ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा मौरीपालन : मौरी घार बढे, मह उत्पादन घट्यो 

२०७७ फागुन, २४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान २४, फाल्गुन । सल्यानमा वर्षेनी मह उत्पादन घट्दै गएको छ । विगतका वर्षहरुको तुलनामा अहिले क्रमिक रुपमा मह उत्पादन घट्दै गएको कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको छ । कम लगानीबाट पनि धेरै आम्दानी हुने भएपछि मौरीपालनतर्फ हौसिएका जिल्लाका किसानहरु वर्षेनी मह उत्पादन घटेपछि चिन्तित बन्न थालेका छन् । 

आर्थिक वर्ष २०७५/०७६ मा जिल्लाभर १ हजार ५३० घार मौरी थियो, जसबाट १९ मेट्रिक टन मह उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा मौरी घारको संख्या वृद्धि गरेर २ हजार १३० पुग्यो, तर मह उत्पादन घटेर १० दशमलव ५ मेट्रिक टन मात्रै उत्पादन भयो । यस्तै आर्थिक वर्ष २०७७/०७८ को हालसम्म कात्तिके मह झण्डै ३० प्रतिशतले उत्पादनमा कमी आएको छ । 

जिल्लाको कालिमाटी गाउँपालिका, कुमाख गाउँपालिका, त्रिवेणी गाउँपालिका र कपुरकोट गाउँपालिकाका केही किसानहरुले मौरीपालन गर्दै आएका छन् ।

जिल्लामा वर्षेनी मौरीपालनको क्षेत्रमा लगानी बढाउँदै गएपनि मह उत्पादनमा भने कमी आएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए । बिगतका वर्षहरुको तुलनामा मह उत्पादनमा ह्रास आइरहेको उनको भनाइ छ ।

‘सल्यान मौरीपालनका लागी राम्रो सम्भावना भएको क्षेत्र हो तर बिगतका वर्षको तुलनामा यस वर्ष मह उत्पादन घटेको छ’ उनले भने । उनले मौषमी परिवर्तनका कारण मह उत्पादन कम भएको हुनसक्ने बताए । कालीमाटी क्षेत्रमा झुसिल किराको प्रकोप देखिनु, मौरीको चरण क्षेत्र नबढ्नु तथा सुक्खायामका कारण फूल नफुल्नु र फुलेका फूलहरु पनि बेलैमा सुकेर जादा मह उत्पादनमा कमी आएको हुनसक्ने उनको भनाइ छ । 

मौरीपालनमा सरकारको लगानी धेरै
जिल्लामा मौरीपालन हुने क्षेत्रहरुमा सरकारी लगानी बढ्दै गएको छ । मौरी घारदेखी लिएर आवश्यक औजार उपकरणहरुमा समेत सरकारी क्षेत्रको लगानी बढ्दै गएको पाइन्छ । गतवर्ष मात्रै कालिमाटी गाउपालिका वडा नम्बर १, २, ३ र ४ मा मौरी ब्लक तथा कुमाख गाउँपालिका वडा नम्बर ३ मा मौरी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ  ।

कार्यालय प्रमुख आचार्यले मौरीपालनलाई व्यावसायिक बनाउनको लागी वर्षेनी लगानी बढाउँदै गएको बताए । किसानहरुलाई आवश्यक परामर्श सहित मौरीको गोला, घार, मह निकाल्ने उपकरण सहित चरण क्षेत्र वृद्धिका लागि बेमौषमी फूलका विरुवाहरु समेत उपलव्ध गराइएको उनको भनाइ छ । 

मौरीपालन व्यवसायबाट विस्थापित हुनुपर्ने सम्भावना बढ्यो : किसान
जिल्लामा वर्षेनी मह उत्पादन घट्न थालेपछि किसान चिन्तित बनेका छन् । कालिमाटी गाँउपालिका २ झिँगानेका नेत्रलाल वलीले विगतमा मौरीको मह विक्रीबाट मात्रै ५ लाख बढी आम्दानी गर्दै आएका थिए । तर अहिले भने झण्डै २ लाख रुपैयाँमा चित्त बुझाउनु परेको उनको भनाइ छ । 

यस्तै, अर्का किसान चेत बहादुर वलीले श्रम अनुसारको उत्पादन नहुँदा समस्या भएको बताए । मौरीपालनबाट नै जीवनयापन गर्दै आएका उनले मौरीको घार वृद्धि गरेपनि उत्पादन वृद्धि नहुँदा समस्या भएको बताए । वर्षेनी मह उत्पादन घट्दै जाने हो भने कुनै दिन मौरीपालन व्यावसायबाट विस्थापित हुनुपर्ने सम्भावना बढेको किसानहरुको गुनासो छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)