेको जनप्रतिनिधिहरूको आरोप छ ।

सोमवारको नगरसभा तीन घण्टा ढिलो शुरू भएकोमा कुनै निर्णय नै हुन नसकी २१ गते बस्नेगरी स्थगित भएको छ । नगरसभा शुरू हुनुपूर्व धरानमा खानेपानी समस्या उठाउँदै केही वडाका जनप्रतिनिधिको नेतृत्वमा नारा–जुलुस भएको थियो ।

दिउँसो १ बजेका लागि नगरसभा आह्वान गरिए पनि खानेपानीको विवादले समयमै शुरू हुन सकेन । मेयर तिलक राईले आन्दोलित नगरवासीलाई सम्बोधन गरेर फागुन २१ गतेअघि नै खानेपानी संस्थान बोर्डमा गाभ्ने र पानी एकद्वार प्रणालीबाट सहज रूपमा वितरण गर्ने प्रतिबद्धता गरेका छन् ।

एकीकृत शहरी विकास आयोजना अन्तर्गतको धरान खानेपानी बोर्डको आयोजना सम्पन्न भए पनि मेयर राईकै कारण पूर्णरूपमा सञ्चालनमा आउन नसकेको नगरका जनप्रतिनिधि बताउँछन् । धरान–९ का वडाध्यक्ष रत्न कटुवालले धरानको मुख्य समस्याको रूपमा रहेको खानेपानी समस्या समाधानका लागि दबाब दिँदै नगरसभामा अवरोध गरिएको बताए ।
 
यस्तै धरान–१९ का वडासदस्य राजकुमार राईले मेयरकै कारण खानेपानी समस्या समाधान हुन नसकेको आरोप लगाए । ‘धराने जनताको आधारभूत आवश्यकता बनेको खानेपानीको समस्यामा नगरप्रमुख गम्भीर नहुँदा समाधान निस्कन सकेको छैन,’ उनले भने ।

मेयर राईले खानेपानी समस्या समाधानको प्रयास भइरहेको बताए । ‘यो विषयमा बोर्ड गम्भीर छ, यसको समाधानका लागि छलफल भइरहेको छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)