ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तस्करी बढ्दै गएपछि सिमानामा सुरक्षा चुनौती

२०७७ चैत, ८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । भारतीय नाकाबाट तस्करी बढ्दै गएपछि सुनसरीको सीमाक्षेत्रमा सुरक्षा चुनौती थपिएको छ । नेपाल सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने गरेको छ । प्रहरी एकाइले जति कडाइ र सतर्कता अपनाए पनि तस्करी नरोकिएपछि पछिल्लो समय सीमा नाकामा सुरक्षा चिन्ता बढेको हो ।

एक साताअघि सुनसरीको भन्टाबारी नाकाबाट ठूलो मात्रामा लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले त्यसकै भोलिपल्ट अर्काे सीमा क्षेत्रबाट हतियारसहित एकजनालाई पक्राउ गरेको थियो ।

सुनसरीसँग सीमा जोडिएका हरिनगरा र भन्टाबारीबाटै प्रहरीले अवैध ब्रोइलर कुखुरा, अण्डा र लत्ताकपडा पनि बरामद गरेको छ । प्रहरीले जाँचकै क्रममा आइतवार पनि भन्टाबारी नाकाबाटै अवैध रूपमा सुनसरीमा ल्याइँदै गरेको अवस्थामा विभिन्न जातका १०० किलो माछा बरामद गरी नष्ट गरेको छ ।

यसरी भारतीय नाकाबाट दैनिकजसो तस्करी बढ्न थालेपछि पछिल्लो समय नेपाल प्रहरीले थप सुरक्षा चुनौतीको सामना गर्नुपरेको छ । प्रहरीको आधाभन्दा बढी जनशक्ति सीमा नाकामा परिचालन गरिए पनि तस्करीका सामग्री, लागूऔषध लगायत बरामद हुने क्रम रोकिएको छैन ।

सुनसरीमा भन्टाबारी, हरिनगरा, देवानगन्जसहित सात ओटाभन्दा बढी नाका छन् । सबै नाकामा सशस्त्र प्रहरीको बीओपी (बोर्डर आउट पोस्ट) स्थापना भइसकेका छन् । नेपाल प्रहरीले पनि नियमित जाँचलाई तीव्रता दिएको छ ।   

कोरोना संक्रमणको बेला पनि चुनौती बनेका सीमा क्षेत्र अहिले खुला भएसँगै दैनिकजसो तस्करीका घटना हुन थालेका छन् । गएको चैत ११ गते मुलकमा बन्दाबन्दी शुरू भएयता फागुनसम्म अवैधरूपमा नेपाल प्रवेश गरेका कम्तीमा ६ सय भारतीय नागरिकलाई नियन्त्रणमा लिएर प्रहरीले भारतीय प्रशासनलाई बुझाएको छ ।

भर्खरै सुनसरीको कार्यभार सम्हालेका सुनसरीका प्रमुख जिल्ला अधिकारी  उमेशकुमार ढकालले सीमा क्षेत्रका विषयमा निकै चर्चा हुने गरेको बताए । आफू प्रमुख जिल्ला अधिकारीको रूपमा आएलगत्तै भारतीय नाकामा हुने अवैध गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ । अहिले दैनिकजसो तस्करीका सामान बरामद गर्न सफल भइरहेको दाबी उनको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)