ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोशीको बगरमा धमाधम माछापोखरी : कृषि पर्यटनसँग जोड्ने योजना

पोखरी खन्न अनुदान पाएपछि किसान दंग 

२०७७ फागुन, २८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

फागुन २८, विराटनगर । १२ वर्षअघि कोशीनदीले पूर्वी तटबन्ध भत्काएर उठिबास लाएको बगरमा पटेरघारी बाहेक अरु केही छैन । त्यसपछि किसानहरुले त्यहाँको बालुवा झिकेर न खेती लगाउन सके न त त्यसबाट कुनै आम्दानी नै लिन सके । 

आरक्षबाट आएका जंगली हात्ती र बँदेल लुक्ने पटेर घारीमा अहिले धमाधम माछा पोखरी खन्न थालिएको छ । खेर गएको जमीनमा माछा पोखरी खनेर त्यसलाई कृषि पर्यटनसँग जोड्ने योजना अनुरुप प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ सुनसरीले शुरु गरेको छ । 
कोशी गाउँपालिकाको वडा नं. ३ को सदानन्द राउतको दुई बिघा जमीनबाट पटेर हटाएर त्यसमा ३ ओटा पोखरी निर्माण गरिएको छ । 

यसरी नै वडा नम्बर ३ का खेर गएका ५० बिघा जमीनमा थप पोखरीहरु निर्माण गर्ने योजना रहेको परियोजना कार्यान्वयन इकाइ प्रमुख दिपेन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार अहिले परियोजना अन्तरर्गत प्रतिकठ्ठा पोखरी खने वापत किसानलाई १० हजार रुपैयाँ अनुदान दिइने छ । 

सुनसरीलाई माछामा आत्मनिर्भर बनाउन दुई वर्षदेखि नै उक्त परियोजनाले माछा जोन संचालन गर्दै आएको छ । कोशी गाँउपालिका वडा नं ३ मा मत्स्य क्षेत्र बिस्तार कार्यक्रम अन्तर्गत माछा जोन र कोशी गाँउपालिकाको समन्वयमा नयाँ पोखरी निर्माण कार्य शुरुवात भइसकेको छ । 

खेर गएको कोशी ३ स्थित पटेरघारी जग्गालाई उत्पादकत्व तथा कृषकहरुको आर्थिक अवस्था सुधार गर्नलाई उक्त क्षेत्रमा नयाँ पोखरी निर्माण गर्न प्राथमिकता दिइएको छ । 

सुनसरी जिल्लामा उक्त परियोजना आर्थिक वर्ष २०७५/ ०७६ देखि संचालनमा आएको सप्तकोशी माछा जोन संचालन समन्वय समितिका संयोजक मुक्तिराम राईले बताए । जिल्लाको बराहक्षेत्र नगरपालिका र रामधुनि नगरपालिकाका सबै वडाहरु तथा ईनरुवा नगरपालिका वडा नं ३ र कोशी गाउँपालिका वडा नं ३ माछाजोन भित्र पर्छन् ।

माछा उत्पादन तथा उत्पादकत्वमा वृद्धिका साथै कृषि उत्पादनमा आत्मनिर्भर बनाउदै आयातित माछा बजार विस्थापित गरी सुनसरी जिल्लालाई माछा उत्पादन र बजारीकरणमा आत्मनिर्भर बनाउने उदेश्यका साथ माछा जोन संचालनमा रहेको संयोजक राईले बताए । 

जिल्लामा उत्पादित माछाले जिल्लाको करीब आठ महीनामात्र माग थाम्ने र बाँकी चार महीना प्रदेश नं २ का जिल्लाहरुबाट आपूर्ति हुने गरेकोमा माछा जोनले खेर गएको जग्गामा नयाँ पोखरी निर्माण गरेकोले आपूर्तिमा केहि राहत दिने भेटेरिनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख राजेन्द्र शाहले बताए ।

कोशी गाउँपालिका क्षेत्रको खेर गएको जमीनलाई समेटी पोखरी निर्माण गरी मत्स्य पालन गर्दा कृषकको जिवनस्तरमा परिवर्तन र आर्थिक उन्नतीका साथै जल पर्यटकीय स्थल बन्ने सम्भावना रहेको प्रमुख पोखरेलले बताए । 

माछा जोन सुनसरीमा आबद्ध कृषकहरुलाई आधुनिक उन्नत प्रविधि उपलब्ध गराउन भइरहेका बिभिन्न कार्यक्रमबाट धेरै मत्स्यपालक कृषक तथा उद्यमी लाभान्वित भएका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)