धनकुटा । धनकुटाको पुरानो पार्कको रूपमा परिचित महेन्द्र पार्कको पार्क निर्माणकै बेलाको अवस्थामा पुनर्निर्माण गरिएको छ । २०१२ सालमा निर्माण गरिएको महेन्द्र पार्कको स्थानीयद्वारा पुनर्निर्माण गरिएको हो ।
धनकुटा बजारको शिरमा सल्लेरी वन रहेको छ । सो वनको बीचमा २०१२ सालमा तत्कालीन राजा महेन्द्र धनकुटामा आउँदा पार्क निर्माण गरिएको थियो । राजा महेन्द्रकै नामबाट यो पार्कको नाम रहन गएको हो ।
देशमा आएको परिवर्तनसँगै ओझेल परेको यो पार्कको अहिले भने पुनर्निर्माण गरिएको हो । महेन्द्र पार्कलाई सरकारले बेवास्ता गरेपछि पुरानै अवस्थामा निर्माण गरिएको पत्रकार महासंघ धनकुटा अध्यक्षसमेत रहेका स्थानीय राजेश्वरबहादुर श्रेष्ठले बताए ।
पार्क पुनर्निर्माणका लागि धनकुटाबासी तथा धनकुटाबाहिर रहेका धनकुटेलीहरूले सहयोग गरेका छन् । पार्कको बीचमा इनार, वरिपरि बस्ने ठाउँ र पार्कको शिरमा महेन्द्र राजाले बैठक सञ्चालन गरेको स्थल निर्माण गरिएको हो ।
सो पार्क २०१२ सालमा तत्कालीन धनकुटा गौंडाका बडाहाकिम रंगनाथ उप्रेतीको पालामा राजा महेन्द्रको धनकुटा भ्रमणको तयारीका निम्ति निर्माण सुरु गरिएको थियो । पार्क तत्कालीन बडाहाकिम गेहेन्द्रशमशेर थापाको पहलमा सल्लेरी वन परिसरमा निर्माण गरिएको थियो । पार्क तत्कालीन गौंडाले सरकारी खर्चमा बनाएको थियो ।
पार्कमा पहिलो पटक राजा महेन्द्रले सुरक्षा प्रमुखसँग बैठक सञ्चालन गरेर उद्घाटन गरेको इतिहास रहेको छ । त्यसपछि राजा वीरेन्द्र आएर बसेको इतिहास रहेको जानकार ठाकुरप्रसाद बरालले बताए ।
यो पार्क ०६२/६३ को जनआन्दोलनपछि नामोनिशान नरहने गरी भत्काइएको थियो । यसअघि पार्कको समय–समयमा नेपाली सेना, रेडक्रस सोसाइटी, होटल व्यवसायीले मर्मतसम्भार गरेको थियो । सुरक्षा अभावमा त्यो पनि संरक्षण हुन सकेको थिएन ।
यसैलाई दृष्टिगत गर्दै अवकाश प्राप्त उपप्राध्यापक ठाकुरप्रसाद बरालको नेतृत्वमा पार्कको पुनर्निर्माण सम्पन्न गरिएको हो । सो पार्क पुनर्निर्माणका लागि करिब ३ लाख रुपैयाँ खर्च भएको बरालले जानकारी दिए । पुनर्निर्माणका लागि सबै रकम दाताबाट मात्रै संकलन भएको उनको भनाइ छ । पार्क पुनर्निर्माणमा मूर्तिकार श्रीकृष्ण जोशी, पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, स्थानीय ज्ञानबहादुर थापा, मनोजनारायण श्रेष्ठ, ईश्वर श्रेष्ठ, मूर्तिकार सोपाल राईलगायतका शुभेच्छुकबाट सहयोग र समन्वय भएको बरालले जानकारी दिए ।