सुर्खेत । सल्यान कुमाख गाउँपालिकाको रागेचौरमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । प्रदेश आयुर्वेद औषधालय सुर्खेत, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सल्यान र कुमाख गाउँपालिकाको समन्वयमा नेपाल सरकारले उक्त केन्द्र सञ्चालनमा ल्याएको हो ।
सोमवार गाउँपालिका अध्यक्ष दिलमाया बुढा गिरी र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखाका डा. लक्ष्मीनारायण तिवारीले केन्द्रको संयुक्त रूपमा उद्घाटन गरेसँगै केन्द्रको सेवा सञ्चालनमा आएको छ । ‘यसअघि स्वास्थ्य सेवा केन्द्र नहुँदा यस क्षेत्रका नागरिक नागरिकलाई औषधोपचारका लागि जिल्ला सदरमुकाम खलंगा र रुकुम पुग्नुपर्ने बाध्यता थियो,’ कुमाख गाउँपालिकाका अध्यक्ष दिलमायाले भनिन्, ‘कुमाख आसपासका क्षेत्रमा पर्याप्त जडीबुटी पाइने भए पनि त्यसको पहिचान तथा ज्ञानको अभावमा नागरिकले सदुपयोग गर्न नसक्दा खेर गइरहेको थियो ।’
आरोग्य सेवा केन्द्र सञ्चालनमा आएसँगै अब यस क्षेत्रमा खेर गइरहेका जडीबुटीको समेत सदुपयोग हुने विश्वास उनले व्यक्त गरिन् । संघीय सरकारको नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने कार्यक्रम अन्तर्गत रागेचौरमा सञ्चालनमा ल्याइएको प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले बताए ।
स्वास्थ्य सेवा केन्द्र कार्यालय सल्यानका वैद्य बालकृष्ण गिरीले आरोग्य केन्द्र सञ्चालनमा ल्याइएसँगै कुमाख क्षेत्रका नागरिकलाई आयुर्वेदिक औषधोपचारमा ठूलो सहयोग पुग्ने अपेक्षा राखे । आयुर्वेद र एलोपेथिक औषधिलाई परिपूरकका रूपमा सँगसँगै लैजानुपर्नेमा समेत उनले जोड दिए । संघीय सरकारले चालू आर्थिक वर्षमा कर्णालीका विभिन्न स्थानीय तहमा हालसम्म आधा दर्जन नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ ।