चैत ११, जुम्ला । शिखर इन्स्योरेन्स कम्पनीको शाखा जुम्लाले कालीकोट, मुग र जुम्लाका स्याउ किसानका करीब ९४ हजार स्याउका बिरुवा बीमा गरेको छ ।
किसानका लागि बीमा कार्यक्रम अगाडि बढाइएकाले किसान स्याउ बीमाप्रति उत्साहित भएको इन्स्योरेन्स प्रदेशका इन्चार्ज ऋषिराम पाण्डेले बताए ।
उनले भने, ‘जुम्ला, कालीकोट र मुगुमा एक हजार ४१२ किसानले बीमाको क्षतिपूर्ति पाएका छन् । जुम्लामा ७४७, कालीकोटमा ३४७ र मुगुमा ३०० स्याउ किसान बीमित भएका थिए ।’ स्याउको बिरुवा बीमा गरिएअनुसार क्षतिपूर्ति वितरण शुरु गरिएको इन्चार्ज पाण्डेले जानकारी दिए ।
जुम्लामा मात्रै एक करोड ३३ लाख क्षतिपूर्ति वितरण गरिएको छ । जुम्लामा १६ हजार घरधुरीमा स्याउ खेती गर्दै आएकामा हावाहुरी र असिनाले स्याउको फलमा क्षति पुर्याएको थियो । कृषि कार्यालयका अधिकृत खेमराज शाहीका अनुसार खेतीमा क्षति व्यहोर्नु परेका किसान क्षतिपूर्ति पाउँदा खुशी भएका छन् । प्रतिबिरुवा रू. २७० का दरले किसानले क्षतिपूर्ति पाउने गरेको शिखर इन्स्योरेन्सले जानकारी दिएको छ ।
यस वर्ष जुम्लामा एक करोड ३३ लाख बिरुवा वितरण गरिएको छ । जुम्लामा सबैभन्दा बढी पातारासी गाउँपालिका उर्थु गाउँका स्याउ किसान अधिराज बिष्टका ७०० बिरुवा बीमा गरिएको थियो । उनले स्याउमा फल नलागेपछि बीमा गरेबापत एक लाख ८९ हजार प्रदान गरेको इन्स्योरेन्सले जानकारी दिएको छ ।
पाँच सय बिरुवाको बीमा गरेबापत देवी सेजुवालले रू. एक लाख ३५ हजार पाएका छन् । त्यसैगरी धनबहादुर थापाले पनि ५०० बिरुवाको बीमा गरेर क्षति भएबापत रू. एक लाख ३५ हजार रकम नै प्राप्त गरेको छ । बीमाको रकम भने यस वर्ष किसानको घरमै गएर वितरण गरिएको छ । किसान अधिराज बिष्टले यस वर्ष स्याउ नफलेर घाटा लागेको तर बीमाले थोरै राहत गरेको बताए ।
रू. एक सयमा यहाँका किसान स्वयंको दूर्घटना बीमा गरिएको छ । एक वर्षअघि जुम्ला चन्दननाथका रत्नराज गिरीको स्याउ बगैँचामै मृत्यु भएका कारण रू. दुई लाखसमेत उपलब्ध गराइएको थियो । अब इन्स्योरेन्सले पशु र घरको बीमा पनि शुरु गर्ने लक्ष्य लिइएको छ । रासस