सुर्खेत (अस) । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी जुटाउने सम्बन्धमा सम्झौता भएको छ । मप विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (मुसोम) र महासंघको कर्णाली प्रदेश समितिबीच शनिवार वीरेन्द्रनगरमा आर्थिक स्रोतको खोजी, व्यवस्थापन, सम्भाव्यताको पहिचान, लगानी तथा बजारीकरणमा सहकार्यका लागि द्विपक्षीय सम्झौता भएको हो ।
सम्झौतापत्रमा मुसोमको तर्फबाट निर्देशक डा. सुशीलकुमार शाही र नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशका तर्फबाट अध्यक्ष पदमबहादुर शाहीले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह, रजिष्ट्रार नारायणप्रसाद पौडेल, कर्णालीका उद्योगी व्यवसायी लगायतको उपस्थिति थियो । सम्झौता पश्चात् अब कर्णालीको आर्थिक तथा शैक्षिक समुन्नतिका लागि विभिन्न १७ ओटा बुँदाहरूमा सहकार्य तथा समन्वय हुने उल्लेख छ । सम्झौताको अवधि ५ वर्षको रहने बताइएको छ ।