ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किसानको घर पायकमै माटोको निःशुल्क परीक्षण

२०७७ फागुन, २५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्ज गाउँपालिका र रामधुनी नगरपालिकाका किसानको खेतबारीको माटो परीक्षण गर्न प्राविधिकहरू घुम्ती ल्याब नै लिएर पुगेका छन् । घर नजिक ल्याबसहित प्राविधिक आएपछि किसानले विनाझन्झट बारी र खेतको माटो परीक्षण गराएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुनसरीको धरान र वराहक्षेत्रमा अदुवा बेसार जोनको कार्यक्षेत्र, धान जोनको कार्य क्षेत्र रामधुनी वडा नं ६ र ७ तथा तरकारी जोनको कार्य क्षेत्र देवानगञ्ज र बर्जु गाउँपालिकामा माटो परीक्षण शिविर सञ्चालन गरिएको हो ।

परियोजना अन्तर्गत धरान–२० र वराहक्षेत्र–१ मा अदुवा बेसार जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ । अदुवा तथा बेसारमा गानो कुहिने रोग लाग्ने गरेकाले माटोको उपचार गर्दै गुणस्तरीय उत्पादन बढाउन शिविर सञ्चालन गरिएको परियोजना कार्यान्वयन इकाइ सुनसरीले जानकारी दिएको छ ।

त्यसैगरी धान जोनको कार्यक्षेत्र अन्तर्गत रामधुनी ६ र ७ नं वडामा चैतेधानको क्षेत्रफल विस्तार गरिने कार्यक्रम रहेकाले खेती लगाउनुपूर्व माटो परीक्षण गरिएको हो । तरकारी जोन क्षेत्र अन्तर्गत देवानगञ्ज गाउँपालिका र बर्जु गाउँपालिकामा समेत माटो परीक्षण गरिएको छ । अदुवा बेसारतर्फका २३, धान जोनतर्फका ४३ र तरकारी जोनतर्फका ७२ गरी कुल १३८ जना कृषकले दिएको माटोको नमूना परीक्षणपछि नतीजा सार्वजनिक गरिएको थियो । सुनसरीमा माटोको उर्वरा शक्ति घट्दै गएपछि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले निःशुल्क रूपमा माटो परीक्षण शुरू गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ सुनसरीका प्रमुख दीपेन्द्र पोखरेलले परीक्षण गरिएको अधिकांश माटोमा अम्लीयपन अत्यधिक रहेकाले त्यसको निराकरणका लागि कृषि चुनको प्रयोग गर्न किसानलाई आग्रह गरे । यस वर्ष अदुवा बेसार जोनतर्फ ५० टन कृषि चुन अनुदानमा वितरण गरिने जानकारी उनले दिए । यस्तै चैते धानको खेती विस्तारमा नेपाल सरकारको प्राथमिकता रहेको र सशर्त अनुदानमार्फत जिल्लाका केही पालिकामा समेत बजेट विनियोजन भएकाले स्थानीय तहसँग समन्वय गरी कृषि चुन उपलब्ध गराउने योजना रहेको पोखरेलले बताए । देवानगञ्ज गाउँपालिका प्रमुख लालीप्रसाद मेहताले तरकारी जोन क्षेत्रमा अत्यधिक रासायनिक मलको प्रयोगका कारण माटोको उर्वरा शक्ति घटिरहेको र यस किसिमको प्रयोगशाला सेवाले किसानलाई फाइदा पुग्ने बताए । माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीका प्रमुख नाथुप्रसाद चौधरीले माटो परीक्षण र त्यसको उपचार विधिमा किसानले समेत ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)